कलेजोमा सफलता



नेपालमा दुईपटक सफल भइसक्यो कलेजोको प्रत्यारोपण

भगवती तिमल्सिना

कलेजो प्रत्यारोपण गर्नु चिकित्सा विज्ञानमै जटिल शल्यक्रिया हो। हालै मात्र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दोस्रोपटक कलेजो प्रत्यारोपण सफल भएको छ। मानव अंग प्रत्यारोपणका क्षेत्रमा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले समन्वय एकाइको मान्यता दिएको केन्द्रले ६ महिनाअघि कोरियाली विशेषज्ञहरूको सहयोगमा नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गरेको थियो। यो दोस्रो कलेजो प्रत्यारोपण केन्द्रले एक साताअघि सफलतापूर्वक काम सम्पन्न गरेको हो।


दोस्रोपटक काठमाडौं लगन निवासी ५७ वर्षीय हीराकाजी महर्जनमा सफल कलेजो प्रत्यारोपण गरिएको हो। बिहान ५ बजेदेखि दिउँसो ४ बजेसम्म ११ घण्टा लामो समय नेपाल र भारतका विशेषज्ञ टोलीहरूको सक्रियतामा प्रत्यारोण कार्य सम्पन्न भएको केन्द्रले जनाएको छ। कलेजो दाता महर्जनकी आफ्नै छोरी रहेको पनि केन्द्रले जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार शल्यक्रियामा भारतका विशेषज्ञसहित १० जना र मानव अंग प्रत्यारोपण केन्द्रका २० जना डाक्टर तथा नर्ससहित ३० जनाको टोलीको सक्रियता रहेको थियो।

कलेजो प्रत्यारोपणका लागि भारतको नयाँ दिल्लीस्थित म्याक्स हेल्थकेयरका निर्देशक कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुभास गुप्तासहित १० जना प्राविधिक टोलीको सहयोगमा प्रत्यारोपण सम्पन्न गरिएको डा. श्रेष्ठले जानकारी गराउनुभयो। यता केन्द्रबाट भने डा. सुबोध अधिकारी, डा. क्षेतेन योञ्जन तामाङ, डा. प्रविन जोशी, डा. आरती राई, डा. किरण अधिकारी, डा. महालक्ष्मी देउजा, डा. दिपेश गुरुवाचार्य, डा. निरज जोशी, डा. सुभास आचार्य, इन्दिरा प्रधान, मेरिना राणा, अनिता कार्की, सृष्टि साह, शर्मिला कोजुलगायतको टोली प्रत्यारोपणमा संलग्न थिए। नेपाली टोलीको नेतृत्व डा. पुकार आफैंले गर्नुभएको थियो।

केन्द्रमा दोस्रोपटक कलेजो प्रत्यारोपणलाई प्रत्यक्ष रूपमा नियालेर आवश्यक सहयोग पुर्याउँदै आउनुभएका अमेरिकाको एटलान्टास्थित पिटमन्थ मेडिकल सेन्टर कलेजो प्रत्यारोपण युनिटका निर्देशक डा. रोशन श्रेष्ठ भन्नुहुन्छ– अंग प्रत्यारोपण नेपाल र अमेरिकामा उस्तै हो तर नेपालमा प्राविधिक रूपमै सुधार गर्नुपर्ने देखिन्छ। कलेजो प्रत्यारोपणपछि महर्जन परिवारलाई पूर्णकालीन रूपमा हेर्दै आउनुभएका डा. श्रेष्ठले कलेजो प्रत्यारोपण जीवित मानिस या बे्रन डेथ भएका मानिसबाट गर्न सकिने बताउनुभयो। यसका लागि नेपालमा भर्खरै अंग दानको कानुन बनेर कार्यान्वयनमा आउन लागेको अवस्थामा धेरै कुराको सुधार र व्यावहारिक प्रयोगमा ल्याउन वातावरण सहज बनाउनु आवश्यक छ।

नेपालबाट हरेक वर्ष ५० जनाभन्दा बढी मानिस कलेजो प्रत्यारोपणका लागि विदेशिनुपर्ने बाध्यता रहेको अवस्थामा नेपालमै यो कार्यको थालनीले आर्थिक रूपमा समेत निकै लाभ मिल्ने र समयमै उपचार दिने कुरामा आफूहरू लागिपरेको डा. पुकार बताउनुहुन्छ। महर्जन परिवारले मानव अंग प्रत्यारोपण केन्द्रमा ४ महिनाअघिदेखि सम्पर्कमा गई सम्पूर्ण परीक्षणपछि बल्ल कलेजो प्रत्यारोपण सफल भएको डा. श्रेष्ठ भन्नुहुन्छ। यति बेला बिरामी र दाता दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको र एक दुई दिनभित्रै डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ।

