पाल्पामा मौलायो घैंटो कार्यक्रम



 

कविराज नेपाल, पाल्पा
पहाडी जिल्ला पाल्पाको जिल्ला सदरमुकाम तानसेन मात्रै होइन विभिन्न गाउँपालिकाहरूको डाँडामा बस्ती भएका क्षेत्रका जनताले भोग्ने गरेको साझा समस्या हो पानी। वर्षात्को बेला जसोतसो निर्वाह गरे पनि हिउँदमा यो समस्या टड्कारो देखिन्छ। त्यसैले यहाँका जनताले जुक्ति निकालेका छन्– वर्षात्को पानी संकलन गर्ने। हिउँदमा पानीको दुःख नहोस् भनी वर्षात्को पानीलाई संकलन गरी हिउँदमा प्रयोग गर्ने प्रविधि घैंटो कार्यक्रम पाल्पाका विभिन्न ठाउँमा पछिल्लो समय प्रभावकारी र लोकप्रिय बन्दै गएको छ।

खानेपानीका लागि समस्या झेल्दै आएका जिल्लाका एक दर्जनभन्दा बढी साविक गाउँ विकास समितिका जनतालाई वर्षात्को पानी संकलन गर्ने प्रविधि घैंटो टंकी अत्यन्त उपयोगी सावित हो। यसलाई पिउनका लागि खासै उपयोग नगरिए पनि सरसफाइ र अन्य प्रयोजनका लागि उपयोग गर्ने गरिन्छ। जसले गर्दा गृहिणी र परिवारको दुःख हटेको छ।

वर्षात्मा टिनको छानामा परेको पानीलाई पाइपको माध्यमद्वारा सिमेन्टको घैंटो तथा टंकीमा संकलन गर्ने प्रविधि गाउँगाउँमा भित्रिएपछि उपगोगी मात्र नभई पानीका कारण गाउँलेको जीवनस्तरमा समेत परिवर्तन आएको छ। यसले गर्दा मानिसको दैनिकी फेरिएको मुझुङकी गृहिणी सीता कार्कीले बताउनुभयो।
ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत ०५६ सालदेखि घैंटो निर्माण अभियान शुरू भएपछि जिल्लाका, चिदिपानी, बौघागुम्हा, हुमिन, देउराली, वीरकोट, ताहुँ, देवीनगर, मदनपोखरा, चापपानी, नायरनम्तलेस, खस्यौली, भैरवस्थान, पीपलडाँडा, वौघागुम्हा, बन्दिपोखरा, वीरकोट, ताहुँ गाउँहहरूमा करिब १५ हजार घरहरूमा निर्माण भएका छन्।

दुईवटा घैंटोमा संकलित पानीले वर्षभरि नै खान पुग्दछ वीरकोटका दलबहादुर सारुले खानेपानीका लागि एक बिहान लाग्ने बाटोमा पानी लिन केटाकेटीहरू जानु पर्दैन। उनले भने– ‘जसले गर्दा हिउँद याममा खानेपानीको भरपर्दो माध्ययम बनेको छ घैंटो पानी टंकी।’

नायरनम्तलेसका तेजप्रसाद रायमाझी भन्छन् आफ्नो वाडका १ सय २ घर परिवारले घैंटो टंकी निर्माण गरेको बताउँछन्। २०५७ देखि कार्यक्रम शुरू भएको उनको भनाइ छ। मदनपोखराका गुरूप्रसाद श्रेष्ठ पनि घैंटो कार्यक्रम अत्यन्त लोकप्रिय बनेको बताउँछन्। १० हजार लिटर क्षमताका घैटोमा संकलित पानी कपडा धुन, पिउन सर्वत्र प्रयोग तथा उपयोगमा ल्याउन पाउँदा उनीजस्ता धेरै उपभोक्तालाई वरदानै सावित बनेको छ।

जिल्लामा प्रारम्भिक चरणमा ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रम फिनेडा सरकारको सहयोगमा जडान तथा निर्माण भएका छन्। यसै गरी कतिपयले आफ्नै प्रयासमा पनि घैंटो निर्माण कार्य अघि बढाएका छन्। पीपलडाँडाका कृषक खुमन सारुले घैंटोको पानी प्रयोग गरी मौसमी र बेमौसमी तरकारी खेती सिँचाइ गरेको बताए।

पानी बोक्ने समयमा उनीहरू पढ्न पाउने भए भन्दछन् देउरालीका स्थानीय बासिन्दा कविराज अधिकारी। खानेपानीको स्रोत अत्यन्त कम भएकाले वीरकोट गाविसमा १ हजारभन्दा बढी घैंटो निर्माण भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्