प्रधानन्यायाधीशद्वारा पदभार ग्रहण



 

काठमाडौं, (नेस)
प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले सोमबार पदभार ग्रहण गर्नुभएको छ।
उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो। शपथलगत्तै सर्वोच्च अदालत आउनुभई पराजुलीले पदभारग्रहण गर्नुभयो। राष्ट्रपति कार्यालयबाट सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरूले पुष्पगुच्छासहित स्वागत गरेका थिए।

२७औं प्रधानन्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनुहुनेछ। २०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रूपमा उहाँ न्यायसेवामा प्रवेश गर्नुभएको थियो। यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशका रूपमा काम गर्नुभएको थियो।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानन्यायाधीश पराजुलीले ३९ बुँदे कार्ययोजनाअनुसार नै अघि बढ्ने बताउनुभयो। असनका पुराना घरहरू ढलेनन्, तर एक्लो घर किन ढल्यो भन्दै पराजुलीले सँगै रहेको जोशीतिर हेर्दै भन्नुभयो– ‘मेरो सहयोगी वरिष्ठ न्यायाधीश हुनुहुन्छ, उत्तराधिकारी साथी पनि हो। हामी एउटै उद्देश्यका साथ मैले जुन प्लान लिएर आएको छु, यसमा कुनै विमति छैन। हामी दुवै एकढिक्का भएर सहकार्य हुन्छ।’ साथै न्यायाधीश दीपकराज जोशीलाई आफ्नो उत्तराधिकारी भन्दै उहाँले दुवै एक भएर काम गर्ने बताउनुभयो। अतिरिक्त समयमा न्यायाधीशले ऐच्छिक रूपमा काम गर्ने भन्ने करिब–करिव सहमति भएको भन्दै उहाँले भन्नुभयो– ‘अतिरिक्त काम गरेर भए पनि जनतालाई सेवा दिन सबै न्यायाधीश लालायित हुनुहुन्छ।’

प्रधानन्यायाधीश पारदर्शी र उत्तरदायी होस् भन्ने सबैले हेर्न चाहेको भन्दै उहाँले त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफू आग्रह पूर्वाग्रहबाट परिचालित नहुने र आफ्नो उद्देश्यप्रति प्रस्ट रहेको समेत बताउनुभयो।

आफ्ना व्यक्तिगत र ठूला योजना नभएको भन्दै प्रधानन्यायाधीश पराजुलीले व्यावहारिक र कार्यान्वयन योग्य कार्ययोजना अघि सारिएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो– ‘पद्धति र प्रणालीलाई भुलेर ठूलो उपलब्धि हासिल गर्न सकिँदैन।’

एक महिनाभित्र संवैधानिक इजलास गठन गरिसक्ने तथा अदालतमा रहेका कमीकमजोरी सुधारबारे विगतको अध्ययन प्रतिवेदन कार्यान्वयन गर्दै जाने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्