दोर्दीमा अझै बनेन पुल



 

नवराज पहाडी, लमजुङ
लमजुङको दोर्दीखोलामा निर्माणाधीन अवस्थामा रहेको नौथर–शेरा जोड्ने मोटरेबल पुल यो वर्ष पनि बनेन। ठेकेदारको लापरबाहीका कारण उक्त पुल विगतको चार वर्षदेखि अलपत्र रहेको छ।

जिल्लाको पूर्वी क्षेत्रको दोर्दी गाउँपालिकाको मुख्य नाकाका रूपमा रहेको नौथर जोड्ने उक्त पुल समयमा नबन्दा स्थानीयबासीले लामो समय अघिदेखि सास्ती खेप्न बाध्य छन्। पुलको निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले काम शुरू गरेर अलपत्र अवस्थामा राख्नाले वर्षाैंसम्म समस्या भएको हो।

झन्डै सात वर्षअघि ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी ५ करोडको लागतमा निर्माण शुरू गरिएको भए पनि आजसम्म पनि पुल यतिबेला अलपत्र अवस्थामा छ। यो सात वर्षको अवधिमा उक्त पुल निर्माणका क्रममा ३ वटा पिलर बनाउनुबाहेक अन्य कुनै पनि कार्य अघि बढ्न नसकेको स्थानीयको गुनासो छ। यो वर्ष केही काम गरेको देखाउन ढलान गर्न भन्दै केही दिन सामान्य काम गरेको देखाए पनि कामले गति लिएन।

पछिल्लो समय थप म्यादसहित २०७० असार मसान्तसम्ममा पुल निर्माणको कार्य सकिनुपर्ने भए पनि अहिलेसम्म पुलको पिलर निर्माणको कार्यबाहेक अन्य केही काम नगरिएको स्थानीय मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले बताउनुभयो। उहाँका अनुसार २०६८ सालदेखि २०७० सम्म ठेकेदार कम्पनी सपना जय बाबा जेभीले १⁄१ वर्षको फरकमा एउटा एउटा खाडल खन्दै पिलर राख्दै आएको र विगत २ वर्षदेखि ठेकेदारले पुल बनाउने कार्यमा सिन्को पनि भाँचेन। चौतर्फी विरोध र गुनासो आएपछि ठेकेदारले आँखामा झारो टार्नकै लागि पाँच–छ जना कामदार ल्याएर राखेको थियो तर काम भने शून्य रहेको स्थानीय दलका नेताहरूसमेत स्वीकार गर्छन्।

उक्त पुल निर्माणका लागि दोर्दी गाउँपालिकाको निर्वाचन सम्पन्न भएलगत्तै नवनिर्वाचित अध्यक्ष उपाध्यक्षको टोली दमौलीस्थित डिभिजन कार्यालयमा गएर दबाब दिने तथा ठेकेदार कम्पनीले बारम्बारको चेतावनीलाई समेत वास्ता नगरेको उपाध्यक्ष घलेले बताउनुभयो। यसबारेमा जिल्ला समन्वय समितिका सम्पर्क गर्दा अब ठेक्का प्रक्रिया नै रद्ध गरेर नयाँ प्रक्रियामा जाने तयारी भएको स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले बताउनुभएको छ।

दोर्दी करिडोरमा मात्र जलविद्युत् क्षेत्रमा निजी क्षेत्रबाट २२ अर्बभन्दा बढी लगानी भएको तर पुल निर्माणले गति नलिँदा वर्षायाममा सबै जलविद्युत् आयोजनाहरूको काम रोक्नुपर्ने बाध्यता सिर्जिएको छ। पूर्वी लमजुङको मुख्य नाकाका रूपमा रहेको सो दोर्दी खोलाको मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको छ।

प्रतिक्रिया दिनुहोस्