कारबाही गर्नुपर्ने डीएसपीलाई पुरस्कार



 

मधुसूदन रायमाझी, काठमाडौं
रामेछाप लिखु गाउँपालिका–२ सैपुकी १४ वर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डीएसपी सञ्जीव शर्मा दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेर पुरस्कृत गरेको छ। एक साताअघि विभागीय कारबाहीका लागि सिफारिस भएका डीएसपी शर्मालाई प्रधान कार्यालयले विभागीय कारबाही गर्नुको सट्टा बढुवामा सिफारिस गरेर पुरस्कृत गरेको हो।

साढे पाँच वर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रहरी प्रमुख डीएसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरिएको थियो। सुन्तली तामाङकी आमा डिल्लीमाया तामाङले अभियुक्त राउतलाई सार्वजनिक गर्ने दिन छोरीको हत्यामा संलग्न श्याम राउतसँगै तत्कालीन डीएसपी शर्माले दोषी पक्राउ गरेर छोड्दा आफ्नो परिवार विस्थापित हुनुपरेको बताउनुभएको थियो।

त्यसलगत्तै मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका प्रहरी प्रमुख गणेश केसीले छानबिन समिति बनाएर घटनाको अनुसन्धान गर्न लगाउनुभएको थियो। समितिले उक्त घटनामा १२ जना दोषी देखिएको ठहर गरेको थियो। समितिको प्रतिवेदनअनुसार सात जनालाई मध्यक्षेत्रले र डीएसपी शर्मासहित चार जनालाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयमा सिफारिस गर्नुभएको थियो। तर विभागीय कारबाही गर्नुको सट्टा प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सिफारिस गरेको छ।

प्रहरी प्रधान कार्यालयले ३५ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको छ। बढुवाको सूचीको ३५औं नम्बरमा सञ्जीव शर्मा दासको नाम छ। १४ वर्षीया सुन्तली तामाङको बलात्कार र हत्यामा संलग्न श्याम राउतलाई भगाउने र पीडितको जाहेरीसमेत लिन नमानेको आरोप लागेपछि शर्मालाई त्यतिबेला नै हेडक्वार्टर तानिएको थियो। घटनाको राष्ट्रिय मानवअधिकार आयोगले अध्ययन गरेर तत्कालीन रामेछापका डीएसपी शर्मालाई कारबाही गर्न निर्देशन दिएको थियो। तर त्यतिबेला प्रहरीले कारबाही गर्नुको सट्टा सचेत मात्र गराउने काम गर्दै जिम्मेवारी दिएर बालाजु हुँदै हाल मध्यक्षेत्रीय ट्राफिक कार्यालयमा खटाएको छ।
स्पष्टीकरण लिएर कारबाही थाल्नुपर्ने डीएसपी शर्मालाई नै बढुवा सिफारिस गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। विभागीय कारबाही भन्नाले नसिहत, कडा चेतावनी, विदेशी मिसनमा जान रोक, प्रमोसन रोक्का, तलब वृद्धि रोक्का, एक तह घटुवादेखि नोकरीबाट बर्खास्तीसम्म हुन सक्छ। तर घटना भएको साढे पाँच वर्ष बितिसक्दासमेत डीएसपी शर्मामाथि कुनै पनि कारबाही हुन सकेको छैन।

स्रोतका अनुसार राजनीतिक दलका उच्च नेताहरूको पावर लगाएर शर्माले बढुवाको सूचीमा आफ्नो नाम पार्न सफल भएका हुन्। डीआईजी केसीले सुन्तलीको हत्या र बलात्कारका अभियुक्त सार्वजनिक गरेको भोलिपल्टै अञ्चल प्रहरी कार्यालय जनपुरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुवास चौधरीलाई घटनाको छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए। प्रतिवेदनको आधारमा डीएसपी शर्मामाथि विभागीय कारबाही सिफारिस भएको थियो।

सामान्यता प्रहरी प्रधानकार्यालयले सिपाहीलाई २४ घण्टाभित्र कारबाही गर्ने गरे पनि दोषी भनिएका शर्मामाथि एक साता बितिसक्दा समेत कुनै विभागीय कारबाही गर्न सकेको छैन। तत्कालीन रामेछाप जिल्लाका प्रहरी प्रमुख डीएसपी शर्माले अभियुक्तलाई प्रहरी कार्यालयमा ल्याएर पनि छोड्दा अभियुक्त पक्राउ गर्नका लागि प्रहरीलाई पाँच वर्ष लागेको थियो।

