विवाह सहायक मन्त्री चाहियो



 

केही दिनअघि एउटा विदेशी मिडियामा प्रस्तुतीपछि चर्चामा आउनुभएका हाम्रा प्रधानमन्त्री शेवदे अचेल के गर्दै हुनुहुन्छ भनेर हिजो धरहराले आफ्नो दूरबीन सोझइउँदा हिजो प्रधानमन्त्रीका बिहे नै बिहेमा जानुपर्ने कार्यक्रम भएको यसले देख्न पायो। देश चलाउनुपर्ने प्रधानमन्त्री यसरी विवाहमा मात्रै उपस्थित हुने अवस्था आयो भने देशको अवस्थाचाहिँ के होला?

एउटा नियम नै बनाएर यस्ता कार्यक्रममा प्रधानमन्त्रीजस्तो मुलुकको कार्यकारी पदमा रहेको व्यक्तिलाई नबोलाउने व्यवस्था गर्ने पो हो कि? मुलुकको प्रधानमन्त्रीलाई विवाहमा बोलाउँदा कसै कसैको ‘पावर शो’ गर्ने अवसर पनि पूरा होला। तर, यसरी दिनभरि विवाहमा जाने बानी लगाउने हो भने त बर्बाद भएन र भन्या। बरु सरकारका तर्फबाट विवाहजस्ता कुनै सामाजिक कार्यक्रममा जानुपर्ने भएमा एउटा राज्यमन्त्री नै पो खटाइदिने हो कि? लु न एउटा विवाह राज्यमन्त्री वा सहायकमन्त्री चाहियो।

त्यसो गरेमा महत्त्वपूर्ण पदमा रहने व्यक्तिले यसरी दौडनुपर्ने थिएन र देशहितका लागि केही हुन्थ्यो होला। हुनत मान्छेको जीवनमा विवाहको अवसर अक्सर एकपटक मात्रै आउने हुँदा महत्त्वपूर्ण नै हुन्छ। यसलाई कम आँक्न मिल्दैन। तर, यसको मतलब अनावश्यक ढर्रा पारेर प्रधानमन्त्रीलाई नै बोलाउने चलनचाहिँ अलि ठीक भएन कि? प्रधानमन्त्रीलाई आफ्नो विवाह, व्रतबन्ध वा श्राद्धमा बोलाउन पाए हुन्थ्यो भन्ने रहर त कसलाई हुँदैन र? मिल्ने भए सबै नेपालीले बोलाउन चाहन्थे। तर, देशको प्रधानमन्त्री विवाहमा जानका लागि मात्रै बनेको हुँदैन भन्ने हेक्का राख्नुपर्ने हो कि? अनि प्रधानमन्त्रीका निकटस्थहरू पनि के भएका हुन्? जसले जहाँबाट प्रधानमन्त्रीलाई बोलायो त्यहाँ ठेलेर उहाँलाई नै पठाउनुपर्ने? हद नगरुम् न हो। कि कसो पाठकवृन्द?

प्रतिक्रिया दिनुहोस्