धुलिखेललाई ग्रिन र स्मार्ट सिटी बनाइँदै



 

मोतीराम तिमल्सिना, काभ्रे
ह्ल खचाखच हुँदै थियो। सभासद्हरू राष्ट्रिय पोशाकमा आसन ग्रहण गरिरहँदा विशिष्ट अतिथिहरू आफ्नो सिट खोज्दै थिए। पत्रकार र अन्य विषयगत कार्यालय, सामाजिक संघ संस्थाका प्रतिनिधिहरू आसन ग्रहण गरिरहँदा राष्ट्रिय पोशाकमा सजिएका धुलिखेल नगरका प्रमुखले प्रथम नगर सभा शुरू भएको औपचारिक जानकारी गराए।

लगत्तै राष्ट्रिय गान, शहीदहरूलाई सम्झँदै मौन धारणपछि उपप्रमुख विमला शर्माले स्वागत मन्तव्य राखे लगत्तै नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेल नगरपालिकाको प्रथम नगर सभामा आर्थिक वर्ष २०७४⁄२०७५ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका थिए। सिंहदरबारमा रहेको संसद्जस्तै धुलिखेल नगरको पहिलो सभा सञ्चालन र सभामा प्रस्तुत कार्यक्रमका बारेमा सबैले स्थानीय तहको सरकार घर आँगनमै भएको टिप्पणी गरे। धुलिखेल नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष हर्कबहादुर तामाङले गाउँ र नगर परिषद्भन्दा विल्कुल फरक रहेको यो नगर सभा अगावै टोल टोलमा र वडा वडामा ब्यापक छलफल पछि प्रस्तुत भएका कार्यक्रमहरूले सि·ो नगरलाई नेपालमै नमुना बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिए।

झण्डै एक घण्टा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका नगर प्रमुख ब्याञ्जुको प्रस्तुती लगत्तै कार्यकारी अधिकृत एवं नगर सभाका सदस्य सचिव महेश बरालले धन्यवाद दिए लगत्तै प्रमुख ब्याञ्जुले आगामी २८ गते बुधबार दिउँसो १ बजेसम्मका लागि नगर सभा स्थगित भएको जानकारी गराएका थिए। सभामा धुलिखेलका लागि आव २०७४⁄२०७५ का लागि कूल आय निर्धारण गर्दा आन्तरिक आय ५ करोड ८१ लाख राजश्व बाँडफाँडबाट एक करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट १७ करोड २२ लाख, सशर्त अनुदान १२ करोड ९० लाख, नगर विकास कोषको ऋण रकम २ करोढ, अन्तर्राष्ट्रिय सहयोग २ करोड, सकड बोर्डबाट आउने सडक मर्मत खर्च ६५ लाख, बैक मौज्दात ४८ लाख गरी ४२ करोड ६६ लाखको बजेट सिमा तयार भएको छ। सशर्त अनुदानको रकमबाट सञ्चालन गरिने कृयाकलापमध्ये चालु तथा पूँजीगत तर्फका कार्यक्रम एकिन गर्न अझै नसकिएकाले कुल बजेटमा चालु खर्च तथा पुँजीगत खर्चको हिस्सा एकिन रूपमा देखाउन नसकिएको प्रमुख ब्याञ्जुले सभामा जानकारी गराएका थिए।

प्रमुख ब्याञ्जुले सभामा राजश्ज परिचालन सम्बन्धी नीतिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारतर्फका नीतिहरू, भवन निर्माण, नक्सा पास तथा भूमी व्यवस्थापनसम्बन्धी नीतिहरू, सेवा प्रवाह, संस्थागत विकास तथा सुशासनसँग सम्बन्धित नीतिहरू, सामाजिक क्षेत्र विकासका नीतिहरू, स्थानीय आर्थिक विकाससँग केन्द्रित नीति तथा कार्यक्रमहरू, फोहोरमैला व्यवस्थापन, वातावरण तथा प्रकोप व्यवस्थापन क्षेत्रका नीति तथा कार्यक्रमहरू, पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

सभामा नगर प्रमुख ब्याञ्जुले नेपालको संविधान २०७२ले स्थानीय तहलाई दिएका महत्वपूर्ण राजश्व परिचालनका शीर्षकहरूबाट परिचालित रकमको के कति अंश नगरपालिकाले पाउने हो एकिन नभएकाले वार्षिक बजेटको सिमा निर्धारणमा अलमल भएको बताए। नगरपालिकाहरूले विगतमा उठाएको बहाल कर त्यसै अनुपातमा मात्रै नगरपालिकाले प्राप्त गर्ने, यसै गरी सवारी साधन कर विगतकै जस्तो असुली गर्ने तथा रजिस्टसन वापतको रकम विगतकै अनुपातमा बाँडफाँड गर्ने हो भने नगरपालिकाको स्वायत्तता व्यवहारमा कार्यान्वयन गर्न नसकिने बजेट, नीति तथा कार्यक्रममार्फत नगर प्रमुख ब्याञ्जुले नेपाल सरकार तथा व्यवस्थापिका संसदको ध्यानाकर्षण गराएका छन्। तीनवटै करको बाँडफाँड गर्दा ५० प्रतिशत स्थानीय तहमै रहनु पर्ने स्पष्ट व्यवस्था गर्न ब्याञ्जुले माग गरेका छन्।

प्रमुख ब्याञ्जुले ८ वर्षदेखि सञ्चालनमा रहेको काभ्रे उपत्यका खानेपानी परियोजनालाई आगामी वर्षभित्रै सम्पन्न गर्न तिर्नुपर्ने रकम ५० लाख भूक्तानी गर्न र आगामी आर्थिक वर्षका लागि एक करोड ५० लाख विनियोजन गरेका छन्। साना योजना सञ्चालन गर्न वडाबाट नै खर्च गर्न गरै ५⁄५ लाखका योजना प्रस्ताव गरिएको छ भने प्राथमिकता तोकेका क्षेत्रमा कुनै हेरफेर नगरी प्रति वडा २० लाख रकम विनियोजन गरिएको छ। विकासलाई समानुपातिक, समन्यायिक तथा सन्तुलित बनाउन प्रत्येक वडामा कम्तिमा ६० लाखको योजना तथा कार्यक्रमहरू पर्ने बजेट बाँडफाँड गरिएको छ। नगर सभामा ग्रिन सिटी, स्मार्ट सिटी, धुलिखेलसम्म ६ लेनको सडक, साझा बस सञ्चालन जस्तो महत्वपूर्ण र दुरगामी प्रभावका कार्यक्रमहरू प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पर्यटनमा विशेष जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्