व्यापारघाटा सवा ८ खर्ब



 

हेमन्त जोशी, काडमाडौं

निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा नेपालको वैदेशिक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन। वार्षिक रूपमा वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकले बेहोर्दै आएको व्यापारघाटा पनि बढ्दै गएको छ।

चालू आर्थिक वर्षको ११ महिनामा मात्र व्यापारघाटा करिब ८ खर्ब २४ अर्ब ९८ करोड रुपियाँ नाघेको छ। जुन रकम अघिल्लो आर्थिक वर्षको तुलनामा मुलुकले बेहोरेको व्यापारघाटा भन्दा झण्डै १ खर्ब रुपियाँले बढी हो। आर्थिक वर्ष २०६९÷७० मा ५ खर्ब ३६ अर्ब ६४ करोड रुपियाँ रहेको व्यापारघाटा रहेको थियो। भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल निर्यातको अनुपातका आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ दशमलब २२ प्रतिशतले बढेर १६ दशमलब ४२ प्रतिशत पुगेको छ।

जुन अनुपात अघिल्लो वर्षको सोही अवधिसम्म ११ दशमलब २ गुणाले बढी रहेको थियो। भन्सार विभागको तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यका अनुसार चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा कुल वैदेशिक व्यापारमा ९२ दशमलब ९ प्रतिशत आयात र ७ दशमलब १ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ।

११ महिनाको अवधिमा कुल वैदेशिक व्यापार ९ खर्ब ६२ अर्ब ८ करोड ५३ लाख ३३ हजार रुपियाँ पुगेको छ। मुलुकले ८ खर्ब ९३ अर्ब ५३ करोड २२ रुपियाँ बराबरको आयात गर्दा ६८ अर्ब ५५ करोड ३१ लाख ३४ हजार रुपियाँ बराबरमात्र निर्यात गरेको छ। जुन परिमाण गत वर्षको सोही अवधिसम्म भएको आयातको तुलनामा ३० दशमलब ३६ प्रतिशत र निर्यातको तुलनामा ११ दशमलब ९४ प्रतिशतले बढी हो।

गत आर्थिक वर्षको तुलनामा कुल वैदेशिक व्यापार २८ दशमलब ८५ प्रतिशतले बढेको छ। त्यस्तै कुल वैदेशिक व्यापारमा निर्यातको मात्रा १ दशमलब १७ प्रतिशतले बढेको छ भने आयात १३ दशमलब ३९ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ।
नेपालले यस अवधिमा भारतसंँग मात्र ६४ दशमलब ६५ प्रतिशत वैदेशिक व्यापार गरेको छ। जुन रकम गत वैशाख महिनाको तुलनामा शून्य दशमलब शून्य ७ प्रतिशतले बढेको देखिएको छ। यस अवधिमा भारतसँगमात्र ६ खर्ब २२ अर्ब ३ करोड ७२ लाख रुपियाँ बराबरको वैदेशिक व्यापारमा ५ खर्ब ८३ अर्ब ७ करोड १३ लाख २७ हजार रुपियाँ बराबरको आयात र ३८ अर्ब ९६ करोड ५८ लाख ७९ हजार रुपियाँ बराबरको निर्यात भएको छ। यसरी हेर्दा भारतसँगको व्यापारघाटा मात्र ५ खर्ब ४४ अर्ब १० करोड ५४ लाख ४७ हजार रुपियाँ पुगेको छ।

त्यस्तै नेपालको दोस्रो ठूलो वैदेशिक व्यापार गर्ने देश चीनसंँग १ खर्ब १६ अर्ब २६ करोड ९ लाख ७८ हजार रुपियाँ बराबरको आयात र १ अर्ब ५६ करोड ५४ लाख ५२ हजार रुपियाँ बराबरको निर्यात गरी कुल वैदेशिक व्यापार १ खर्ब १७ अर्ब ८२ करोड ६४ लाख ३० हजार रुपियाँ पुगेको छ। यस अवधिमा चीनसंँगको व्यापारघाटा १ खर्ब १४ अर्ब ६९ करोड ५५ लाख २६ हजार रुपियाँ पुगेको छ।
नेपालसँग वैदेशिक व्यापार गर्ने तेस्रो ठूलो मुलुक संयुक्त अरब इमिरेट्ससँग २७ अर्ब ५४ करोड ६६ लाख ९६ हजार रुपियाँ बराबरको आयात र ९ करोड ४६ लाख ६९ हजार रुपियाँ बराबरको निर्यात भई दुई देशबीच कुल २७ अर्ब ६४ करोड १३ लाख ३५ हजार रुपियाँ पुगेको छ। जसमा नेपालले २७ अर्ब ४७ करोड २० लाख २७ हजार रुपियाँ बराबर घाटा बेहोरेको छ।

