कुस्ती खेलाडी छनोट



नेपाल समाचारपत्र काठमाडौं।
नेपालले आयोजनाको जिम्मेवारी पाएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी ८ पुरुष कुस्ती खेलाडी शुक्रबार छनोट गरिएको छ। नेपाल कुस्ती संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रव्यापी पुरुष कुस्ती खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो।

छनोट हुने खेलाडीमा राष्ट्रिय टिमका खेलाडीको वर्चस्व रहेको छ। राष्ट्रिय टिमका रामबाबु यादव ५७ केजी, जयमंगल यादव ६१ केजी, सरोज यादव ६५ केजी, मुख्तार आलम ७४ केजी, सुमिरकुमार साह ८६ केजी र सत्येन्द्रप्रसाद यादव १२५ केजीमा छनोट भए।

त्यस्तै प्रहरीका दीपेश राउत कम्कर ७० केजी र बाँकेका रमेश गोतामे ९७ केजीमा छनोट हुन सफल भए। गोतामे नयाँ खेलाडी हुन्। एकदिने प्रतियोगितामा १९ खेलाडीले प्रतिस्पर्धा गरेको कुस्ती संघका अध्यक्ष नारायणदेव राणाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्