प्रेस स्वतन्त्रता कार्यान्वयनका लागि सरकार गम्भीरः प्रधानमन्त्री



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता कार्यान्वयनका लागि सरकार गम्भीर भएको बताउनुभएको छ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टद्वारा लिखित ‘नेपालमा प्रेस स्वतन्त्रता’ नामक पुस्तकको काठमाडौंमा सार्वजनिकीकरण कार्यक्रममा प्रधानमन्त्री देउवाले हरेक परिवर्तनलाई संस्थागत गर्न प्रेसको भूमिका अतुलनीय रहेको भन्दै प्रेस स्वतन्त्रताको कार्यान्वयन गर्न सरकार गम्भीर भएको बताउनुभयो।

राष्ट्रिय एकतालाई बलियो बनाउन मिडियाको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रेस स्वतन्त्रताबिना लोकतन्त्र कमजोर हुने बताउनुभयो। सत्यतथ्य समाचार लेखेर जनतालाई सुसुचित बनाउनु पत्रकारको धर्म रहेको भन्दै गलत समाचार प्रवाह गरी जनतामाथि अन्याय हुने धारणा राख्नुभयो।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रेस निर्वाध र स्वतन्त्र भए मात्रै नागरिक अधिकारका विषयबाहिर आउने बताउनुभयो। थुप्रै पत्रकार समयकाल खण्डमा मारिए पनि घटनाको निष्पक्ष अनुसन्धान हुन आवश्यक रहेको बताउनुभयो। नेपालमा प्रेस स्वतन्त्रता नामक पुस्तकको समीक्षा गर्दै पी. खरेलले पत्रकारिताको अवस्था विश्लेषण गर्न र शोधकर्ताका लागि पुस्तक बहुउपयोगी हुने बताउनुभयो।

पुस्तकका लेखक डा. विष्टले परिवर्तनलाई अग्रस्थानमा पुर्याउन र उपलब्धीलाई रक्षा गर्न पत्रकारिताले खेलेको भूमिकालाई कसैले बिर्सन नहुने बताउनुभयो। पुस्तकमा नेपालमा पत्रकारिताको विकासक्रम, पत्रकारिता र प्रेस स्वतन्त्रताको आवश्यकता, प्रेस स्वतन्त्रताको वर्तमान अवस्थालगायतका विषय समेटिएका छन्।

प्रतिक्रिया दिनुहोस्