फ्रान्सेली प्रथम महिलाका लागि गरेको ट्रम्पको टिप्पणी विवादमा



‘तपाईंको फिगर अत्यन्त राम्रो छ’

पेरिस, (एजेन्सी)
फ्रान्समा बास्टिला डेमा प्रमुख अतिथि बन्न गएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ टिप्पणीले विशेष चर्चा पाएको छ।

बिहीबार पेरिस पुगेका ट्रम्पले फ्रान्सका राष्ट्रपतिकी पत्नीको फिगरको प्रशंसा गरेका थिए। उक्त प्रसंग क्यामरामा पनि कैद भएको थियो र यसलाई फ्रान्सेली सरकारले फेसबुक पेजमा पोस्ट गरेको थियो।
उक्त भिडियोलाई लिएर ट्रम्प आलोचनाको शिकार भइरहेका छन्। यद्यपि ह्वाइट हाउसले यस मुद्दामा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेको छ।

प्रथम विश्वयुद्धमा विजय भएकोमा मनाइने शुक्रबारको बास्टिला डेमा प्रमुख अतिथि बन्न गएका ट्रम्पले फ्रान्सली राष्ट्रपतिकी पत्नी ब्रिजिटलाई भनेका थिए– ‘तपाईंको फिगर अत्यन्त राम्रो छ। सुन्दर।’
त्यतिबेला ब्रिजिटसँगै फ्रान्सली राष्ट्रपति र अमेरिकी प्रथम महिला मेलानिया ट्रम्प पनि उपस्थित थिए।

यसअघि पेरिसमा आयोजित स्वागत समारोहमा ट्रम्प र ब्रिजिट म्याक्रों एक अर्कासँग हात मिलाउँदा अलि अल्मलिएको सीएनएनले उल्लेख गरेको छ।

गार्जियनले सामाजिक सन्जालमा धेरैले ट्रम्पको उक्त टिप्पणीलाई ‘सेक्सिस्ट’ भएको बताउँदै त्यसको निन्दा गरेको जनाएको छ।

फ्रिलायन्स भिडियो प्रोड्युसर तथा नारीवादी तथा लैंगिक मुद्दामा कलम चलाउँदै आइरहेका लेखक ऐलेक्स बर्गले ट्विटरमा लेखे– ‘ट्रम्पले फ्रान्सका प्रथम महिलालाई तपाईंको फिगर अत्यन्त राम्रो छ भन्नु, प्रशंसा, यौन दुव्र्यवहारबीच फरक बिर्सने पुरुषको उदाहरण हो।’

वृत्तचित्र निर्माता तथा कलाकार जेन सिबेल न्युसमले ट्विटमा लेखे– ‘मिस्टर ट्रम्प ! महिला आफ्नो शरीरलाई लिएर अनावश्यक टिप्पणी सुन्न चाहँदैनन्। यो अत्यन्त गलत हो।’

प्रतिक्रिया दिनुहोस्