हरेक मानिसले कुनै न कुनै रूपबाट प्रकोपको अनुभव गरेको हुन्छ। प्राकृतिक वा अप्राकृतिक घटनाबाट उत्पन्न हुने यस्तै विनाशकारी अवस्थालाई नै प्रकोप भनिन्छ। बाढी, पहिरो, आगलागी, भुइँचालो, हुरीबतास, खडेरी, शीतलहर, हिमताल विस्फोट, महामारी, दुर्घटना आदि प्रकोपजन्य घटनाका केही उदाहरण हुन्। अधिकांश मानिसलाई धेरै वर्षा भएमा बाढीपहिरो जाने, गर्मीमा तातो हावा लू र हिउँदमा शीतलहर चल्ने, स्वच्छ पिउने पानी र सरसफाइको अभाव भएमा वा प्रदूषण बढेमा महामारी फैलिने, खाद्यान्नको अभावमा भोकमरी वा अनिकाल लागेर कुपोषण हुने, सुख्खा मौसममा आँधीबेहरी चल्ने, आगलागी हुने र कुनै पनि समयमा भुइँचालो जान सक्ने ज्ञान हुन्छ। समुद्रबाट निकै टाढा भएकाले नेपालमा समुद्री आँधीको प्रत्यक्ष प्रभाव पर्दैन। तराईमा चल्ने तातो हावा पहाडी तथा हिमाली क्षेत्रमा चल्दैन। त्यसैले भौगर्भिक बनोट, धरातलीय स्वरूप, जलवायुको वितरणजस्ता अन्तरनिहित अवस्था नै प्रकोपजन्य घटना उत्पन्न गर्ने कारक हुन् भन्न सकिन्छ। नेपालमा बाढीपहिरो, हुरीबतास, आगलागी, भुइँचालो, हिमताल विस्फोट, खडेरी, महामारी, शीतलहरजस्ता घटनाले जनधनको क्षति गर्ने भएकाले यस्ता घटनालाई नै प्रकोपजन्य घटना मानिन्छ। आजभोलि नेपालमा बाढीप्रकोपको समस्या बढ्दै जाँदा कति जनाले ज्यान गुमाइसकेका छन्। त्यसैले, आज यसको व्यवस्थापनबारे सचेत पार्नका लागि यो लेख लेख्दै छु।

नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो। आजभोलि विभिन्न पत्रपत्रिकाको मुख्य पृष्ठका समाचारमा बाढीपहिरोको समाचार हेर्न र पढ्न पाइन्छ। लगातारको वर्षाले देशका विभिन्न ठाउँमा भौतिक क्षति भएको छ।

जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा पर्याप्त लगानी र चासो कम हुनु, जनचेतनाको अभावजस्ता कारणहरूले गर्दा विभिन्न खालका प्रकोपहरूबाट हुने आर्थिक तथा मानवीय क्षति बढिरहेको अवस्था छ। दुई वर्षअघिको भूकम्पीय ध्वंश तथा त्यसपछिका प्राकृतिक विपत्तिअघिको तथ्यांक पनि डरलाग्दो नै छ। नेपालमा विभिन्न खालका प्राकृतिक र मानवसिर्जित विपत्तिहरूमा परी सन् २००० देखि २०१४ को अवधिमा ५ हजार ३ सय ७१ जनाको ज्यान गएको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ। विपदबाट बर्सेनि झन्डै १ अर्ब २१ करोड रुपियाँको आर्थिक क्षति हुन्छ।

प्राकृतिक तथा मानवजन्य विपत्तिको फलस्वरूप हुने आर्थिक क्षतिका कारण देशको वार्षिक कुल गार्हस्थ्य उत्पादनमा साढे ४ प्रतिशतसम्मको नोक्सानी हुने गरेको छ। जनसंख्याको अनुपातमा नेपालमा विपदबाट हुने मानवीय क्षति विश्वमै उल्लेखनीय छ र दक्षिण एसियाका मुलुकहरूमध्येमा त सबैभन्दा बढी रहेको तथ्यांकले देखाउँछ। आर्थिक तथा भौतिक क्षतिका हिसाबले पनि नेपाल अग्रस्थानमै छ र यो बर्सेनि बढ्ने क्रममा पनि छ। यसरी प्रकोपजन्य घटनाका कारण हुने आर्थिक र मानवीय क्षति आफैँमा आर्थिक विकासमा ठूलो चुनौती हो। सीमित स्रोत र साधनबाट धेरै विकासका काम गर्नुपर्ने नेपालजस्तो मुलुकका लागि विपदबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सकिएन भने यो विकास प्रक्रियामै ठूलो बाधकका रूपमा खडा हुनेछ।

