मतगणना अन्तिम चरणतर्फ



 

काठमाडौं, (नेस)
दोस्रो चरणको स्थानीय तह निर्वाचन भएका तीन प्रदेशका ३ सय ३४ स्थानीय तहमध्ये सोमबारसम्ममा २ सय ५५ स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ।

घोषित परिणामअनुसार १ सय १३ स्थानमा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ९७ स्थानमा विजय हासिल गरेको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ३२ स्थान जितेको छ भने संघीय समाजवादी फोरमले ६ स्थान, फोरम लोकतान्त्रिकले ५ स्थानमा, राष्ट्रिय जनमोर्चाले २ स्थान राप्रपा २ स्थान र १ जना स्वतन्त्रमा विजयी भएका छन्। मतगणना जारी रहेको ८७ स्थानमा एमालेले अग्रता लिएको छ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) बाट प्राप्त जानकारीअनुसार, हाल ९१ स्थानीय तहको मतगणना कार्य जारी छ भने ६ स्थानीय तहमा स्थगित भएको मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी गराउनुभयो। हालसम्म १८ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भएको छ। मतगणना कार्य सम्पन्न भएका जिल्लामा प्रदेश नम्बर १ मा खोटाङ, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, पाँचथर, भोजपुर, संखुवासभा र सोलुखुम्बु छन्।

यसै गरी, प्रदेश नम्बर ५ मा गुल्मी, पाल्पा, रोल्पा, रुकुम छन् भने प्रदेश नम्बर ७ मा डडेल्धुरा, डोटी, दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न भइसकेको जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया दिनुहोस्