राजधानीबासीलाई दूषित पानी,परीक्षणका क्रममा ७० प्रतिशतभन्दा बढी स्वास्थ्यलाई प्रतिकूल असर गर्ने ब्याक्टेरिया फेला



भगवती तिमल्सिना, काठमाडौं

नीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन। तर, पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको पाइएको छैन।

सरकारकै कमजोरीको फाइदा उठाउँदै व्यापारीले उपभोक्ताको स्वास्थ्यमा गरेको खेलबाडका कारण वर्षेनि हजारौंको संख्यामा मानिस झाडापखाला, आउँ, टाइफाइड, जन्डिस, निमोनियाजस्ता थुप्रै रोगको शिकार बन्दै छन्।

काठमाडौं, भक्तपुर र ललितपुरमा खानेपानी प्रदूषित भएकै कारण जुनसुकै समय हरेक खालका नयाँ नयाँ रोगको त्रास फैलने गरेको विशेषज्ञहरूको ठम्याइ छ। यतिबेला जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको एक अनुसन्धानमा काठमाडौंमा वितरण भइरहेको पानीमा स्वास्थ्यमा प्रतिकूल असर पार्ने ब्याक्टेरिया ७० प्रतिशतभन्दा बढी फेला परेको डरलाग्दो तथ्यांक सार्वजनिक गरेको छ।

कार्यक्रममा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का माइक्रोबायोलोजिस्ट ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभएअनुसार  केयूकेएलले वितरण गर्ने पानी निजी क्षेत्रबाट विक्रीवितरण हुँदै आएको ठूलो जारको पानीभन्दा शुद्ध छ। उहाँले जारका पानी बढी दूषित छ भन्नुभयो। यता केयूकेएलले वितरण गर्दै आएको पानीको मुहानमै माछा र सुङ्गुर पालिएको र उपत्यकामा वितरण हुँदै आएको पानी दूषित भएको पनि उहाँले खुलासा गर्नुभयो।

उपत्यकामा वितरण गरिँदै आएको शेषनारायणको मुहानमै स्थानीयले माछापालन गरेको र हटाउन कठिन भएको छ भने नल्लु खोलाको मुहान आसपासमा स्थानीयले जग्गा भाडामा दिई बङ्गुर पालन व्यवसाय नै चलाएका छन्। ‘मुहानलाई शुद्ध राख्नका लागि माथि सार्दा समेत नसकेको अवस्था छ।’ –कार्कीको भनाइ छ। उहाँ भन्नुहुन्छ– ‘अब जनप्रतिनिधि निर्वाचित भएर आइसकेको अवस्थामा केही सुधार गर्न सकिन्छ कि? हामीले स्थानीयलाई व्यक्तिगत जग्गा भाडामा नदेऊ भन्न सक्ने अवस्था छैन र जग्गा भाडामा दिएर वरिपरि बङ्गुर पालन गरेकाले मुहान दूषित भएको हो।’

मुहानमै पालिएका छन् माछा र सुंगुर

– जारको पानी उस्तै खतरा

-पियूष राखेर वा उमालेर मात्रै प्रयोग गर्न विज्ञको सुझाव

-रोगको मुख्य कारक खानेपानी

यसका साथै मुहानको माथिबाट गाडी गुड्ने र विशेष गरी ट्रकहरूले ढुंगा निकाली ओसार पसार गर्दा मुहानमा माटो झार्ने र पानीमा लेदो, हिलो हुने कारणले पनि उपत्यकामा एक त पर्याप्त पानी दिन नसकिएको र दिएको पनि हिलो र धमिलो हुने गरेको कार्कीले बताउनुभयो। पछिल्लो समय केयूकेएलले पानी शुद्धीकरणमा जोड दिँदै स्टीकर राख्ने निर्णय गरेको छ।

