शरणार्थी युवतीको विमानबाट एकल विश्वयात्रा



 

न्य्ुयोर्क, (एजेन्सी)
अफगान शरणार्थीको रुपमा अमेरिकामा जन्मेकी २९ वर्षीया साएस्ता वाइज नामक महिलाले एक्लैले विमान चलाएर विश्व भ्रमण गर्ने निर्णय गरेकी छिन्। उनले अन्य महिलाहरुलाई पनि प्रेरणा दिने उद्देश्यले आफूले यस्तो साहसिक कार्य गर्न लागेको बताएकी छिन्।

हाल अमेरिकामा बसोबास गर्दै आइरहेकी उनी एउटा मात्र इन्जिनयुक्त सानो विमान उडाएर हालसालै अफगानिस्तानको राजधानी काबुल आइपुगेकी छिन्। वाइजले आफूलाई अफगानिस्तानमा फर्कन पाउँदा निकै रोमाञ्चक महसुस भइरहेको पत्रकारहरुलाई बताएकी छिन्।

उनी झन्डै २९ वर्षपछि आफैले विमान चलाएर अफगानिस्तान पुगेकी हुन्। वेब साइटमा राखिएको उनको जीवनीअनुसार एउटा शरणार्थी शिविरमा जन्मेकी उनी सन् १९८७ मा सोभियत–अफगान युद्धबाट बच्न परिवारसहित अमेरिका पुगेकी थिइन्।

उनले आफू अमेरिकाको क्यालिफोर्नियाको सुविधाबाट वञ्चित क्षेत्र रिचमन्डमा हुर्केको बताएकी छिन्। कलेज गएर क्यारियरको बारे सोच्न थाल्दासम्म पनि आफूले उड्डयन क्षेत्रमा हात नहालेको उनले बताएकी छिन्।

काबुलमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेकी छिन्– ‘सानी छँदा मैले कलेजसम्म पढ्ने अनि कलिलै उमेरमा घरजम गरेर बस्नेबारे सोचेकी थिएँ। तर आफ्नो विमान उडाउने शौखबारे जानकारी पाएपछि भने त्यो योजनाले काम गरेन।’

‘ड्रिम्स सोर’ नामक गैर आयमूलक संस्था खोलेकी उनले युवतीहरुलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयतर्फ प्रेरित गर्ने उद्देश्यले आफूले यसरी विमान चलाएर विश्व भ्रमण गर्न लागेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्