म्याग्दीमा टिम्मुर खेतीको उत्पादन बढ्दै



प्रताप बानियाँ, म्याग्दी । मध्य पहाडी जिल्ला म्याग्दीमा पछिल्लो समय टिम्मुरको उत्पादन बढ्दै जान थालेको छ । जिल्लाको बेनी नगरपालिका–९ तोरिपानीमा व्यावसायिक रुपमा टिम्मुर खेती गरिएको छ । अहिले तोरीपानीबाट वार्षिक २ हजार केजी टिम्मुर निर्यात हुने गरेको छ ।

पछिल्लो समय स्वदेश तथा विदेशबाट समेत टिम्मुरको माग हुन थालेपछि टिम्मुर खेतीमा कृषकको आकर्षण बढेको छ । तोरिपानीका कृषकहरुले एकल तथा सामूहिक प्रयासबाट लगाएको टिम्मुर खेतीबाट वार्षिक झण्डै ३० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । खेत तथा बारी, खाली जग्गा, पाखो र सामुदायिक वनमा फलेको टिम्मुरलाई घरायसी प्रयोगका साथै सदरमुकाम बेनीमा बिक्री गर्ने गरिएको छ ।

टिम्मुर बिक्रीबाटै राम्रो कमाई हुन थालेपछि शुरुको चरणमा सीमित व्यक्तिबाट सुरू भएको टिम्मुर खेतीमा अहिले तोरीपानीका १ सय ५० घरधुरी सक्रिय रहेको भुमेसिद्ध टिम्मुर कृषक समूहका अध्यक्ष सागर बानियाँले बताउनुभयो । उहाँका अनुसार प्रतिकेजी १४ देखि १७ सयसम्म टिम्मुर बिक्री भैरहेको छ । आर्थिक अवस्था कमजोर भएकालाई अनुदानमा बिरुवा वितरण गर्ने गरिएको समूहले जनाएको छ । गाउँमा उत्पादन भएको टिम्मुर मुस्ताङ, पोखरा, काठमाण्डौंलगायत देशका विभिन्न जिल्लाका साथै विदेशमा समेत पुग्ने गरेको छ । तोरीपानीमा मात्रै १९ वटा समूह गठन गरी टिम्मुर खेती विस्तार गरिएको अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

सामुदायिक वनमा उत्पादित टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्दै आएका छन् । दलित र एकल महिलालाई सामुदायिक वनमा फलेका टिम्मुर टिप्न छुट दिइएको समूहको भनाई छ । तोरीपानीमा गुमानसिंह बानियाँ र सागर बानियाँले नर्सरी स्थापना गरी वार्षिक ५ हजार रुपैयाँको हाराहारीमा बिरूवाहरु बिक्री वितरण गरेको बताएका छन् ।

जिल्ला वन कार्यालय, म्याग्दी उद्योग वाणिज्य संघलगायतका संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट २५ रुपैयाँमा प्रति बिरूवा बिक्री हुने गरेको छ । गतवर्ष देवीभक्त रिजालले एउटै बोटबाट १८ केजी टिम्मुर उत्पादन गरी ३० हजार आम्दानी गरेको बताउनुभयो । रोजगारको सिलसिलामा विदेश गएका र लामो समयदेखि बाँझो रहेको खेतबारीलाई भाडामा लिएर युवाहरू टिम्मुर खेतीमा सक्रिय हुन थालेका छन् ।

जिल्लाभर वार्षिक करिब ३ हजार केजी टिम्मुर उत्पादनको सम्भावना रहेको टिम्मुर विज्ञ समेत रहेका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाको भनाई छ । नेपाल उद्योग वाणिज्य महासंघको सहयोगमा म्याग्दी जिल्लामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागू गरी विभिन्न गाउँमा १९ हजार ५ सय विरुवासहित प्राविधिक सहयोग गरिएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्