प्राधिकरणले स्मार्ट मिटर र स्वचालित विद्युत् वितरण प्रणाली निर्माण गर्दै



 

हेमन्त जोशी, काठमाडौं

नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युत प्रसारण (अन्डरग्राउन्ड ट्रान्समिसन) प्रणाली निर्माणसँगै स्मार्ट मिटर र स्वचालित वितरण प्रणालीको निर्माण गर्ने भएको छ। एसियाली विकास बैंकको आर्थिक सहयोगमा पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्र जोड्ने गरी भूमिगत विद्युत् प्रसारण प्रणालीसँगै उपभोक्तालाई स्मार्ट मिटर वितरण स्वचालित विद्युत् वितरण प्रणालीको काम थालिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बताउनुभयो।

प्रवक्ता अधिकारीले नेपाल समाचारपत्रसँग कुरा गर्नु हुँदै भन्नुभयो–‘पहिलो चरणमा प्रसारण प्रणालीलाई भूमिगत गर्नका लागि हामीले एक महिनाभित्रै बोलपत्र आह्वानको प्रक्रिया सक्ने लक्ष्य लिएका छौं। पहिलो चरणमा रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रबीचमा पर्ने प्रसारणलाइन भूमिगत गर्न लागेका हँैं।‘यसरी निर्माण गर्न लागिएको भूमिगत प्रसारण प्रणाली नयाँ प्रविधिमैत्री भएको अधिकारीको भनाइ छ। भूमिगत रूपमा विद्युत् प्रसारणलाइन निर्माण गर्नेसँगै वितरण प्रणाली पनि उच्च प्रविधियुक्त बनाइनेछ। स्मार्ट मिटरको प्रयोग र उच्च प्रविधियुक्त स्वचालित वितरण प्रणाली विकसित मुलुकमा अभ्यासमा रहेको र यस्तो प्रविधि बिस्तारै नेपालमा पनि लागू गर्न लागिएको प्रवक्ता अधिकारीले बताउनुभयो।

पहिलो चरणमा रत्नपार्कदेखि महाराजगन्ज क्षेत्रमा हालका करिब ९० हजार मिटर प्रतिस्थापन हुनेछन् भने केही वर्षभित्रै उपत्यकाका ३ लाख ६० हजार मिटर लाई प्रतिस्थापन गरिने छ। यस्ता स्मार्ट मिटरले केन्द्रसँग दोहोरो रूपमा सूचनाको आदानप्रदान समेत गर्नेछन्। यस्ता स्मार्ट मिटरलाई केन्द्रसँग जोडिनेछ भने केन्द्रबाट नै विद्युत् लाइन काट्ने जोड्ने, विद्युत् महशुलको बारेमा जानकारी लिने–दिने लगायतका सुविधा हुनेछन्। ‘यस्ता स्मार्ट मिटरमा हामीले विद्युत् महशुल तिर्दा अग्रिम महशुल भुक्तानी अर्थात् प्रिपेड सेवा उपलब्ध गराउने विषयमा पनि काम गरिरहेका छँैं,’ प्रवक्ता अधिकारीले भन्नुभयो।

त्यस्तै विद्युतको स्वचालित वितरण प्रणाली निर्माणका लागि पनि प्राधिकरणले संँगै अगाडि बढाउने छ। जस अन्तर्गत उच्च प्रविधियुक्त ‘रेडियो कम्युनिकेसन’ प्रणालीमा आधारित सूचना प्रणाली पनि जडान गरिने छ। यस्तो प्रविधिले वितरणमा देखिएका समस्याको पहिचानमा सहजता ल्याउनेछ भने केन्द्रबाटै सञ्चालन र निगरानीको काम समेत गरिने छ। हाल प्रसारणलाइनमा समस्या देखिँदा प्राविधिकलाई कुन ठाउँमा समस्या देखिएको हो भन्ने छुट्याउन नै गाह्रो हुने गरेकामा अब निर्माण हुने प्रसारणलाइनमा भौगोलिक सूचना प्रणाली (जीआईएस) समेत जोडिने छ। जीआईएसले प्रसारणलाइन वा वितरण प्रणालीमा समस्या देखिँदा कुन ठाउँमा समस्या देखिएको हो भन्ने कुरा समेत छुट्याइदिनेछ। यस्तो प्रविधिले प्रसारण र वितरणमा देखिएका समस्यालाई तत्काल निदान गर्न समेत सजिलो हुने अधिकारीले बताउनुभयो।

२ सय मेगावाट विद्युत् माग थपिँदै
आगामी आर्थिक वर्षमा मुलुकमा करिब २ सय मेगावाट विद्युत् माग थपिने प्राधिकरणले जनाएको छ। प्रत्येक वर्ष १० प्रतिशतका दरले बढिरहेको विद्युत् माग पूर्ति गर्न प्राधिकरणले पहिलोपटक सोलार प्यानल समेत खरिद गर्ने भएको छ। सुख्खायाममा विद्युत् उत्पादनमा कमि आउने गरेकामा यस वर्ष सुख्खायाम शुरू हुनुभन्दा अगावै ६१ मेगावाट विद्युत् उत्पादन क्षमताका सोलार प्यानल र ब्याट्रीहरूको व्यवस्था गर्न लागेको हो। त्यस्तै सरकारी क्षेत्रबाट यसवर्ष ३० मेगावाट क्षमताको चमेलिया आयोजनासहित ४४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा जोडिने छ। त्यस्तै निजी क्षेत्रबाट पनि २ सय ५० मेगावाट विद्युत् थपिने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्