तातोपनिमा डुबेकी बालिकालाई आर्थिक सहयोग



काठमाडौं (नेस) ।
तातो पानीले पोलेको उपचाररत महाभारत–८, घर्तिछाप मैना डाँडाकी साँढे दुई वर्षिया अस्मिता मोक्तानलाई विभिन्न देशमा वैदेशिक रोजगारीमा रहेका घर्तिछापवासीहरुले संकलन गरेको रकम १ लाख २१ हजार ३ सय रुपैयाँ सहयोग स्वरुप उपलब्ध गराएका छन् ।

आर्थिक अवस्था निकै कमजोर रहेका पिडीतका बाबु देवराज मोक्तानलाई संकलित सहयोग रकम उनी उपचाररत किर्तिपुर अस्पतालमा नै पुगेर अस्मिता बचाउ अभियानका संयोजक अमर मगर (रिजन) ले हस्तान्तरण गरेका हुन् । सहयोग गरिएको उक्त रकम घर्तिछाप स्थायी घर भै भारतमा रोजगारीमा रहेका भरत मगरले संकलन गरेको ५० हजार रुपैयाँ र मलेसियामा रहेका घर्तिछाप कै दुर्गा तामाङले संकलन गरेको ७१ हजर तीन सय रुपैयाँ अभियानका संयोजक मगरले हस्तान्तरण गरेका थिए ।

देवराज तथा निरुता मोक्तानका छोरी साँढे दुई वर्षिय अस्मिता असार ११ गते खेल्ने क्रममा तातीरहेको पानीमा डुब्न पुगेकी थिइन् । असार १२ गते देखि किर्तिपुर अस्पतालमा उपचार गराइरहेका छन् । हालसम्म साँढे दुई लाख उपचारमा खर्च र्भसकेको बाबु देवराजले बताए । महँगो उपचार खर्च थेग्न गाह्रो भए पछि उनले सहयोगको लागि हात फैलाएको देवराजले बताए । हालसम्म साथिभाइहरुले २५ हजार र पछिल्लो सहयोग १ लाख २१ हजार ३ सय सहयोग आफूले पाएको बताए ।

दिन कै औषधिहरुमा मात्र २५ हजारको हाराहारीमा खर्च भैरहेको र प्रत्येक पाँच दिनमा अपरेशन गर्दा ३७ हजार खर्च गर्दै आएको बताउने देवराज महँगो उपचारखर्च धान्न धौ धौ भएकोले सहयोगी हातहरुलाई सहयोगको याचना गर्दछन् । उनी भन्छन्–‘सहयोगी हातहरुको सहयोग बिना छोरीको उपचार गर्न सक्दिन । त्यसैले छारीको ज्यान बचाइदिनको लागि सबैमा अनुरोध गर्न चाहन्छु ।’ सामान्य खेती किसानी गरेर जिविकोपार्जन गरिरहेका उनलाई सहयोग जुटाउन अस्मिता बचाउ अभियान चलाइएको संयोजक अमरले बताए ।

प्रतिक्रिया दिनुहोस्