पहिलो चरणमा केयूकेएलले वितरण गर्दै आएको ८ वटा ट्याङ्करमा निलो स्टीकर राखेर शुद्ध पानी वितरण कार्य विगत २ महिनादेखि शुरू भएको पनि उहाँले बताउनुभयो।

राष्ट्रिय खानेपानी मापदण्ड २०६२ मा २७ वटा सम्म परीक्षण हुनुपर्ने उल्लेख गरिएको छ। जसमा जीवाणुरहित फिजियो केमिकल प्यारामिटर र ब्याक्टेरियोलोजी केमिकलरहित पानी मात्र खान योग्य शुद्ध पानी भन्ने परिभाषा गरिएको छ। यसैलाई आधार मानी विगत ३ महिनादेखि केयूकेएलले पानीको मुहान तथा नमुना परीक्षण गरी पिउन योग्य पानीलाई निलो स्टीकर, घरायसी प्रयोजन उमालेर मात्र खान हुनेलाई हरियो स्टीकर र निर्माण तथा सरसफाइमा मात्र प्रयोग गर्न मिल्नेलाई पहेंलो स्टीकर दिएर वितरण गर्ने अभ्यास शुरू गरिएको कार्कीले बताउनुभयो।

यसरी पानी वितरण गर्दा अनुगमन र निरीक्षण कडाइका साथ गर्नुपर्ने हुन्छ। नमुना परीक्षण एउटा मुहानको गराएर वितरण अन्तैको गर्न सक्ने सम्भावना अत्यन्तै बढी भएकाले ट्याङ्कर र जारमा वितरण हुँदै आएको पानीको अनुगमन र निरीक्षणमा जोड दिनुपर्ने पनि उहाँले बताउनुभयो।

केयूकेएलले मात्र उपत्यकालाई पानी वितरण गर्न पानीको स्रोत र उपकरण तथा जनशक्ति नभएको खुलासा गर्दै ट्याङ्करको पानी र जारको पानी भण्डारण गर्ने उपभोक्ताको तरिका पनि गलत भएकाले उपत्यकाको हरेक पानीमा शुद्धीकरण नभएको कार्की दाबी गर्नुहुन्छ।

उपत्यकाको पानी परीक्षणमा काम गर्दै आएका वातावरण र जनस्वास्थ्य नामक संस्थाका बुद्ध वज्राचार्यका अनुसार ललितपुर, भक्तपुर र काठमाडौंमा गतवर्ष हैजा फैलिएको क्षेत्रका १ हजार ३ सय घरपरिवारमा पिएभ्यालु टेस्ट मोबाइल क्याम्पमा गरेको नमुना परीक्षणमा ७० प्रतिशतभन्दा बढी घरमा प्रयोग गरिएको पानी दूषित पाइएको छ।

यो जनस्वास्थ्यका लागि निकै ठूलो चुनौतीको विषय हो। कीर्तिपुरका हेल्थ असिस्टेन्ट राजीव महतोका अनुसार उपत्यकाका १७ वटा अस्पतालमा हालै गरिएको एकदिनको सर्वेमा २५ जनाभन्दा बढी झाडापखाला, आउँ, टाइफाइड र जन्डिसका बिरामी फेला परेका छन्। नेपालमा जेठ महिनामा मात्र २ हजारको हाराहारीमा झाडापखालाका बिरामी फेला परेको उहाँले बताउनुभयो।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख महेन्द्र श्रेष्ठले यतिका बिरामी युरोप अमेरिकामा फेला परेका भए महामारी हुन्थ्यो तर नेपालमा सामान्य मान्नुपर्ने अवस्था छ भन्नुभयो। महामारी सबैको शत्रु हो भन्ने विषयमा जनचेतना जगाई पिउने पानी पियूष राखेर या उमालेर शुद्धीकरण गरेर खानका लागि जनचेतना फैलाउनु आवश्यक रहेको उहाँले बताउनुभयो। जनचेतना अभावकै कारण नेपालमा थुप्रै खाले नयाँ रोग भित्रिँदै गरेको पनि उहाँले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्