राजपाद्वारा दल दर्ताको निवेदन



काठमाडौं, (नेस)
आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दल दर्ताका लागि शुक्रबार निवेदन दिएको छ।

तराई–मधेसलाई आधार बनाएर राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका ६ दलले एकीकृत पार्टीका रूपमा राष्ट्रिय जनता पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।

दल दर्ताका लागि राजपाका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रप्रसाद यादव, अनिल झा, राजकिशोर यादव शुक्रबार ४ः४५ बजे आयोग पुग्नुभएको थियो।

 

आयोगका कामु सचिव महेश्वर न्यौपानेलाई अध्यक्ष मण्डलका सदस्य ठाकुरले दल दर्ताका लागि निवेदन बुझाउनुभएको थियो। तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच गत वैशाख ७ गते एकीकृत भएपछि राजपाको जन्म भएको थियो। राजपाले आफ्नो चुनाव चिह्न छाता प्रस्ताव गरेको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य ठाकुरले दल दर्ताका लागि विधानसहित आवश्यक काजगत पेस गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्