ललितपुर महानगरमा ३ अर्ब २२ करोडको बजेट



 

नेपाल समाचारपत्र
ललितपुर
ललितपुर महानगरपालिकाले आार्थिक वर्ष २०७४⁄७५ का लागि ३ अर्ब २२ करोड ९१ लाख १० हजार रुपियाँको बजेट सार्वजनिक गरेको छ।

प्रस्ताव गरिएको खर्चमध्ये आन्तरिक स्रोतबाट एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरिएको छ। त्यस्तै, नेपाल सरकार सशर्त अनुदान (कृषि, पशु, स्वास्थ्य, शिक्षा) तर्फ २८ करोड १२ लाख ६३ हजार, वित्तीय समानीकरणतर्फ ५६ करोड ७ लाख ४७ हजार, बहुवर्षीय सडक विस्तारतर्फ १० करोड, विषयगत अनुदान अर्थात सामाजिक सुरक्षा जेष्ठ नगारिक, असहाय, अशक्त, लाभग्राहीहरू, सडक बोर्ड नेपाल, स्थानीय शासन तथा वैदेशिक अनुदानतर्फ ७७ करोड १२ लाख गरी जम्मा तीन अर्ब २२ करोड ९१ लाख १० हजारको बजेट प्रस्तुत गरिएको हो।

यसमा पुँजीगत अर्थात विकास बजेट २ अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६ दशमलब ६५ ५) चालु खर्चतर्फ ४३ करोड १२ लाख ८७ हजार (१३ दशमलब ३५ ५) प्रस्ताव गरिएको हो। यसअघि नीति योजना र कार्यक्रम प्रस्तुत गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले मोनोरेल, फ्लाइओभर र फ्लाइओभर इनसेक्सन निर्माणजस्ता योजना अघि सार्नुभएको छ।

ललितपुर महानगरपालिकाको प्रथम नगरसभामा आर्थिक वर्ष २०७४⁄७५ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै प्रमुख महर्जनले सार्वजनिक यातायातमा सर्वसाधारणको पहुँच पुर्याइ ट्राफिक व्यवस्थापनलाई सरल र सहज पुर्याउने भन्दै सो योजना अघि सार्नुभएको हो।

‘काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहहरूको समन्वय र सहकार्यमा मोनोरेल सञ्चालन, फ्लाइओभर निर्माण र फ्लाइओभर निर्माणजस्ता वैकल्पिक मार्गहरू निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छु।’ प्रमुख महर्जनले भन्नुभयो– ‘ललितपुर भित्रिन र बाहिरिन प्रयोग हुने प्रमुख चोकहरूमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्नेछौं।’

‘यी पूर्वाधार निर्माणका लागि अध्ययन अनुसन्धानको कार्य प्रारम्भ भइसकेको छ। ’उहाँले भन्नुभयो। बढ्दो ट्राफिक जामलाई ख्याल गर्दै पुल्चोकदेखि बाग्मती पुलसम्म झण्डै डेढ किलोमिटरको फ्लाइओभर बनाउने विषयमा महानगरले अध्ययन गरिरहेको जनाएको छ। मोनोरेल ललितपुरको गोदावरीदेखि काठमाडौँको बुढानीलकण्ठसम्म बनाउने विषयमा अध्ययन गरिरहेको बताइएको छ।

महानगरपालिकाले आर्थिक वर्ष २०७२⁄७३ सम्म सम्झौता भएका तर, सञ्चालन नभएका उपभोक्ता समितिहरूको सम्झौता स्वतः खारेज गरेको जनाएको छ। आर्थिक वर्ष २०७३⁄७४ का वडा र नगरस्तरीय योजनाहरूको दायित्व आर्थिक वर्ष २०७३⁄७४ का प्रथम चौमासिकसम्म सम्पन्न गर्ने गरी सारिएको छ। त्यसै गरी नगरको घनावस्ती तथा ऐतिहासिक पर्यटकीय स्थानहरूमा आवश्यकताअनुसार इँटा, ढुंगा र ब्लक छाप्ने वैकल्पिक कार्यलाई निरन्तरता दिने भन्दै महानगरपालिकाले यस्ता स्थानमा आरसीसी र ढलान गर्ने कार्यलाई विस्थापित गरिने घोषणा गरेको छ।

