रसियासँग एकसय टनको अन्तरमहादेशीय क्षेप्यास्त्र



 

मस्को, (एजेन्सी)
रसिया युद्धमा प्रयोग हुने दुईवटा निकै खतरानाक हतियार तयारी स्थितिमा रहेको छ। एकसय टन वजनको उक्त ब्यालेस्टिक क्षेप्यास्त्रले थुप्रै राष्ट्रलाई ध्वस्त बनाउन सक्छ। रसियाको कम्युनिस्ट पार्टीको मुखपत्र प्राभ्दाले रसियाले यस्ता छवटा क्षेप्यास्त्र बोक्न र प्रहार गर्न सक्ने एउटा ट्रेनको पनि निर्माण गर्ने सोच बनाएको जनाएको छ।

रुसी उपप्रधानमन्त्री दिमित्री रोगोजिनले राष्ट्रको हातहतियार योजनाअन्तर्गत तिनीहरूको निर्माण हुन लागेको प्राभ्दालाई बताएका छन्। एकसय टनको आरएस–सार्मात आणविक क्षेप्यास्त्र अर्थात् उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले ‘सटान २’ नाम दिइएको यस क्षेप्यास्त्रले १० वटा भन्दा बढी आणविक हतियार बोक्ने र एकै प्रहारमा फ्रान्सजस्तो राष्ट्रलाई सखाप पार्न सक्ने अमेरिकी पत्रिका न्युज विकले जनाएको छ।

सत्तरीको दशकमा रसियाले बनाएको आरएस–३६ एमको यो विकसित संस्करण हो। त्यसलाई नेटोले सटान भन्ने गर्दथ्यो। तर यस क्षेप्यास्त्रको निर्माण कार्य सन् २०१४ देखि स्थगित गर्दै आएको छ। रुसी रक्षा मन्त्रालयले सन् २०१७ को उत्तरार्धसम्म यस क्षेप्यास्त्र परीक्षण नगरिने गत साता जनाएको छ।

सो क्षेप्यास्त्र बोक्ने बार्गुजिन नामक ट्रेन अन्य यात्रुवाहक ट्रेन जस्तै हुनेछ। यसले एक दिनमा १ हजार ५ सय माइल दूरी तय गर्न सक्ने बताइएको छ। रसियाले उक्त आईसीबीएम क्षेप्यास्त्र बागुर्जिन ट्रेनबाट सन् २०१९ मा परीक्षण गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्