पोखरामा नेटबल प्रशिक्षण



काठमाडौं, (नेस)
पोखरामा पहिलोपटक नेटबल भित्रिएको छ। नेपाल नेटबल संघले पश्चिमाञ्चल क्षेत्रलाई केन्द्रित गर्दै यो खेलको विस्तार गर्न पोखरामा प्रशिक्षण प्रारम्भ गरेको हो। विशेष गरी महिलाहरूलाई केन्द्रित गरी शुरू गरिएको नेटबल खेल प्रशिक्षणमा ४० जनाको सहभागिता रहेको छ।

सन १८०० मा अमेरिकाबाट शुरू भएको नेटबल अधिकांश देशहरूमा खेल्ने गरिन्छ। सन् १९९५ मा ओलोम्पिकले मान्यता दिएको हो। नेपालमा ६ वर्षअघि भित्रिएको नेटबल खेल राजधानी केन्द्रित रहे पनि अब यसलाई नेपालभर खेल्नका लागि प्रशिक्षकहरूलाई प्रशिक्षित गराउन शुरू गरिएको संघका महासचिव दीपक लामाले बताए।

१ सय फिट लम्बाइ र ५० फिट चौडाइ रहेको खेल मैदानमा खेल्न सकिने यो खेल इनडोर गेम हो भने यसमा ७÷७ जना खेलाडी खेल्न सक्नेछन। विशेष गरी महिलाहरूका लागि भनिएको यो खेल अहिले पुरुषहरूसमेतको सहभागिता रहने गरेको लामाले बताए।

उनका अनुसार नेपालले सन् २०१२ र २०१३ को एसियन नेटबल च्याम्पियनसिपमा सहभागिता जनाइसकेको छ। हाल नेपालमा यो खेलका ४० जना प्रशिक्षकहरू रहेका छन् भने खेल विस्तारका लागि विद्यालय केन्द्रित गरिएको छ। पोखरामा साउन २ गतेसम्म सञ्चालन हुने प्रशिक्षणमा अस्ट्रेलियन प्रशिक्षक स्टेफेनी एन्डरसनले समेत प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

प्रतिक्रिया दिनुहोस्