वाईवाई सिटी भारतमा विस्तार



 

काठमाडौं, (नेस)
भारतीय बजारमा नेपाली ब्रान्ड वाईवाई चाउचाउको विस्तारसँगै नयाँ अवधारणासहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाईवाई सिटी’ लोकप्रिय बनेको छ। क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा सञ्चालनमा ल्याइएको वाईवाई सिटीमा वाईवाई चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकार उपलब्ध छन्।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बैंगलोरमा वाईवाई सिटी विस्तार भएको भन्दै खुसी व्यक्त गर्नु भएको छ। वाईवाईका पारखीहरूसँग सोसल मिडियामा अन्तत्र्रिmया गर्दै उहाँले भारतका मुख्य शहरहरूमा वाईवाई सिटीको प्रतीक्षा लामो नरहने जानकारी पनि दिनु भएको छ।

‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौं जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्,’ चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भन्नुभयो–‘जसका कारण वाईवाई सिटीको तीव्र विस्तार गर्न हामी दबाबमा रहेका छौं।’

केही समयअघि भारतको राजधानी नयाँदिल्लीमा वाईवाई सिटीको उद्घाटन गरिएको थियो। दिल्लीका उपभोक्ताहरूले वाईवाई चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरू भएको हो। हाल वाईवाई सिटी भारतको नयाँदिल्ली, नोयडा, पुने र बंग्लोर गरी चार शहरमा विस्तार भइसकेको छ।

वाईवाई सिटी भारतका प्रमुख शहरमा तीव्र गतिमा विस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिनुभयो। ‘हामी सन् २०१७ मा सय वटा वाईवाई सिटी स्थापना गर्ने हतारोमा छौं’, चौधरीले भन्नुभयो–‘भारतका सबै ठूला शहरमा पहिलो चरणमा वाईवाई सिटी स्थापना गर्ने हाम्रो लक्ष्य हो।’
वाईवाई सिटीमा नूडल्ससँग सम्वन्धित करिब दुई दर्जन परिकारको स्वाद उपभोक्ताले लिन पाएका छन्।

हाल भारतीय नूडल्स बजारमा वाईवाईको हिस्सा करिब ३० प्रतिशत पुगेको छ। ‘भारतीय नूडल्स बजारमा शसक्त ब्रान्ड बन्ने हाम्रो रणनीति सफल भएको छ। अब हामी वाईवाईलाई अर्को चरणमा पुर्याउने तयारीमा छौं,’ अध्यक्ष चौधरीले भन्नुभयो–‘नेपालमा जन्मिएका ब्रान्डहरू पनि विश्वव्यापी प्रतिस्पर्धामा अब्बल सावित हुन सम्भव छ भन्ने वाईवाईले प्रमाणित गरेको छ।’

 

प्रतिक्रिया दिनुहोस्