मौसमजन्य, भौगर्भिक, जैविक तथा जलवायु परिवर्तनको जोखिमको दृष्टिकोणबाट निकै संकटापन्न अवस्थामा रहेको नेपालमा पछिल्ला वर्षहरू प्राकृतिक विपदका दृष्टिले निकै भयावह साबित भएका छन्। हजारौँको ज्यान लिने भूकम्प, गाउँ नै पुर्ने पहिरो, बाढी, डढेलो, खडेरीजस्ता प्राकृतिक विपत्तिहरूले एकपछि अर्को गर्दै नेपाललाई पिरोलिरहेका छन, जसका कारण ठूलो जनधन तथा पर्यावरणीय र भौतिक क्षतिको सामना गरिरहनुपरेको छ देशले। जलवायु परिवर्तनका हिसाबले चौँथो, भूकम्पीय हिसाबले विश्वको ११ औँ तथा बाढीपहिरोलगायतका प्रकोपका हिसाबले ३० औँ जोखिमपूर्ण स्थानमा रहेको भनिएको नेपालमा घटित यावत घटनाक्रमहरूलाई दृष्टिगत गर्दा हाम्रो जोखिमपूर्ण प्रकोपको अवस्थालाई प्रस्ट पार्छ। हिमालय क्षेत्रको कमजोर भौगोलिक बनावट, भारतीय तथा तिब्बतीयन प्लेटको बीचमा पर्ने भूकम्पीय दृष्टिले निकै जोखिमपूर्ण भौगर्भिक संरचनालगायतका कारणले नेपाल प्रकोपको उच्च जोखिममा रहेको हो। नेपालमा प्रकोप संकटापन्न पक्ष आफैँमा संवेदनशील छ, तर त्योभन्दा भयानक विषय भनेको विपद्को कारण हुने क्षतिको दर निकै उच्च हुनु हो।

प्राकृतिक प्रकोपहरू स्वचालित घटनाक्रम हुनुका नाताले यिनलाई रोक्न नसकिने भए पनि यसबाट हुने क्षति घटाउन सकिन्छ। त्यस्तै, मानवजन्य प्रकोपहरूको नियन्त्रण मानिसकै हातमा हुन्छ। विकास प्रक्रियामा विपद् व्यवस्थापनको विषयलाई आबद्ध गर्ने, विपद् व्यवस्थापनको विषयलाई गरिबी निवारण र सामुदायिक सशक्तीकरणसँग जोड्ने, वातावरण संरक्षण तथा स्रोतको दिगो उपयोगजस्ता विषयमा जनचेतना वृद्धि गर्ने र राहत तथा उद्धारमुखीभन्दा पनि प्रकोप सुरक्षा र पूर्वतयारीका विषयमा राज्यका निकायहरू केन्द्रित हुने हो भने विपदबाट हुने क्षति घटाउन सकिन्छ। हामी प्राकृतिक प्रकोपको उच्च जोखिममा रहे पनि जोखिमबाट बच्ने र क्षतिलाई न्यूनीकरण गर्ने उपायका बारेमा अनभिज्ञ छौँ। त्यसैले, प्रकृतिको खेल भनी प्रकोप सहनु हाम्रो बाध्यता बनिरहेको छ। हामीले प्राकृतिक प्रकोपलाई पूर्णरूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सक्छौँ। जनचेतना जगाउने हो भने मानवीय कारणले गर्दा हुने प्राकृतिक विपत्तिको दर पनि कम गर्न सकिन्छ। यसका लागि सम्बन्धित निकायले विपत्तिपछि राहत बाँड्न दौडिनेभन्दा प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउनेलगायतका पूर्वतयारीका उपायमा ध्यान केन्द्रित गर्नुपर्छ।
– सीताराम बोगटी, भक्तपुर

गाउँ–गाउँमा सडक
गाउँघरमा सडकको निर्माण व्यापकरूपमा हुन जरुरी छ। सडक निर्माणले विकासको गतिलाई अगाडि बढाउने काम गर्छ। विकासका पूर्वाधारमा अत्यन्त महत्वपूर्ण पक्ष सडक यातायात पनि हो। गाउँको विकास गर्न र सिंहदरबार गाउँ गाउँमा लैजान सडक निर्माणलाई प्राथमिकता दिन जरुरी छ। यो विषयमा स्थानीय निकायका जनप्रतिधिको ध्यानाकृष्ट होस् भन्न चाहन्छु।
– जमुनामाया बोगटी, मकवानपुर, हेटौंडा

LEAVE A REPLY