कार्यालय ठप्प पारी भ्रमणमा



 

सञ्जय कार्की, गौर, रौतहट
डिभिजन सहकारी कार्यालय रौतहटका अधिकांश कर्मचारी नियमित कामकाज ठप्प पारेर भ्रमणमा निस्केका छन्। सहकारी संस्थाको अवलोकन भ्रमण भन्दै कार्यालय प्रमुख गोपाल बरालसहित अधिकांश कर्मचारी जिल्लाबाहिर भ्रमणमा निस्केका हुन्।

उता कार्यालय प्रमुख नहँुदा सेवाग्राहीको काम प्रभावित भएको छ। विनियोजित योजनाको बजेट सक्ने नाममा अनुत्पादक खर्च गर्ने परिपाटीको अन्त्य हुन नसक्दा डिभिजन सहकारी कार्यालयको काम प्रभावकारी हुन सकेको छैन। जिल्लामा वर्षौंदेखि लेखा परीक्षण र साधारणसभा नगर्ने सहकारी संस्थाका सदस्यलाई समेत भ्रमण गराइएको भन्दै कार्यालय प्रमुख गोपाल बरालको आलोचना भएको छ। सहकारीको सदस्य बने पनि सहकारीको ज्ञान नभएकाले समेत भ्रमण गराइएको आरोप रहेको छ।

कार्यालय प्रमुखले आफू निकट केही सहकारी संस्थाका प्रतिनिधिहरूसहित सहकारीको अवलोकन भ्रमण भन्दै निस्के पनि उनीहरूले धार्मिक यात्रा गरेको खुलेको छ। आर्थिक वर्ष सकिन लाग्दा बजेट फ्रिज हुन नदिन उनीहरू भ्रमणमा निस्केको आरोप दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण अधिकारीले लगाउनुभएको छ। भ्रमण गर्ने अनुपयुक्त समय रहँदारहँदै पनि राज्यको ढुकुटी सक्नकै लागि भ्रमण गर्नु दुःखद रहेको उहाँले बताउनुभयो। सहकारी संस्थाको तीनदिने अवलोकल भ्रमणमा निस्केका टोली नवलपरासीका शाश्वतधाम, लुम्बिनीलगायतका स्थानमा दर्शन गर्न गएको एक सहभागीले बताए। सहकारी कार्यालयले राज्यको ९० हजार खर्चेको बताइएको छ।

बजेटको लक्ष्य र उद्देश्यविपरीत डिभिजन सहकारी कार्यालयले अवलोकनको नाममा खर्च गरेको भन्दै आलोचना गरिएको छ। जिल्लाको सहकारी संस्थाको दक्षता बढाउनुको बदला आफू निकट व्यक्तिलाई मनोरञ्जन हुने हेतुले अवलोकन भ्रमण गराइएको आरोप अधिकारीले लगाउनुभयो। पेस्की रकम लिएर भ्रमण गराइए पनि डिभिजन सहकारी कार्यालय रौतहटले आर्थिक वर्षको अन्तिम दिन आइतबार बिल फछ्र्यौट गर्ने स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्