त्यस्तै महानगरभित्रका सबै वडाहरूलाई समेटिने गरी घुम्ती सडकको सञ्जाल निर्माण गर्ने प्रक्रियाको संभाव्यता अध्ययन गर्ने घोषणा पनि महानगरको छ।
विभिन्न स्थानमा भएका घाटहरूको सुधार गरी शंखमूलमा विद्युतीय शव दाहगृह निर्माणको नीतिलाई महानगरले प्राथमिकतामा राखेको छ। महानगरले जोखिममा देखिएका भवनहरूलाई भूकम्पीय सुदृढीकरणका लागि सम्बन्धित घर धनीहरूलाई निर्देश गर्ने जोखिममा रहेका भवनहरू हटाइ पुनर्निर्माण गरेमा महानगरपालिकाबाट प्रदान गर्ने सेवासुविधामा प्राथमिकता दिई नक्सा पास र नक्सा नियमितमा लाग्ने दस्तुरमा आर्थिक वर्ष २०७४⁄७५ सम्म शतप्रतिशत छुट गरिने नीति लिइने घोषणा प्रमुख महर्जनले जानकारी दिनुभयो।
५००० वर्ग फिटभन्दा बढी क्षेत्रफलमा बनेका आवासीय क्षेत्रका भवनलाई पनि ब्यवसायिक मानेर कर उठाउनेलगायतका विषय पनि महानगरको नीति तथा कार्यक्रममा परेको छ। नीति तथा कार्यक्रम र बजेटमा सांस्कृतिक तथा पुरातात्विक सम्पदाको संरक्षण र फोहोर ब्यवस्थापन पनि परेको छ।

त्यसै गरी महानगरपालिकाले नेपाल भाषाको संरक्षण तथा प्रवद्र्धन गर्नका लागि नेपाल भाषा डेस्कलाई प्रभावकारी बनाइ महानगरपालिकाको नागरिक बडापत्र नेपाल भाषामा समेत प्रकाशित गर्ने नीति पनि ल्याएको छ। नेपाल भाषाको अध्ययन अध्यापनसम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउनुका साथै नेपाल भाषा पत्रकारिता उत्थानका लागि आवश्यक नीति लिने घोषणा पनि प्रमुख महर्जनले गर्नुभयो।

महानगरपालिकाले पर्यटकहरूको सुविधानलाई ध्यान दिने भन्दै ललितपुरको पुल्चोकदेखि मंगलबजारसम्म विद्युतीय बस सञ्चालन गर्ने जनाएको छ। त्यसका लागि यसै वर्षदेखि टेन्डर माग गरी प्रक्रिया अघि बढाउने घोषणा पनि महानगरले जनाएको छ

यात्रु र पर्यटनलाई थप प्रवद्र्धन गर्न भन्दै महानगरले साझा यातायात अब ललितपुरको गोदावरी र बुङमतीसम्म पनि चलाउने प्रक्रिया केही दिनमैं शुरु हुने जनाएको छ। यसका लािग साझा यातायात सहकारी संस्थासँग एमओयूमा हस्ताक्षर भइसकेको र निकट भविष्यमैं उक्त क्षेत्रमा बस सञ्चालन गर्ने घोषणा महानगरले गरेको छ।

फोहोरमैला व्यवस्थापन, भुस्याहा कुकुरको बन्ध्यान्करण, छाडा गाईवस्तुको उचित व्यस्थापन, नदीको सरसफाइ, सार्वजनिक स्थानमा पार्क, सडकका दायाँबायाँ बिरुवा नभई ठूला रुख रोप्ने घोषणा पनि महानगरको छ। पार्किङको समस्या हटाउन भर्टिकल पार्किङको पनि सम्भाव्यता अध्ययन गरिने प्रमुख महर्जनले बताउनुभयो।

वर्षभरि काम नहुने र आर्थिक वर्षको अन्त्यमा धेरै काम गरेर रकम सक्ने शैली अन्त्य गर्दै ललितपुर महानगरले आर्थिक वर्ष सकिए पनि कात्तिकसम्म बजेट फ्रिज नहुने जनाएको छ ‘असारमै आएर बढी काम गर्ने परिपाटीले समस्या भएको छ। अब कात्तिकसम्म आयोजना चलाउन पाउने गरी व्यवस्था गर्छौं’ प्रमुख महर्जनले भन्नुभयो– ‘यसले हतारमा हुने विकासलाई रोक्छ भने वर्षामै गरिने गुणस्तरहीन विकासका कामलाई पनि छेक्छ।’

प्रमुख महर्जनले अब महानगरभित्र बन्ने सबै कालोपत्रे सडक गुणस्तरीय हुने दाबी गर्नुभयो। त्यसका लागि सम्झौतामा स्पट प्रावधान राख्ने र अनुगमन गर्ने योजना छ। ‘मापदण्डअनुसार सडक कालोपत्रे नगर्ने परिपाटी अब अन्त्य हुन्छ। अब ठेकेदारसँग कालोपत्रे सडक १.५ इञ्चभन्दा कम हुनै नहुने गरी समझौता गर्छौं’ प्रमुख महर्जनले भन्नुभयो, ‘यदि कमसल सडक बनाएर भत्किए एक वर्षसम्म उसको परर्फमेन्स ग्यारेन्टी जफत गरेर उसलाई नै ममर्त गर्न लगाउँछौं। एक वर्षसम्म सडक नभत्किए पनि यो ग्यारेन्टी रकम राखिराख्छौं।’
ललितपुर महानगरपालिकाले ३ वर्षभित्र सबै वडा कार्यालयको आफ्नै भवन बनाइसक्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्