मात्तिने तरिका



 

दोस्रो चरणको निर्वाचनको परिणाम आइरहेको अवस्था छ। फेरि असोज २ पछि तेस्रो चरणको निर्वाचनको पनि परिणाम आउला नै। पहिलो चरणको एक स्थान चितवनको बाहेक अन्यत्रको आइसकेको छ।

तर, निर्वाचन परिणामको सामान्य जित–हारलाई लिएर अहिले राजनीतिक पार्टीका कार्यकर्ताहरूबीचको छेडछाड र टीका–टिप्पणी अलि असहिष्णु जस्ता देखिएका छन्। जित्नेले सामान्य मतले हार्नेलाई पनि अपमानित गर्न खोजेको देखिन्छ। फलेको वृक्षको हाँगो नुहिनुपर्ने हो तर अहिले पात पनि नभएको जिङ्रिङ परेको रूख जस्तो ठाडो कुरा गर्ने प्रचलन बढ्दै गएको छ।

दलका कार्यकर्ता झगडा गर्नतिर लाग्नुको सट्टा अब तीतो मिठो बिर्सेर देश निर्माणमा लाग्नुपर्ने अवस्था रहेको छ। सधैं खुट्टा तानातान र आरोप अनि प्रत्यारोप मात्रै गर्ने हो भने देश कहिले बन्ने? विपक्षीले राम्रै काम गरेको छ भने पनि उसलाई जसैगरी खुइल्याउने चलन हामी कहाँ विकृतिका रूपमा आइरहेको छ।

संयमता अपनाउने कहिले होला? दलहरूले आफ्ना कार्यकर्तालाई तालिम पनि किन नदिएका होलान्? उनीहरूले जानेको भनेको आफ्नो पक्षबाहेक अरूमा सधैं घृणा फैलाउने तरिका मात्रै हो जस्तो देखिएको छ। यदि हो भने त त्यति राम्रो भएन है। निर्वाचन जित्नेले पाएको मत र आफ्नो क्षेत्रमा भएका सबै मतदाताको संख्या पहिला हेर्यो भने जित्ने पक्षको घमण्ड अलि कम हुन्छ कि? जस्तो ५ मत पाएर कसैले विजय हासिल गरेको छ भने कुल मतदाता भने १५ पनि हुन सक्छन्। मतलब जित्नेले ५ ल्याए पनि विपक्षमा अझै १० जना हुन्छन्। त्यसैले जित्नेले बाँकी १० जनालाई सधैं विरोधमा उतार्ने कि मिलाएर लैजाने? कुरा गम्भीर छ है। मात्तिने र आत्तिने काम नगरी देश निर्माणतिर लागौं। कि कसो पाठकवृन्द?

 

प्रतिक्रिया दिनुहोस्