बैठक भत्ताको रकम असहाय तथा विपन्न बालबालिकालाई



 

दयाराम पण्डित, बाजुरा
नेपाल पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष प्रकाश सिंहले बाजुराका असहाय तथा विपन्न महिला तथा बालबालिकाका लागि आर्थिक सहयोग गरेका छन्। जिल्ला बालकल्याण समितिलाई सिंहले १५ हजार ८० रुपियाँ सहयोग गरेका छन्।

पत्रकार प्रकाश सिंहले जिल्ला बालकल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेलाई १५ हजार ८० रुपियाँको बैंक भौचर हस्तान्तरण गरेका हुन्। अध्यक्ष सिंहले २०७३ फागुन २४ गते पत्रकार महासंघ बाजुरा शाखा अध्यक्ष भइसकेपछि पत्रकार महासंघको नाममा जिल्लाका विभिन्न गोष्ठी र बैठकबाट आएको भत्तास्वरूपको रकम हस्तान्तरण गरेका हुन्। जिल्लाका विपन्न महिला, टुहुरा, अनाथ, असहाय, सहाराविहीन बालबालिकाका लागि आर्थिक सहयोग गरेको जिल्ला बालकल्याण समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताएका छन्।

नेपाल पत्रकार महासंघको प्रतिनिधित्व हुने गरी चैत ८ गतेबाट असार २७ गतेसम्म जिल्लामा बैठक र गोष्ठीमा सहभागी भएको भत्ताबापतको रकम जिल्ला बाल संरक्षण कोषको खातामा जम्मा गरेका छन्। चार महिनाको अवधिमा २२ ओटा बैठकबाट आएको भत्ता जिल्लाका बालबालिकाहरूलाई सहयोग गरेको अध्यक्ष प्रकाश सिंहले बताएका छन्। जिल्ला विकास समिति, जिल्ला स्वास्थ्य कार्यालय, पशु सेवा कार्यालय, हुलाक, पशु निर्वाचन कार्यालय, महिला तथा बालबालिका कार्यालय, पिसविन, सुआहारा, गिफ्ट एओएसलगायतका सरकारी तथा गैरसरकारी कार्यालयको बैठक तथा गोष्ठीमा सहभागिता भएको भत्ता रकम रहेको बताएका छन्। उनले बाजुराका यस्ता दूर दराजमा रहेका विपन्न महिला, अनाथ टुहुरा तथा असहाय बालबालिकाका लागि सानो भए पनि सहयोग गर्न पाएकोमा खुसी भएको बताएका छन्।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले भने सिंहले दिएको रकम विपन्न महिला, असहाय, टुहुरा बालबालिकाका लागि खर्च हुने बताएका छन्। ‘बाजुरामा पत्रकारहरूको मनकारी भावनाको कदर गर्दछु र पत्रकारले बाजुरामा सबैभन्दा बढी सहयोग गरेका छन्’ –उनले भने।

पत्रकारहरूले बाजुराको सामाजिक आर्थिक र विकास क्षेत्रका गरेको अथक् सहयोगलाई कहिल्यै नभुल्ने बताए। पत्रकार सिंह विगत ७ वर्षदेखि बाजुरामा कार्यरत पत्रकार हुन्, उनले विपन्न महिला तथा बालबालिकाका क्षेत्रमा विगत लामो समयदेखि कमल चलाउँदै आएका छन्। फेरि पनि सिंहले पत्रकार महासंघमा प्रतिनिधित्व गरेको बैठक अन्तक्र्रियाबापतको भत्ता रकम असहायहरूलाई हस्तान्तरण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्