ठगीको आरोपमा तीन पक्राउ



हेमन्त पौडेल, कैलाली

कैलालीका विभिन्न गाउँदेखि शहरसम्म चर्को दरमा मिटर ब्याज र ढुकुटी खेलाउने समूहको बिगबिगी रहेको छ। मिटर ब्याज र ढुकुटीले समाजमा भाँडभैलो मच्चिन थालेको छ। घरमा श्रीमान्लाई छलेर ढुकुटी र मिटर ब्याजमा पैसा दिएकाहरूको घरवारसमेत बिग्रिँदै गएको छ। मिटर ब्याजमा बढी ब्याज पाउने र ढुकुटी खेलेर एकैपटक धेरै पैसा कमाउने लोभका कारण धेरै जना घरवारविहीन भएका छन्। कैयौंले करोडौं रकम लिएर फरार भएका घटनाहरू एकपछि अर्को बाहिर आइरहेका छन्।

चर्को ब्याज दिने भन्दै ठूलो रकम लिएकाहरूले वर्षौं बित्दा पनि पैसा फिर्ता नगरेपछि लेनदेनको विषयलाई लिएर सार्वजनिक स्थलमै कुटाकुटका समेत हुन थालेको छ। कम मेहनतमै लाखौं कमाइ हुने प्रलोभनमा मिटर ब्याज दिने समूह तथा मिटर ब्याजमा संलग्नहरूबीच कुटाकुट हुन थाले पनि प्रहरी प्रशासनले खासै चासो दिएको छैन। केही समयअघि मात्रै मिटर ब्याज र ढुकुटीको सिकार भएका डेरी व्यवसायी दीपक खड्का विदेश पलायन भए भने खाद्यान्न व्यवसायी विकास अग्रवाल, राजेश गुप्ता, नितेश शर्मालगायत आधा दर्जनभन्दा बढी व्यवसायीहरू चर्को मिटर ब्याज तिर्न नसकेर भागेका छन्।

श्रीमतीमार्फत् ढुकुटीको कारोबार गरिरहेका धनगढीका केही सम्भ्रान्त परिवारका पुरुषहरू त्यही पैसामा विलासिताको जीवन बिताइरहेको स्रोतले जनाएको छ। मिटर ब्याजको काराबारले महँगा गाडी चढ्ने उनीहरू केही स्थानीय राजनैतिक दलको आडमा तथा केही प्रहरी प्रशासनको आडमा नै अवैध मिटर ब्याज र ढुकुटीको कारोबार गरिरहेको पाइएको छ। मिटर ब्याज र ढुकुटीको कारोबारमा प्रहरी अधिकृतका श्रीमतीहरूसमेत संलग्न रहेको एक मिटर ब्याज र ढुकुटी कारोबारीले बताए। प्रहरी अधिकृतका श्रीमतीहरू, धनगढीका केही सम्भ्रान्त परिवारका महिलाहरू, अधिकृत स्तरका सरकारी कर्मचारीका श्रीमतीहरू र ठूला व्यापारिक घरानका महिलाहरू आफूकहाँ आएर मिटर ब्याजमा लगाइदिन भन्दै पैसा दिने गरेको उनले बताए।

यस्तै प्रहरी अधिकृतका श्रीमतीहरूसमेत यसमा संलग्न रहेकाले यो विषयमा प्रहरी पन्छिने गरेको स्थानीयले बताएका छन्। मिटर ब्याजमा र ढुकुटी खेलाउनेहरू संग प्रहरीले कमिसन लिने गरेको पनि खुल्न आएको छ। धनगढीका एक मिटर ब्याज कारोबारीले सबै पक्षलाई मिलाएर आफूले काम गरेको र अन्तमा आफूसँग कमिसन लिनेहरूले नै आफूलाई फसाएको खुलासा गरेका छन्। प्रहरीका घुमुवाहरूले समेत मिटर ब्याज र ढुकुटी कारोबारीहरूसँग महिनावारी असुगर्ने गरेको पाइएको छ।

प्रहरीका अनुसार यस्तो अपराधमा मुख्य योजनाकारको प्रत्यक्ष संलग्नता देखिँदैन, उनीहरूलाई अप्रत्यक्ष पहुँचवालाको संरक्षण हुन्छ। यसले गर्दा पनि नियन्त्रणमा कठिनाइ देखिएको छ। चर्को ब्याजमा रकम लिनेले दिन्न भनेपछि, त्यसअघि नै लिइएको चेक बाउन्स गराएर थुनाउने, आफैं कुट्ने जस्ता आपराधिक क्रियाकलाप बढिरहेका छन्। गत शुक्रबार मात्रै सेवा नर्सिङ होमकी सञ्चालिका कल्पना गैरे र सीता केसीबीच धनगढी चौराहमा कुटाकुट हुँदा गैरेको टाउकोमा चोट लागेर उनको नेपालगन्जमा उपचार भइरहेको छ।

गैरेले सीता केसीविरुद्ध किटानी जाहेरी दिएकी छन्। तर प्रहरीले सीता केसीलाई केही दिन पहिला पक्राउ गरेर बोलाएको समयमा उपस्थित हुने गरी छोडेको कैलालीका प्रहरी प्रमुख अर्जुन चन्दले बताए। कैलालीमा सम्पन्न र सौखिन महिलाहरू बढी मात्रामा मिटर ब्याज र ढुकुटीको चक्करमा फसेको उनले बताए। अहिले जिल्ला प्रशासन कार्यालय कैलालीमा दैनिकजसो ६ देखि ८ जनासम्म मिटर ब्याज र ढुकुटीले खेलाउनेले ठगेको भन्दै उजुरी गर्न आउने गरेको कार्यालयले जनाएको छ। आपसी लेनदेन भएका कारण प्रशासनले केही पनि गर्न नसक्ने भएकाले दुवै पक्षलाई बोलाएर छलफगर्नबाहेक आफूले केही पनि गर्न नमिल्ने जिल्ला प्रशासनले जनाएको छ।

यस्तै जिल्ला प्रहरी कार्याकैलालीले मिटर ब्याजमा ठगी गर्ने ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ क्याम्पस रोडकी मञ्जु बम र सोही ठउँकी कविता चौधरी र धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलका निलम पनेरूलाई चेक बाउन्स भएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेकी बम र चौधरीलाई अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको र पनेरूलाई बिहीबार मात्र पक्राउ गरिएको थियो। उता कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले ढुकुटी र मिटर ब्याज खेल्ने खेलाउने विषयमा प्रहरीको कुनै सरोकार नभएको बताएका छन्। सो कार्य नियन्त्रण गर्ने कार्य प्रहरीको नभएको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्