शवदाह गृह बन्द,त्यसको बहानामा पशुपति क्षेत्र विकास कोषका ९ जना कर्मचारी कोलकातामा रमझम गर्दै



मधुसूदन रायमाझी, काठमाडौं
पशुपति क्षेत्र विकास कोषले दुई वर्षअघि सञ्चालनमा ल्याएको इलोक्ट्रोनिक शवदाह गृह बन्द भएको छ। मेसिनमा खराबी आएपछि दुवै शवदाह गृह बन्द भएका हुन्।

शवदाह गृह बन्द भएको बहानामा पशुपति क्षेत्र विकास कोषले ९ जनाको टोलीलाई घुम्न भारतको कोलकाता पठाएको छ। पशुपति क्षेत्र विकास कोषले भारतको कोलकातास्थित इन्टोमेन कम्पनीसँग खरिद गरेको मेसिनको तीन वर्ष ग्यारेन्टी रहेको छ। कम्पनीले मर्मतसम्भार गर्नुपर्ने सम्झौता गरेपछि कोषका उपनिर्देशक राजेन्द्रधर उपाध्यायको टोलीमा दश सदस्य त्यसतर्फ प्रस्थान गरेका छन्।

प्राविधिकलाई नेपालमा बोलाएर मेसिनको मर्मत गर्नुपर्ने भए पनि कोषले कर्मचारीलाई खुसी पार्नका लागि मेसिन बिग्रिएको बहानामा भारत भ्रमणमा पठाएको एक कर्मचारीले बताए।

उनले भने– ‘सदस्य सचिवले पशुपति क्षेत्र विकास कोषबाट तलबभत्ता नलिने निर्णय गर्नुभएको थियो, तर अहिले मेसिन बिग्रिएको नाममा कोषलाई व्ययभार पर्ने गरी निर्णय गर्नुभयो।’ कोषको रकम दुरूपयोग भएको भन्दै कोषभित्रकै कर्मचारीले असन्तुष्टि जनाएका छन्।

‘प्राविधिक जाने विषय स्वाभाविक भए पनि विषयसँग असम्बन्धित व्यक्तिहरूलाई पनि पठाइनु कोषको दुरूपयोग हो’ –ती कर्मचारीले भने।

 

– मेसिन बिग्रिएको जानकारी लिनका लागि दर्ता चलानीका मान्छेसमेत पठाइयो।

-सदस्यसचिव गएकै होइनन् भन्छन् भने कार्यकारी निर्देशक गएकै हुन् भन्छन्।

कोलकाता जानेहरूमा वासु केसी, नरबहादुर पुरी, गंगा घिमिरे, रीता जोशी, तेजबहादुर थापा, कुमार थापामगर, भेषराज घिमिरे, कुलप्रसाद उपाध्यक्ष र हरिप्रसाद पौडेल रहेका छन्।

सम्झौताअनुसार मेसिन बिग्रिएको अवस्थामा सम्झौता भएको कम्पनीले नै बनाउने प्रावधान भए पनि कोषले कर्मचारीलाई घुम्न पठाएको छ। कोषका एक कर्मचारीका अनुसार टोलीमा राजेन्द्रराज उपाध्यक्ष प्राविधिक, रीता जोशी प्राविधिक सहयोगीबाहेक सबै कार्यकारी निर्देशक उप्रेतीका नजिकका व्यक्तिहरू हुन्।

भ्रमण टोलीमा जाने सदस्यहरूले डलरमा भत्ता पाउने भएका कारण पनि आफू निकटका व्यक्तिहरूलाई पठाएको बताउँदै स्रोतले भन्यो– ‘पशुपति क्षेत्र विकास कोषमा यति भद्रगोल र अनियमितता छ कि भनि साध्य नै छैन।’

पशुपति क्षेत्र विकास कोषले शवदाह गृह सञ्चालनमा आएपछि के–के सामान चाहिन्छ, कहिले–कहिले मर्मत गर्ने सबै जानकारी भएर पनि शवदाह गृह नै बन्द गरेर भारत जानु गलत भएको भन्दै कोषभित्रै पनि विवाद शुरू भएको छ। ‘कोलकातास्थित कम्पनीले अझै पनि मर्मत गर्ने समयसीमा छ, कोलकाताबाट नै प्राविधिक बोलाएर कोषले मेसिन मर्मत गर्नुको सट्टा जम्बो टोली नै भारत पठाउनु गलत हो’ –कोषका एक कर्मचारीले भने।

कोषले वार्षिकरूपमा मेसिन मर्मत र सामान खरिद गर्नका लागि बजेट छुट्टयाएर सामान खरिद गरेको हुन्छ, तर पनि अहिले अनावश्यक कर्मचारी घुम्न पठाउने काम गरेको भन्दै सदस्य सचिव गोविन्द टण्डनको चर्को आलोचना भएको छ।

दाउराबाट समय धेरै लाग्ने र झन्झटिलो हुने भएकाले कोषले मेसिनसहित झण्डै १३ करोड रुपियाँमा इलेक्टोनिक मेसिन सञ्चालनमा ल्याएको थियो। समय थोरै लाग्ने र शव जलाउन खर्च पनि कम हुने भएकाले पछिल्लो चरणमा मृतकका आफन्तहरूले इलेक्ट्रोनिक शवदाह गृहमा शव जलाउँदै आएका थिए।

कोषले एउटा शव जलाउनका लागि ४ हजार ५ सय रुपियाँ लिँदै आएको छ। मेसिनमा तल्लो भागमा पानी आएर ब्लोर जलेका कारण मेसिन बन्द भएको बताइएको छ। गत वर्ष पनि ब्लोरमा खराबी आएको थियो।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव गोविन्द टण्डनले मेसिनको बारेमा बुझ्न कोषबाट कर्मचारी भारतको कोलकाता नगएको बताउनुभयो। उहाँले  नेपाल समचारपत्रसँग भन्नुभयो– ‘शवदाह गृह मर्मत गर्नुपर्ने भएकाले बन्द भएको छ, मर्मत सम्पन्न गरेर छिट्टै सञ्चालनमा आउँछ।’

तर, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले भने ९ सदस्यीय टोली मेसिनको बारेमा बुझ्न भारतको कोलाकाता गएको जानकारी दिनुभयो। सदस्य–सचिवले गएका होइनन् भने पनि कार्यकारी निर्देशकले भने गएको स्वीकार्नुभएको छ।

५ दिनअघिबाट शवदाह गृह पूर्णरूपमा बन्द भएकाले कोषका कार्यकारी निर्देशक उप्रेतीले बुझ्नका लागि कोषको टोली भारत गएको बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘दुई जना इन्जनियर, एक जना प्राविधिक र एक जना दर्ता चलानीसहित उपनिर्देशकको नेतृत्वमा टोली कोलकाता गएको हो।

सबै कुरा बुझेर असार २९ गते स्वदेश फर्किन्छ।’ कोषले प्राविधिक र इन्जिनियर पठाउनुलाई स्वभाविक मानिए पनि दर्ता चलानी गर्ने व्यक्तिलाई समेत कोलकाता पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस्