नारायणी उपक्षेत्रीय अस्पताल–दुईचार जनाको कमाईखाने भाँडो, स्वास्थ्य मन्त्रालयबाट आएको ८५ लाख तीन दिनमा सके



कृष्णउदास खनाल, वीरगञ्ज । २०४२ सालमा महेन्द्र आरोग्य केन्द्र हुदै नारायणी उपक्षेत्रीय अस्पतालमा परिणत भएको वीरगन्जको छपकैंयामा रहेको नारायणी उपक्षेत्रीय अस्पताल बिरामीको सेवा गर्ने निकाय नभइ कमाउने थलोको रुपमा बिकसित हुन थालेको छ ।

पछिल्लो राजनीतिक गतिबिधिको प्रत्यक्ष मारमा परेको नारायणी अस्पतालमा बिरामीले पाउने सेवा भन्दापनि अस्पतालमा आउने बिभिन्न प्रकारका रकमको चलखेल हुने गरेको अस्पतालका कर्मचारीहरुले नै बताएका छन् । नाम कमाएका र ख्याती प्राप्त वीरगन्ज बाहिरका चिकित्सकहरुलाई कथित भूमिगतको नाउमा आतंक सृजना गरिएपछि करिब एक दशकदेखि यस अस्पतालमा बिशेषज्ञ राम्रा चिकित्सकहरुको अभाव देखिएको वीरगन्जको नारायणी अस्पतालको बिषयमा अध्ययन गर्दैै आइरहेका समाजसेवी युवा कमल चौगाईले बताए ।

उनले अस्पताल सुधार गर्ने र बिरामीहरुको सेवा गर्ने भावना भन्दापनि अस्पताललाई दुहुनो गाई बनाउने खेल बढी भइरहेको भन्दै चिन्ता जनाए ।

उनका अनुसार अस्पताल दिनप्रतिदिन बिग्रदै गइरहेको छ । अस्पतालका स्वास्थ्यकर्मीहरु राजनीतिक संरक्षणमा रहेका कारण कुनै गलत कार्य गरेपछि छुट्ने गरेको पाइएको छ । केही बर्ष अगाडि मात्रै अस्पतालको स्टोर शाखाको सामान चोरीको अभियोगमा एकजना स्वास्थ्यकर्मी पक्राउ परेको भएपनि कर्मचारीहरुको आन्दोलनका कारण प्रहरीले पक्राउ परेका स्वास्थ्यकर्मीलाई छाड्न बाध्य भएको थियो ।

अस्पतालमा कहिले चोरीको अरोपमा बबण्डर त कहिले अस्पताल हाताभित्र संचालित फार्मेसीको बिषयमा चर्को विवाद हुने गरेको छ ।अस्पताल भित्र संचालन भइरहेको फार्मेसीमा पनि राजनीतिक संरक्षणका आधारमा बढी चलखेल हुने गरेको पाइएको हो । यसपाली पनि अस्पतालले नै संचालन गरेको फार्मेसी बन्द गरी नीजि क्षेत्रबाट संचालित फार्मेसीलाई प्रोत्साहन गर्ने खालको खेल शुरु भएको अस्पतालका कर्मचारीहरुले नै बताएका छन् तर अस्पतालका मेसु डा.चित्ररंजन साहले भने अस्पतालको फार्मेसी यथावत राख्दै अन्य फार्मेसी संचालन गर्न दिइने बताए ।

यसैबीच पछिल्लो पटक सार्वजनिक समाचार अनुसार जन स्वास्थ्य मन्त्रालयले नाउक्षे अस्पतालको लागि पठाएको रु ८५ लाख तीन दिनमा सकिएको छ ।    रङ्गरोगन, मरम्मत, सामान खरिदमा रकम सिध्याइएको हो । स्पतालमा केही महिना पहिले भएको पेन्टमाथि पुनः पेन्ट लगाएर काम नलाग्ने घर, भवनमा समेत रङ्गरोगन भइरहेको देखिन्छ ।
नाउक्षे अस्पताललाई मन्त्रालयले कार्यादेश केही महिना अघि पठाए पनि रकम तीन दिन अघि पठाएकोले टेन्डर प्रक्रिया झन्झटिलो भएको कारण कोटेशनमा दिइएको निमित्त मेसु चित्ररञ्जन साहले बताएका छन् । यद्यपी यो टेण्डर प्रकृयाबाट मात्रै कार्य संचालन गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्