दैनिक १० लाख सवारी साधन चढेर २५ लाख मानिसको ओहोरदोहोर, राजधानीमा जामैजाम



 

ट्राफिक प्रहरी भन्छ– मुग्लिन–नारायणगढमा आएको पहिरोका कारण केही दिन  यता राजधानीमा अचाक्ली जाम हुन थालेको हो।

सुरेश तामाङ, काठमाडौं
उपत्यकाबासीलाई काठमाडौंका सडकमा टेक्नेबित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ। केही दिनयता यो क्रम अचाक्ली बढेको छ। आखिर किन होला? काम विशेषले आफ्नो घरबाट निस्कनु पर्दा पुग्नुपर्ने समयभन्दा १ देखि ३ घण्टा अगावै हिँड्नुपर्ने बाध्यता हुन थालेको छ।
उपत्यकामा बढेको सवारी चाप, साँघुरो सडकको मर्मत तथा विस्तारलगायतका कारण यहाँ यात्रा गर्ने आम मानिसले ट्राफिक जामको हैरानी खेपिरहेका छन्।

‘पछिल्लो समय मुग्लिन–नारायणगढमा आएको पहिरोका कारण बनेको परिस्थितिले गर्दा उपत्यकाका विभिन्न स्थानमा जाम देखिएको हो।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिङ्मार लामाले बुधबार नेपाल समाचारपत्रसँग कुरा गर्दै भन्नुभयो– ‘पहिरो लडेर मुग्लिन–नारायणगढ सडक खण्ड अबरुद्ध भएपछि साना सवारीहरू बीपी राजमार्ग र बल्खु–दक्षिणकाली हुँदै आवतजावत गर्दा उपत्यकामा सवारी चाप उत्पन्न भई जाम देखिएको हो।’

मुग्लिन–नारायणगढ सडक अवरुद्ध भएपछि बीपी राजमार्ग हुँदै दैनिकजसो १४ हजार साना सवारीसाधन ओहोरदोहोर गर्छन्। त्यस्तै उपत्यकामा सवारी चाप अत्यधिक वृद्धिका कारण दिनभर जसो ट्राफिक जाम हुने गरेको छ। महाशाखाको तथ्यांकअनुसार पछिल्लो समय उपत्यकामा ३० प्रतिशत सवारी साधन थपिएका छन्।

सवारीसाधन बढेसँगै सडक सञ्जालको व्यवस्थापन चुस्त गतिमा नहुँदा समस्या निम्तिएको उहाँको बुझाइ छ।

उपत्यकामा सवारी चापलाई न्यूनीकरण गर्न भन्दै उपत्यकाका विभिन्न सडकहरूमा एकतर्फी मात्रै सवारी गुडाउनुपर्ने, दायाँ मोड्न निषेध, एउटै मात्र बसपार्कको व्यवस्था गरी लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीको आगमन र प्रस्थान सोही बसपार्कसम्म मात्र सीमित पार्ने, चक्रपथको हरियाली क्षेत्रमा सवारी पार्किङमा निषेध गर्ने र मालवाहक सवारीहरू ट्रक, मिनिट्रक र ट्रिपरलाई कार्यालय समयमा उपत्यका निषेधलगायतका नियम लगाउने निर्णय गरेको केही हप्ता मात्रै भएको छ।

तर उपत्यकामा सवारी चापका कारण सडक जाममा कमी आएको छैन। विशेष गरी कार्यालय समयमा मात्रै जाम हुने उपत्यकाका मुख्य सडकहरू केही समययता भने दिनभरि जाम भइरहेको छ।

चक्रपथका मुख्य⁄मुख्य चोकसहित उपत्यकाका भित्री मुख्य सडकका चोकहरू कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, माइतीघर, सिंहदरबार, केशरमहल, दरबारमार्गलगायतका सडकहरू हुँदै चल्ने सवारीसाधन जाममा पर्ने गरेका छन्। त्यो जाम २० मिनेटदेखि घण्टौंसम्म रहिरहँदा आम मानिस हैरानीमा छन्। र काम विशेषले हिँडेका आम मानिसहरू निर्धारित समयमै तोकिएको स्थानमा जान नपाउँदा चिन्तित छन्।
एक साताअघि गरेको केही निर्णयहरू ‘एक्टिभ’ भइसकेको भन्दै महाशाखा प्रमुख लामाले भन्नुभयो– ‘चक्रपथको हरियाली क्षेत्रमा सवारी पार्किङ गर्न नपाउने नियम २५ गतेदेखि लागू भइसकेको छ।’

एकतर्फी गुडाउनुपर्ने र दायाँ मोड्न नपाउने नियम भने सडक विभागले संकेत बोर्डहरू राखेको १ हप्तामा लागू गर्ने बताउँदै उहाँले भन्नुभयो– ‘बोर्ड राखेको १ हप्तासम्म सम्झाइबुझाई हुन्छ। त्यो बेला कारबाही हुँदैन। हप्ता दिनपछि भने कारबाही गर्छौं।’ यी नियमहरू पूर्णरूपमा लागू भएपछि उपत्यकाको सवारी चापले गर्दा देखिने सडक जाममा न्यूनीकरण हुने उहाँले दाबी गर्नुभयो।

उपत्यकामा मात्रै दैनिक साना ठूला गरी १० लाखको हाराहारीमा सवारी साधन गुड्छन्। ट्राफिक व्यवस्थापन गर्न भन्दै उपत्यकामा मात्रै १ हजार २ सय ट्राफिक प्रहरी परिचालित छन् भने फुटपाथको व्यवस्थापनका लागि ७ वटा घोडासहितको ट्राफिक प्रहरी परिचालन भएको महाशाखाले जनाएको छ।

उपत्यकामा ५० लाख जना बसोबास गरेको अनुमान गरिएको छ भने झन्डै १५ देखि २५ लाखको हाराहारीमा मानिस दैनिक रूपमा काठमाडौंमा काम विशेषले आवतजावत गर्छन्।

 

प्रतिक्रिया दिनुहोस्