टेलिकमको मोवाइल सेवा स्तरोन्नति



 

काठमाडौं, (नेस)
नेपाल टेलिकमले धौलागिरी अञ्चलका विभिन्न विकट तथा ग्रामीण क्षेत्रमा जिएसएम मोबाइल सेवाका नयाँ प्रविधिमा स्तरोन्नति गरी तथा केही नयाँ स्थानमा समेत बिटीएस सञ्चालनमा ल्याएको छ।

धौलागिरी अञ्चलका चार जिल्लाका शहरी तथा जनघनत्व भएका स्थानमा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २१ वटा थ्रिजी बीटीएस स्थापना गरी गत वर्षबाट सेवा सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ।टेलिकमले दुई महिनामा धौलागिरी अञ्चलका दुर्गम तथा ग्रामीण स्थानमा ७४ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने ३८ वटा थ्रिजी बीटीएस स्थापना गरी सञ्चालनमा ल्याएको समेत जनाएको छ। यी स्थानमध्ये कतिपयमा यसअघि कुनै पनि सेवा नपुगेका स्थान पनि रहेका छन।

त्यस्तै गरी गत दुई महिनाको अवधिमा धौलागिरी अञ्चलका सात नयाँ स्थानहरूमा १३ वटा टुजी तथा उच्च गतिको डाटा सेवा उपलब्ध हुने २ वटा थ्रिजी बीटीएस म्याग्दीको तकाम, दाना र डुवा पर्वतको लेखफाट र शंकरपोखरीकोट साथै बाग्लुङको तमान र दूधिलाभाटी स्थापना गरी सञ्चालनमा ल्याइएको छ। साथै बाग्लुङको पयुँपाटा खर्सेडाँडामा बीटीएस टावर स्थापना गरी २०७४ असार २१ गते देखि टुजि तथा थ्रीजि सेवा सञ्चालनमा ल्याएको छ। उक्त टावर सञ्चालन पश्चात पाङ, सर्हसधारा, नयाँपुल, अरमादी र छर्मकेका बासिन्दा मोबाइल सेवाबाट लाभान्वित हुने बताइएको छ। अब यस क्षेत्रका उपभोक्ताले पनि जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्ने भएका छन्।

प्रतिक्रिया दिनुहोस्