ललितपुरका तीन वडा बालश्रम मुक्त हुने



 

सुनिल महर्जन, ललितपुर
ललितपुर महानगरपालिकाले नगरका ३ वडालाई बालश्रम मुक्त घोषणा गर्न अन्तिम तयारी गरिरहेको छ। घोषणा गर्ने चरणबद्ध तयारी भइरहँदा स्थानीयवासीहरूले यस पटक पनि विगतमा झै सरोकारवालाहरूलाई किनाराको साक्षी राखेर मात्र घोषणा हुने त होइन भन्ने गुनासो गर्न थालेका छन्।

महानगरपालिकाले वडा नम्बर ३, ५ र १२ लाई बालश्रम मुक्त घोषणा गर्ने तयारी गरिरहेको छ। बालमुक्त नगर बनाउने दीर्घकालीन लक्ष्यसंग जोडिएको कार्यप्रति आफ्नो सक्रिय सहभागिता र अपनत्व वृद्धि गर्नुपर्ने स्थानीयको माग रहेको छ।

महानगरपालिकाले यसअघि पहिलो चरणमा साविकको २१, दोस्रो चरणमा साविकको १३, १४ १६, १८ वडालाई बालश्रम मुक्त वडा घोषणा गरिएको थियो। ‘यस पटक त अत्यधिक बालश्रम रहेको क्षेत्रमा बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ। यसमा स्थानीय सरोकारवालाको सहयोग र समन्वय भएन भने बालश्रम मुक्त घोषणा घोषणामा सीमित हुने सम्भावना रहन्छ।’ –बाल अधिकार क्षेत्रमा क्रियाशील स्थानीय एक अधिकारकर्मीले भने।

हाल महानगरपालिकाले घोषणाका लागि बालश्रमको तथ्याङ्क संकलन कार्य गर्ने, अभिमुखीकरण गर्ने कार्य भइरहेको महानगरपालिका समाज कल्याण महाशाखाका अधिकृत सरिता महर्जनले जानकारी दिनुभयो। विभिन्न चरणहरू पुरा गरिसकेपछि बालश्रम नभएको यकिन भएपछि अभियानअन्र्तगत बाल श्रमिक नरहेको घर, व्यवसाय र उद्योगमा प्रमाण स्वरुप हरियो झण्डा राख्ने महानगरपालिकाको तयारी रहेको पनि अधिकृत महर्जनले बताउनुभयो।

‘यो अभियानअन्र्तगत सम्बन्धित वडामा बालश्रम प्रयोग नभएको घर, पसल, तथा कारखानामा सबैले देख्ने गरी हरियो झण्डा राखिनेछ। हरियो झण्डा राख्नु बालश्रम नरहेको प्रतिकात्मक संकेत हो।’ –अधिकृत महर्जनले भन्नुभयो।
यसले एकातिर बालश्रम प्रयोग भएको र नभएको घर छुट्टिने मात्र नभइ त्यसका विरुद्ध सामाजिक र नैतिक दबाब सिर्जना गर्न सहयोग पुर्याउने महानगरपालिकाको विश्वास रहेको छ। घोषणा गरेअनुरुप गर्न सके राम्रो हुने बताउँदै स्थानीयहरूले कागजमा एउटा व्यवहारमा अर्को हुने अवस्था आउन नहुने धारणा राख्छन्।

‘बालश्रम न्यूनीकरण कार्यको सचेतनासंग जोडिएको विषयलाई औपचारिकता वा घोषणामा मात्र सीमित गर्नुहुन्न। यस कार्यमा सरोकारवालाहरूलाई पनि समेटिएर लानुपर्दछ।’ –कुमारीपाटी व्यापार व्यवसायी संघका अध्यक्ष पुष्परत्न शाक्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

ललितपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रहनुभएका ताम्रकारले विगतमा झै यसपटक बालश्रम घोषणा गर्न अत्यधिक चुनौती रहेकोले यस कार्य उचित तयारी गरेरमात्र गर्नुपर्नेमा जोड दिनुभयो।

असार मसान्त भित्रमा अन्य वडाहरूलाई पनि बालश्रम मुक्त घोषणा गर्ने लक्ष्य रहेको महाशाखाका प्रमुख प्रेमबहादुर थापाले जानकारी दिनुभयो। यसका लागि छलफल भइरहेको पनि उहाँले जानकारी दिनुभयो। सन् २०३० सम्ममा सबै किसिमका बालश्रम अन्त्य गर्ने लक्ष्यलाई टेवा पुर्याउन सो अभियान अघि सारेको महानगरपालिकाले जनाएको छ।

नेपालमा पाँचदेखि १४ वर्षसम्मका बालश्रमिकहरूको संख्यामा कमी आए पनि जोखिमपूर्ण काम गर्ने १५ देखि १६ वर्ष बालबालिकाहरूको संख्या भने झन् बढेको अनुमान छ। नेपालमा अझै पनि छ लाख २१ हजार बालबालिका जोखिमपूर्ण श्रम गर्न वाध्य रहेका विभिन्न अध्ययनले देखाएको छ।

प्रतिक्रिया दिनुहोस्