मालपोतका हाकिम काम छोडेर हिँडे, अदालतको आदेशको अवज्ञा



 

मोतीराम तिमल्सिना, काभ्रेकाभ्रेपलाञ्चोक जिल्ला अदालतले दिएको आदेश मालपोत कार्यालय काभ्रेले अटेर गर्दै नागरिकलाई दुःख दिएको छ। प्रधानमन्त्री कार्यालय र भूमि सुधार कार्यालयका मन्त्रालयका सचिवहरूले टेलिफोन गरी मालपोत कार्यालय काभ्रेका प्रमुख टंकप्रसाद उपाध्यायलाई अदालतको आदेश कार्यान्वयन नगर्न दबाब दिएपछि सेवाग्रहीहरू मानहानीको मुद्दा दर्ता गर्ने तयारीमा जुटेका छन्। त्यही दबाबका कारण मालपोत कार्यालय काभ्रेका प्रमुख विदामा बसेका छन्। उनी कार्यालयका निमित्त जयन्तकुमार भट्टराईलाई दिएर एक महिना भन्दा लामो विदामा बसेका हुन्।

सेवाग्राहीले अदालतको आदेशअनुसार राजश्वसमेत बुझाएर लालपुर्जा प्राप्त गर्न बाँकी रहेको अवस्थामा प्रधानमन्त्री कार्यालयबाट टेलिफोन गरी सबै फाइल झिकाइएको छ। जिल्ला अदालत काभ्रेपलाञ्चोकका न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलाशले पनौती नगरपालिका ८ बस्ने पदमलाल पराजुलीको नाममा रहेको लिखत बदर र निर्णय बदर हक कायम मुद्दामा जिल्ला अदालतको मिति २०७० फागुन २१ गतेको फैसलालाई शुरु सदर हुने गरी तत्कालिन पुनरावेदन अदालत पाटनबाट २०७२ माघ ११ मा भएको फैसला बमोजिम सावित्री गौतमको नामबाट मालपोत कार्यालय काभ्रेमा २०६८ असोज ८ गते रनं ९९९ मार्फत पारित भई टेकबहादुर तिमल्सिनाको नाउँमा कायम भएको कित्ता नम्वर २९६ को जग्गाको राजीनामा लिखत बदर भई बादी पदमलाल पराजुलीका नाममा दर्ता हुने ठहरेबमोजिम उक्त फैसला कार्यान्वयन गर्नु अगावै टेकबहादुर तिमल्सिनाबाट २०७३ वैशाख २७ मा समिता कार्कीको नाउँमा दर्ता गराएका थिए।

अदालतले नियमावली ७८ क बमोजिम तथा ने.का.प २०४९ को भाग २ पृष्ठ २०० कोृ नि.न. ४४८३, ने.का.प. २०६९ को भाग ६ पृष्ठ ९६९ को नि.न. ८८४८ तथा जिल्ला अदालत नियमावली २०५२ को नियम ८० क र ने.का.प २०५५ को भाग १३ पृष्ठ ६६९ को नि.न. ६६३५ बमोजिम प्रतिपादित नजिर र कानुनलाई समेत मध्यनजर गर्दै फैसला कार्यान्वयन अगावै सावित्री गोतामेको नाउँबाट रन ९९९ मिति २०६८⁄६⁄८ को मालपोत कार्यालय काभ्रेको राजीनामा पारित लिखतले टेकबहादुर तिमल्सिनाको नाउमा कायम भई टेकबहादुर तिमल्सिनाबाट २०७३⁄१⁄७ मा रन. ४२१९ ग बाट राजीनामा पारित भई हाल समिता कार्कीको नाउँमा दर्ता कायम रहेको जग्गाको लिखत बदर हुने ठहर गरेको छ।
फैसलाबमोजिम बादी पदमलाल पराजुलीका नाममा दर्ता हुने ठहरेको मितिभन्दा पछाडिका रोक्काहरू समेत फुकुवा गरी बादीका नाममा दर्ता गरिदिन मालपोत कार्यालय काभ्रेमा लेखि फैसला कार्यान्वयन गर्न आदेश भएको छ। २०७४ साल असार १६ गते भएको उक्त आदेशको कार्यान्वयन शुरु भएलगत्तै मालपोत कार्यालय काभ्रेमा प्रमुख उपाध्यायलाई प्रधानमन्त्री कार्यालयबाट सचिवले फोन गरी तत्काल उक्त आदेश कार्यान्वयन नगर्न आदेश दिएका थिए। टेकबहादुर तिमल्सिनाले समिता कार्कीलाई बिक्री गरेको जग्गा नयाँ बानेश्वरमा शाखा रहेको सिटिजन्स बैक इन्टरनेसनलमा राखिएको छ। ३ रोपनी ३ आना १ पैसा ३ दामको जग्गा १६ सय ३५.२ वर्गमिटर रहेको छ। समिताले उक्त जग्गाबाट ५ करोड ५० लाख ऋण माग गरेकोमा धितोअनुसार ६० लाख ऋण लिएकी छिन्। जग्गा पराजुलीकै नाममा पुगेपछि धितो खारेज हुने भएको छ। ६० लाख ऋण लिएकी समिता पनि फसेकी छिन्। बैंक पनि डुबेको छ। बैंक डुब्दा सर्वसाधारणको पैसा पनि डुब्ने भएको छ। समिता कार्किका तर्फबाट अहिले विभिन्न स्थानमा दबाब दिने काम शुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्