चालू आर्थिक वर्षको १० महिना अवधिसम्ममा देशको सबैभन्दा ठूलो नाका वीरगन्जबाट मात्र कुल वैदेशिक व्यापारमा ३४ दशमलब ३ प्रतिशत आयात र २० दशमलब २४ प्रतिशत निर्यात भएको छ। वीरगन्ज नाकाबाट ३ खर्ब ४ अर्ब ४ करोड ९६ लाख १८ हजार रुपियाँ बराबरको आयात र १३ अर्ब ८७ करोड ३३ लाख ३५ हजार रुपियाँ बराबरको निर्यात भएको छ।

त्यसैगरी मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ खर्ब ६८ अर्ब ४७ करोड ९१ लाख ३७ हजार रुपियँँ बराबरको आयात र २० अर्ब २२ करोड ६८ लाख ४९ हजार रुपियाँ बराबरको निर्यात भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले कुल वैदेशिक व्यापारमा निर्यात २८ दशमलब ६९ प्रतिशत र आयात १२ दशमलब ३१ प्रतिशत हो। भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबैभन्दा धेरै आयात हुने गरेको छ भने निर्यातमा तेस्रो ठूलो भन्सार कार्यालयका रूपमा देखिएको छ।

आयात गर्ने दोस्रो ठूलो भन्सारका रूपमा भैरहवा भन्सार कार्यालय देखिएको छ। कुल वैदेशिक व्यापारमा १ खर्ब ६८ अर्ब ४७ करोड ९१ लाख ३७ हजार रुपियाँ बराबरको आयात गर्दा निर्यात भने २ अर्ब ९२ करोड ५२ लाख ५२ हजार रुपियाँ बराबर मात्र भएको छ। जुन अनुपात कुल वैदेशिक व्यापारमा आयातमा १८ दशमलब ८६ प्रतिशत र निर्यातमा ४ दशमलब २७ प्रतिशत हो।

दुई वटा भन्सार जनकपुर र सिराहाबाट भने निर्यात शून्य देखिएको छ। फागुन मसान्तसम्ममा निर्यात शून्य रहेको जलेश्वर भन्सार कार्यालयले पछिल्लो ३ महिनामा १ लाख ७० हजार रुपियाँ बराबरको निर्यात र ५८ हजार रुपियाँ राजस्व संकलन गरेको छ।

यस अवधिमा मुलुकमा शून्यदेखि ८० प्रतिशत भन्सार दर भएका विभिन्न वस्तु आयात भएका छन्। ५ देखि १० प्रतिशत भन्सार दर लाग्ने वस्तुको आयात उच्च देखिएको छ। कुल आयातमा यस्ता वस्तुले २५ दशमलब ९५ प्रतिशत स्थान ओगटेको छ। त्यस्तै नेपालबाट निर्यात भएका प्रमुख वस्तुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, टेक्सटाइल, फलाम तथा स्टिल र तिनका उत्पादनहरू मुख्य रहेकाछन्। त्यस्तै हस्तकलाका सामान, चाउचाउ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिबुटी आदि वस्तुको पनि निर्यात भएको छ।

आयाततर्फ चालू आर्थिक वर्षको यस अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा फलाम तथा स्टिल र तिनका उत्पादनको आयातमा झण्डै दोब्बरले वृद्धि भएकोछ। नेपालको आयातको प्रमुख स्रोतमध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन, मेसिनरी तथा पार्टपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ। यसै गरी नेपालको आयात व्यापारमा दोस्रो स्थानमा रहेको चीनतर्फबाट हुने आयातमा दूरसञ्चारका सामग्री, विद्युतीय उपकरण, मेसिनरी तथा पार्टपुर्जा, स्याउ तथा रासायनिक मलले प्रमुख छन्। अर्को प्रमख आयातको स्रोत मुलुक युएईबाट भने सुनचाँदी, प्लाष्टिकको कच्चा पदार्थ, लुब्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्