सुन्लती तामाङकी आमा डिल्लीमाया तामाङले अब शर्मामाथि कारबाही होला भन्ने आशा लागे पनि बढुवा गर्ने सिफारिस गरेकाले थप पीडित बनाएको बताउनुभयो। तामाङले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘डीएसपी शर्मालाई कारबाही नभए, अब प्रहरीले मलाई गोली ठाकेर मार्नुपर्ने अवस्था आउँछ।’
डिल्लीमायाले डीएसपी शर्माले अभियुक्त भगाएर आफूहरूलाई न्याय नदिएकै कारण न्याय खोज्ने क्रममा सबै सम्पत्ति र आँखामा आँसु रित्तिएको बताउँदै ज्यान मार्नेलाई जस्तै हत्यारा भगाउने डीएसपीलाई पनि कारबाही हुनुपर्ने बताउनुभयो। ‘यो देशमा गरिबले पनि न्याय पाउनुपर्छ, धनीले मात्र न्याय पाउने हो भने सरकारले सबै गरिबलाई मार्नुपर्छ’, तामाङले भन्नुभयो– ‘छोरी पनि गुमाएँ, सम्पत्ति पनि सकियो, साढे पाँच वर्षपछि रामेछापका डीएसपी ढुंगेलको कारण न्याय पाएँ, फेरि अहिले कारबाही हुनुपर्ने डीएसपी शर्मालाई बढुवा गर्ने सिफारिस गरेको सुन्दा निकै मन दुखेको छ, के यो देशमा गरिबले न्याय पाउँदैनन् सरकार?’
नेपाल समाचारपत्रले यसअघि ‘धरधरी रुन्छिन् आमा’ र ‘डीएसपी शर्मालाई विभागीय कारबाही गर्न सिफारिस’ गरेको समाचार प्रकाशित गरेको थियो। छोरीको हत्यारा पक्राउ परेपछि न्याय पाएको महसुस गरे पनि अहिले पुनः डीएसपी शर्मालाई कारबाही गर्नुको सट्टा प्रहरीले बढुवा गर्न सिफारिस गरेको प्रति पीडित तामाङले दुःख लागेको बताउनुभयो।

‘धनीको छोरी मारिएको भए छिट्टै कारबाही हुन्थ्यो, गरिबको छोराछोरी मर्दा न्याय पाउनका लागि साढे पाँच वर्ष रोइकराई गरेर हिँड्नु पर्यो’, उहाँले भन्नुभयो– ‘सरकार दोषी डीएसपी शर्मालाई कारबाही होस्, गरिबलाई पीडामाथि पीडा थप्ने काम नहोस्।’ तामाङले यदि प्रहरीले डीएसपी शर्मालाई कारबाही नगर्ने हो भने आफ्नो परिवारलाई कारबाही गर्न तयार हुनुपर्ने चेतावनी दिनुभयो। ‘हामीले १४ वर्षकी कलिलो छोरी गुमायौं, साढे पाँच वर्षपछि हत्यारा पक्राउ गरेर प्रहरीले न्याय दियो तर न्यायको महसुस गर्न नपाउँदै दोषी डीएसपीलाई बढुवा गर्ने निर्णय गर्दा हाम्रो मन असाध्यै दुखेको छ।’ –उहाँले भन्नुभयो।

पीडित तामाङले छोरीको हत्यारा भगाउने डीएसपी शर्मालाई कारबाही गरिदिन गृहमन्त्री जनार्दन शर्मासँग समेत भेटेरै आग्रह गर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘गृहमन्त्रीज्यू प्रहरीले हामीलाई अन्यायमा पार्न खोज्यो, गरिबले पनि न्याय पाउँछन् भने न्याय पाऊँ।’ गृहमन्त्री शर्माको सचिवालयले भने सुन्तली तामाङको हत्याकाण्डको बारेमा जानकारी रहेको र गृहमन्त्रीले गम्भीररूपमा लिएको बताएको छ।

प्रतिक्रिया दिनुहोस्