बागमतीसँग हाम्रो सान जोडिएको छः मन्त्री साह



बागमतीको सफाई अभियानमा लागिरहने मनीषाको प्रतिबद्धता

नेपाल समाचारपत्र
काठमाडौं

बागमती सफाई अभियानका अभियन्ता तथा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका पदाधिकारीहरूले शहरी विकासमन्त्री प्रभु साहसँग भेट गरी सफाई अभियानको प्रभावकारिता वृद्धिका लागि पहल गरिदिन आग्रह गरेका छन्।

बागमती सद्भावनादूतसमेत रहेकी अभिनेतृ मनीषा कोइराला, सिस्नोपानी नेपालका महासचिव टंक आचार्य, अधिवक्ता तथा मानव अधिकारकर्मी वीरेन्द्र थपलिया, किशोर थापा, चक्रबहादुर चन्द, अर्जुन धरेर, गोकुल थापालगायतको टोलीले मन्त्रालयमा बिहीबार मन्त्री साहसँग भेट गरी यस्तो आग्रह गर्नुभएको हो।

अभिनेतृ कोइरालाले बागमती नदीलाई ‘लिगल स्टाटस’ दिनुपर्ने भन्दै त्यसका निमित्त पहल गरिदिन मन्त्री साहसँग आग्रह गर्नुभयो। उहाँले ‘बागमती सफाईका लागि कानुनले ‘सपोर्ट’ गर्नुपर्ने भन्दै उक्त कार्यको नेतृत्व लिन मन्त्री साहलाई आग्रह गर्नुभयो।

बागमती सफाईका लागि प्रयोग भएको स्रोत साधनको पारदर्शिता वृद्धि हुनुपर्ने भन्दै अभिनेतृ कोइरालाले नदीलाई र नदीको स्वच्छतालाई बचाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले बागमतीलाई स्वच्छ र सफा बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सो अवसरमा मन्त्री साहले बागमती सफाई अभियानमा भइरहेको कार्यका लागि अभियन्ताहरूलाई धन्यवाद दिनुहुँदै यही गति कायम राख्ने गरी योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

‘बागमतीसँग हाम्रो इज्जत, सानमान जोडिएको छ’, मन्त्री साहले भन्नुभयो– ‘यो कुरालाई बोध गर्ने गरी योजना बनाएर अगाडि बढ्नुपर्दछ।’

सफाई अभियानले बागमतीको स्वच्छता कायम राख्नका लागि सरकारलाई दबाब बढाएको उल्लेख गर्दै मन्त्री साहले भन्नुभयो– ‘तपाईंहरूको यो पवित्र कार्यले सरकारलाई बागमती सफाईमा अग्रसरता लिन निरन्तर दबाब दिएको छ, यसलाई निरन्तरता दिनुहोला।’

सफाई अभियानले उल्लेख्यरूपमा कार्य गरेको भए पनि त्यसमा आधुनिकता र योजनाबद्धरूपमा अगाडि बढ्नु आवश्यक रहेको उल्लेख गर्दै मन्त्री साहले भन्नुभयो– ‘अहिले जे भइरहेको छ धेरै राम्रो कार्य भइरहेको छ’, मन्त्री साहले उक्त भेटका अवसरमा भन्नुभयो– ‘तर, यत्तिले मात्रै पुग्दैन, अझै योजनाबद्धरूपमा प्रभावकारी ढंगले अगाडि बढ्न आवश्यक छ, यो कार्यलाई प्रविधिसँग जोड्नु जरुरी छ। त्यसको पहल मन्त्रालयले गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्