स्काइ रेल सञ्चालन गर्न सम्भाव्यता अध्ययन



 

नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौंमा स्काई रेल स्थापना गर्न सके अहिलेको यातायात आवागमन सहज हुन्छ। वातावरणमा सुधार आउँछ। नागरिक निर्धारित समयमा ठाउँमा पुग्न सक्छन्, साइमिक्स इङ्क प्रालि. का प्रतिनिधिहरूले महानगरका प्रमुख र उपप्रमुखसमक्ष विशेषता बताएका छन्।

काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेडबीच स्काई रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि २०७३ माघ २६ गते भएको सम्झौताअनुसार महानगरमा क्षेत्रमा गरिएको अध्ययनले देखाएको तथ्य बताउँदै अध्ययनकर्ताले स्काइ रेलको विशेषताका चर्चा गरेका हुन्।

कम्पनीले बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरूसँग समन्वय गरेर उपर्युक्त प्रस्तावका विषयमा प्रस्ताव अघि बढाइने बताउनुभयो।

प्रतिवेदन बुझाउनुअघि कम्पनीका अध्यक्ष प्रसिद्धबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत अनुप बस्नेतले महानगर क्षेत्रमा स्काई रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताउनुभयो। त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काइ रेल सञ्चालन गर्न सकिने बताइएको छ।

चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भइरहँदा लागतसहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ। त्यस प्रकारको प्रतिवेदनमा स्टसनको संख्या, सडक संरचनालगायतका कुराले लागत खर्च निर्धारण गरेको हुन्छ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दूरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ। मेट्रो रेलको तुलनामा स्काइ रेल सञ्चालनका लागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ। रेलको एउटा डिब्बामा २ सय जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ। तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्