रुकुममा पहिलोपटक संयुक्त लालपूर्जा वितरण



 

रुकुम, २३ असार । जिल्लाको आठबिसकोट नगरपालिकाका एक जोडीले पहिलोपटक संयुक्त जग्गाधनी लालपूर्जा बनाएका छन् ।

घर जग्गामा दुवैको समान अधिकार स्थापित गर्नका लागि आठबिसकोट नगरपालिका–११ का लालवीर कामी र विमला कामीले जिल्ला मालपोत कार्यालयमार्फत संयुक्त जग्गाधनी पूर्जा प्राप्त गरेका हुन् ।

सरकारले केही वर्ष पहिलेदेखि नै संयुक्त जग्गा धनी लालपूर्जाको मान्यता दिए पनि जिल्लामा भने पहिलोपटक श्रीमान्को नाममा भएको जग्गा श्रीमान् र श्रीमतीको नाममा संयुक्त पूर्जा हुने गरी रजिस्टे«सन गरिएको हो । यहाँ पछिल्लो समय महिलाको नाममा जग्गा रजिस्टे«सन गर्नेको सङ्ख्यामा वृद्धि भए पनि अहिलेसम्म कसैले पनि संयुक्त जग्गा धनी पूर्जा नबनाएपनि लालवीर र विमलाले पहिलोपटक संयुक्त पूर्जा बनाएको जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी डिल्ली खड्काले बताउनुभयो ।

सम्पत्तिमा पनि बराबर स्वामित्व बनाउनका लागि आफ्नो नाममा रहेको एक हजार क्षेत्रफल जग्गालाई दुवैको नाममा गराएको लालवीरले बताउनुभयो । युनाइटेड मिसन टु नेपाल रुकुम कलस्टर र नेपाल जनजागरण मञ्चको सहजीकरणमा सञ्चालित खाद्य सुरक्षित उत्थानशील समुदाय निर्माण परियोजनाअन्तर्गत समुदायमा गठन भएका महिला सशक्तीकरण केन्द्रमा भएको छलफलबाट आफ्नो नाममा पनि सम्पत्ति हुनुपर्ने आफूले थाहा पाएको विमलाले बताउनुभयो । आफ्नो नाममा पनि जग्गा हुँदा आफूले साँच्चिकै नयाँ जीवन पाएजस्तो अनुभूति भएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्