‘माओवादीबाट मन्त्री भएकाहरूले कांग्रेस–एमालेको काम गरे’ माओवादीभित्र नेतृत्वको आलोचना



 

नेपाल समाचारपत्र
काठमाडौं
नेकपा माओवादी केन्द्रभित्र स्थानीय तहको निर्वाचनमा पराजय हुनुको मुख्य कारण नेतृत्वको कमजोरी रहेको भन्दै नेताहरूले आलोचना गरेका छन्। स्थानीय तहको निर्वाचनका लागि नेतृत्वले स्पष्ट चुनावी रणनीति बनाउन नसक्दा पराजय भोग्नुपरेको भन्दै नेताहरूले आलोचना गरेका हुन्।

पार्टीले सरकारको नेतृत्व गरेपछि मन्त्रीहरूले पार्टीको हितमा भन्दा कांग्रेस र एमालेको काम बढी गरेको भन्दै सरकारमा सहभागी भएका मन्त्रीहरूको चर्को आलोचना भएको छ। पार्टीबाट सरकारमा सहभागी केही मन्त्रीले बाहेक अधिकांश मन्त्रीले आफ्नो नातागोताको मात्र काम गरेको र पार्टी हितमा काम नगरेको आरोप लगाएका छन्।

नेकपा माओवादी केन्द्रका नेता मणि थापाले मन्त्रीहरूले सरकारमा गएर पार्टीको हितको पक्षमा भन्दा पनि नातावादमा बढी अल्झिएको भन्दै नेताहरूले असन्तुष्टि व्यक्त गरेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘बैठकमा ४ हजार महाधिवेशन आयोजक समिति भंग गरेर सानो कमिटी बनाउनुपर्नेमा धेरै माग भएको छ, दोस्रो तहको नेताहरूका कारण पार्टीमा गुटबन्दी मौलाएको नेताहरूले बताएका छन्।’
बैठकमा नेताहरूले निर्वाचनमा पराजय हुनुको कारण नेताहरू सुविधाभोगी र शहर केन्द्रित हुनु, पार्टीमा नेता र कार्यकर्ताको सम्बन्ध मालिक र मजदुरको जस्तो हुनुलगायतका असन्तुष्टि नेताहरूले राखेका छन्। चुनावी समीक्षामा आफ्नो धारणा राख्ने अधिकांश नेताहरूले पार्टीसँग जनसम्बन्ध राम्रो नहुनु, प्रचार विभाग सुस्त हुनु, नेताहरू सुविधाभोगी हुनु, पार्टीले सरकारमा रहेर गरेको कामका बारेमा जनतालाई बुझाउन नसक्नुको कारण हार भएको निष्कर्ष सुनाएका छन्।

सोमबारबाट जारी माओवादी केन्द्रको सचिवालय बैठकको मंगलबार पनि जारी रह्यो। मंगलबारको बैठकमा हेडक्वार्टर सदस्य तथा गृहमन्त्री जनार्दन शर्मा, नेताहरू उर्मिला अर्याल, रामराज रेग्मी, टेकबहादुर बस्नेत, जगप्रसाद शर्मा, गजेन्द्रबहादुर महत, गोपाल किराँती, जीवन बुढा, रामदीप आचार्य, पूर्णाकुमारी सुवेदी, मानबहादुर धामी, सुनिता यादव, रमेश मल्ल, लिलाबहादुर थापा, कमला रोका, देवेन्द्र श्रेष्ठ, प्रह्लाद बुढाथोकी, डिलाराम आचार्य, दधिराम न्यौपाने, देवी खड्का, बलराम तिमिल्सिना, युवराज चौलागाईं, धावा लामा, पुष्पविक्रम मल्ल, त्रिलोचन भट्ट, सहदेव बोगटी, नरेन्द्र कुँवर, नरबहादुर विष्ट, गोपाल ठाकुर, खगेन्द्र रोकाय र दीपेन्द्र पुन गरी ३१ जना नेताहरूले चुनावी रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।

चुनावी समीक्षा गर्दै नेताहरूले बलियो संगठन निर्माणमा ध्यान नपुग्नु नै निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसक्नुको मुख्य कारण भएको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो।

सचिवालय बैठक बुधबार दिउँसो पुनः बस्नेछ। जारी बैठकमा निर्वाचनको समीक्षा, आगामी निर्वाचनको तयारी र पार्टीको संगठनात्मक एजेन्डामा छलफल भइरहेको पार्टीका प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्