नगरप्रमुखलाई कामकारबाही नगर्न अन्तरिम आदेश



नेपाल समाचारपत्र, बैतडी ।
दशरथ चन्द नगरपालिका बैतडीको प्रमुख नरेन्द्र सिंह थापा लाई प्रमुखको रुपमा कामकारबाही नगर्न अन्तरिम आदेश दिएको छ । बुधवार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश यज्ञ प्रसाद बस्यालको एकल इजलासले सो आदेश दिएको हो । मतगणना परिणाम बदर गरी फेरि मतगणना गराउन माग गर्दै राप्रपाका मेयरका उम्मेदवार पुष्करराज जोशीले रिट दायर गर्नुभएको थियो ।

उच्च अदालत नियमावली २०७३ को नियम ६१ वमोजिम अन्तरकालीन आदेश माग गरेकोले निवेदन व्यहोरा र बहस जिकिर सुनि विचार गर्दा दुवैपक्षलाई रोहबरमा राखि छलफल गराउन उचित देखिएकाले छलफलका लागि असार २९ गतेको पेशी समेत तोकिएको छ । असार २९ गते दुवै पक्षसंगको छलफलपछि अदालतले फैसला सुनाउने भएको छ । ६२ मतअन्तरले कांग्रेसका नरेन्द्रसिंह थापासँग पराजित भएका जोशीले गणनामा धाँधली भएको दाबी गर्दै आएका छन् ।

नेपाली काँग्रेसका नरेन्द्रसिंह थापा ३ हजार ७ सय ६२ मत ल्याएर विजयी भएका हुन् । भने राप्रपाका पुष्कर राज जोशी लख्खाभाईले ३ हजार ७ सय मत प्राप्त गर्नुभएको हो । धाधली पूर्ण रुपमा मतगणना भएको भन्दै राप्रपाले मंगलबार उजुरी दर्ता गराएको थियो । मत गणनामा धाँधली भएको ठहर गर्दैै राप्रपा बैतडीले चुनावी परिणाम स्वीकार नगर्ने घोषणा गरेको छ । मतगणनामा संलग्न केही कर्मचारी र प्रतिस्पर्धी पार्टीका कार्यकर्ताहरुको मिलेमतोबाट आफ्नो विपक्षमा एकतर्फी रुपमा मतपरिणाम घोषणा गरिएको आरोप राप्रपाले लगाउँदै आएको छ ।

मतगणना स्थलमा खटिएका आफ्नो पार्टीका प्रतिनिधिहरुको गम्भीर असहमति हुँदाहुँदै पनि मुख्य निर्वाचन अधिकृतले औंठा छाप लगाएको मत पनि सदर गरेको आरोप राप्रपाको छ । साथै मतपरिणामको विवरण माइकिङ्ग गर्दा र कम्युटरमा इन्ट्री गर्दा फरक फरक राखेको पाइएको प्रमाण पाइएकाले कुनै हालतमा पनि मतपरिणाम स्वीकार गर्न नसकिने राप्रपा जिल्ला अध्यक्ष प्रेमबहादुर चन्दले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्