डा. रोशन भन्नुहुन्छ– बिरामीको कलेजोलाई शल्यक्रियाको माध्यमबाट निकालेर त्यस ठाउँमा स्वस्थ कलेजो राख्ने काम नै कलेजो प्रत्यारोपण हो। मस्तिष्क मृत्युपश्चात दान गरिएको कलेजो बिरामीमा पूरै प्रत्यारोपण गर्न मिल्छ भने जीवित मानिसको कलेजोको केही अंश मात्र शल्यक्रिया गरी बिरामीमा प्रत्यारोपण गरिन्छ।
स्वस्थ व्यक्तिको शरीरबाट कलेजोको सानो भाग निकालेर बिरामीको खराब भएर हटाएको कलेजोको भागमा लगि प्रत्यारोपण गरिन्छ। कलेजो नङ र कपाल जस्तै छिटोछिटो बढ्दै जाने अंग भएकाले थोरै भाग राखिए पनि विस्तारै बढ्दै गएर एक साताभित्र सक्रिय हुन थाल्छ र तिन महिनाभित्र पूर्ण भइसक्ने पनि डा. पुकार बताउनुहुन्छ।

कलेजो निकालेको १० देखि १२ घण्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्ने भएकाले बिरामी, दाता, चिकित्सक तथा उपकरण २४सै घण्टा उपलब्ध हुनुपर्छ। कति बेला ब्रेनडेथको खबर आउँछ, बिरामी कहाँ छ, प्रत्यारोपण समन्वय टोली कहाँ छ भन्ने बारेमा खोज्नुनपर्ने बनाउन सरकारले थप सेवा सुविधा उपलब्ध गराउनुपर्ने राय विगतमा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासमक्ष पेस गरेको केन्द्रले जनाएको छ। पेस गरिएको रायमा ब्रेनडेथका बारेमा खबर गर्ने अस्पताल, ब्रेनडेथ भएको व्यक्तिका परिवारलाई समेत आर्थिक सहयोग गर्ने र सेवामा खट्ने चिकित्सकलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने रहेको डा. श्रेष्ठ बताउनुहुन्छ।

सरकारले केन्द्रलाई समन्वय एकाइको मान्यता दिएको छ तर केही ठूला सरकारी अस्पतालहरूले नै किन खबर गर्ने भन्ने जस्ता अभिव्यक्ति दिनुको पछाडि कुनै लाभ नभएको पाइएकाले पनि खबर गर्ने, दाता र उपचारमा संलग्न टोलीलाई समेट्नु जरुरी भएको डा. श्रेष्ठको ठम्याइ छ। कलेजो प्रत्यारोपणमा मात्र वर्षेनी ७५ करोडको हाराहारीमा बिरामीका साथमा रकम विदेशिन्छ भने मृगौला प्रत्यारोपणमा ६ अर्बको हाराहारीमा बाहिरिँदै आएकोमा नेपालमै मृगौला प्रत्यारोपणपछि १ अर्ब बराबरको रकम बाहिरिनबाट जोगिएको छ। यति मात्र नभई छिमेकी मुलुक भारतलगायतका बिरामीले नेपालमा आई अंग प्रत्यारोपण गराउने कार्य बढ्दै जाँदा स्वास्थ्य पर्यटनमा समेत वृद्धि हुँदै गएको पनि डा. श्रेष्ठ बताउनुहुन्छ।

सबै पक्षको सहयोग र सद्भाव भए केन्द्रमा महिनामा कम्तीमा एक जना बिरामीलाई कलेजो प्रत्यारोपण गर्न सकिन्छ डा. श्रेष्ठ भन्नुहुन्छ। केन्द्रले पहिलोपटक ७ डिसेम्बर २०१६ मा र दोस्रोपटक २ जुनमा कलेजो प्रत्यारोपण कार्यमा सफलता पाएको हो।

नेपालमा कति मानिसको कलेजोको समस्या छ भन्ने बारेमा यकिन तथ्यांक नभए पनि अनुमानित १ हजारको हाराहारीमा रोगीको संख्या हुन सक्ने अनुमान चिकित्सकहरूले लगाएका छन्। छिमेकी मुलुक भारतलगायत अन्य मुलुकमा कलेजो प्रत्यारोपण सेवा अत्यन्तै महँगो झन्डै १ करोडको हाराहारीमा पर्छ। यो सेवा लिनु नेपालीहरूका लागि निकै कठिन अवस्था भइरहेको र यति बेला नेपालमा गरिएका प्रत्यारोपणमा २० लाख रुपियाँको हाराहारीमा खर्च हुने अनुमान गरिएको केन्द्रले जनाएको छ।

गत वर्ष मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावली, २०७३ मन्त्रिपरिषद्बाट पास भएपश्चात नेपालमा कलेजो प्रत्यारोपण गर्न बाटो खुलेको हो। पहिलेको नियमावलीमा प्रत्यारोपणसम्बन्धी नीति तथा नियमको दायरा साँघुरो थियो। नीति तथा नियमको दायरा फरक भएसँगै अब अस्पतालको क्षेत्र पनि विस्तार हुनुका साथै थप उपकरण, जनशक्तिका लागि सरकारले समयमै ध्यान दिनुपर्ने देखिन्छ। यति बेला मानव अंग प्रत्यारोपण केन्द्रले १ सय बेड सञ्चालनमा ल्याएको छ भने ४ वटा अप्रेसन थिएटर र २० वटा मात्र आईसीयू कक्ष छन्। अंग प्रत्यारोपण गरिएका हरेक बिरामी सघन उपचार कक्षमै राख्नुपर्ने अवस्थामा हुन्छन्। यस अस्पतालको साँघुरो घेराभित्र मृगौला प्रत्यारोपणलाई प्राथमिकता दिए कलेजो प्रत्यारोपणले पालो नपाउने जस्ता अति आवश्यकीय सेवाको खाँचो रहेको अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्