देशभरका महिला उद्यमी हेटौंडामा भेला हुने



हेटौंडा,(नेस) ।
नेपाल उद्योग वाणिज्य महासंघले देशभरका महिला उद्यमीको राष्ट्रिय भेला हेटौंडामा गर्ने भएको छ ।

असार २३ र २४ गते हेटौंडामा भेला गरिने आइतबार पत्रकार सम्मेलनमार्फत् जानकारी दिइएको हो । भेलामा ‘अर्थतन्त्रमा महिला उद्यमीको भूमिका तथा महिला उद्यमीको प्रवद्र्धन’ विषयमा छलफल गरिने जनाइएको छ ।

स्थानीयरुपमा कार्यक्रम संयोजन गर्ने मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष तथा महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले हेटौंडामा हुने कार्यक्रमबारे जानकारी दिएका थिए ।

देशभरका नगर उद्योग वाणिज्य संघआवद्ध तथा व्यवसायमा क्रियाशील करिब १ सय ५० महिला उद्यमीको सहभागिता रहने भेलामा आआफ्नो क्षेत्रका समस्या, कानुनीरुपमा आएका व्यवधानबारे छलफल गरी निष्कर्षलाई महिला उद्यमी घोषणापत्रका रुपमा कार्यान्वयनका लागि सरकारसमक्ष पेश गरिने आयोजकले जनाएको छ ।

महिला उद्यमीहरुको उद्यमशीलतालाई राष्ट्रिय आयआर्जनमा लगाउने उद्धेश्यअनुरुप महिला उद्यमी भेला हुने आयोजकमध्ये एक मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

उद्यमशीलतामा महिलाको पहुँच बढाउने र उद्यमशीलताको गतिलाई माथिल्लो उचाईंसम्म पु¥याउने उद्धेश्यले अन्तक्र्रिया गरिएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका मकवानपुर संघ अध्यक्ष न्यौपानेले जानकारी दिए ।

कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ र जिल्ला संघको संयुक्त आयोजनामा हुने भएको हो ।
उद्यमी बन्न चाहने महिलालाई अन्तक्र्रियाले प्रेरित गर्ने अध्यक्ष न्यौपानेले बताए । अन्तक्र्रियामा राजधानी र राजधानीबाहिरका गरी करिब १ सय ५० सयभन्दा बढी महिला उद्यमीको सभागिता हुने अपेक्षा छ ।

अन्तक्र्रियामा उद्यमशीलतामा लागिसकेपछि महिलाले अपनाउनुपर्ने होसियारी, बजारीकरण, जनसम्पर्क र कच्चापदार्थका विषयमा पनि जानकारी गराइने छ ।

कार्यक्रमले महिलालाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने र अर्थतन्त्रमा महिलाको सहभागिता बढ्ने आयोजकको दाबी छ ।

नेपाल उद्योग वणिज्य महासंघले गरेको सर्वेक्षणअनुसार नेपालमा २ लाखभन्दा बढी महिलाका नाममा दर्ता गरिएका उद्योग व्यवसाय छन् ।

महासंघ अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यता रहने भेलामा महिला उद्यमीका उत्पादनको प्रदर्शनी गरिने छ । हाल सञ्चालनमा रहेका सानातिनासमेत गरी करिब २ लाख उद्योग महिलाकै नामबाट सञ्चालनमा रहेको जानकारी दिइएको छ ।

भेलाले आयआर्जनमा महिलाको भूमिका उल्लेख्य भए पनि महिलाको पहुँचका कारण महिला उद्यमीहरुले उचित स्थान नपाएकोबारे पनि चर्चा गर्नेछ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ५० प्रतिशत योगदान महिलाले गरेका छन्, तर औपचारिकरुपमा भने यो तथ्य बाहिर देखिएको छैन ।

अर्थतन्त्रमा महिलाको प्रत्यक्ष सहभागिता नहुञ्जेल आर्थिक सम्वृद्धि नहुने भन्दै न्यौपानेले विभिन्न माध्यमबाट महिलालाई आयआर्जनमा लगाउन खोजिएको बताए ।

उनका अनुसार महिलाको साझा एजेण्डालाई सामूहिकरुपमा छलफल गर्न भेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

उनले महिला उद्यमीलाई नयाँ सोच र जाँगरसाथ काम गर्ने हौसला प्रदान गर्ने र नयाँ व्यवसायका लागि पूर्वाधार खोजिरहेका उद्यमीलाई कार्यक्रम सहयोगी बन्ने बताए ।

एक दिने कार्यक्रमममा कार्यजीवन सन्तुलन, सेवा, वित्तीय सुविधालगायत व्यापार कसरी सुरु गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।

युवा उद्यमीबीच कस्ता प्रकारको सम्बन्ध र सञ्जाल हुनुपर्छ भन्ने विषयमा विशेष छलफल हुने र नयाँ सोच एवम् जाँगरसाथ आउने उद्यमीलाई प्रेरित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्