पर्वतमा ९२ प्रतिशत गाउँमा खानेपानीको पहुँच



दुर्गाप्रसाद शर्मा,पर्वत ।

पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।

चालू आर्थिक वर्षमा मात्र थप ७ दशमलव ८० प्रतिशत जनतामा पिउने पानीको पहुँच र्पुयाउन १४ ओटा आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । चालू आवमा जिल्लाका ६ ओटा खानेपानी आयोजनालाई कुल १२ करोड ८१ लाख बजेट विनियोजन भएको थियो ।

यी आयोजनामा अघिल्ला वर्षका क्रमागत आयोजना ४५ ओटा, नयाँ १४ ओटा, बृहत् खानेपानी आयोजना दुईओटा, सहलगानी खानेपानी आयोजना एउटा र वर्षात्को खानेपानी आयोजना (घैंटो निर्माण) तीनओटा समावेश भएका छन् ।

नयाँ १४ ओटा आयोजनाको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको र सम्झौताको क्रममा रहेको छ । क्रमागत ४५ ओटा आयोजनाका लागि भने चालू आवमा ९ करोड २१ लाख २३ हजार बजेट विनियोजन भएको छ ।

क्रमागत बजेटअन्तर्गत नै फलेवास र हुवासमा निर्माणाधीन बृहत् खानेपानी आयोजनाका लागि यस वर्ष क्रमशः ९० लाख र ५० लाख विनियोजन भएको कार्यालयले बताएको छ । बृहत् खानेपानी आयोजनाको कुल लागत भने ११ करोड छ ।

जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत माझफाँटको वारीबेनीमा निर्माण हुने सहलगानी खानेपानी आयोजनाको कुल बजेट १३ करोड छ । खानेपानी आयोजना पूरा भएपछि तत्काल ८ सय धारा जडान हुनेछन् । उरामपोखरा, शङ्करपोखरी र होस्राङ्दीमा निर्माणाधीन वर्षात्को खानेपानी सङ्कलन आयोजनाका लागि भने क्रमशः १२ लाख, ८ लाख र १० लाख रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्