मेहिनत गर्दा उत्कृष्ट नतिजाः मनीष



मधुसूदन रायमाझी

रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी निवासी मनीष चौलागाईं यस वर्षको एसईई परीक्षामा देशभरबाट उत्कृष्ट बन्न सफल भएका छन्। रामेछाप निवासी चौलागाईंले भक्तपुरको महेन्द्र विद्या आश्रम बोर्डिङ स्कुलबाट एसईई परीक्षामा ४ जीपीए ल्याएर उत्कृष्ट नजिता ल्याउन सफल भएका हुन्। २०७४ नर्सरी नपढी यूकेजीमा भर्ना भएका मनीष चौलागाईं हरेक कक्षामा प्रथम हुँदै उत्कृष्ट नतिजा हात पार्न सफल सफल भएका छन्।

१५ वर्षीय मनीष हाल सूर्यविनायक–६ पाण्डुबजारमा बसोबास गर्दै आएका छन्। चौलागाईंका आमाबुबा दुवै स्वास्थ्यकर्मी हुन्। आमा पार्वती आचार्य दुर्छिम स्वास्थ्य चौकी खोटाङकी अनमी हुन् भने बुबा मुकुन्द चौलागाईं महांकाल गोल्फुटार जनस्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक हुन्।

चौलागाईंले भविष्यमा डाक्टर बनेर दुर्गम भेगका गरिबीमा परेकाहरूको सेवा गर्ने उद्देश्य लिएका छन्। ‘भविष्यमा डाक्टर बन्ने सोच बनाएको छु, शिक्षकहरुबाट पाएको राम्रो शैक्षिक वातावरण र बुबा आमाको राम्रो व्यवहारकै कारण आज राम्रो नतिजा ल्याउन सफल भएको छु –उनले भने।

मनीषका बुबा मुकुन्द चौलागाईंले पढाइप्रतिको लगावकै कारण छोरा (मनीष) ले उत्कृष्ट नजिता ल्याउन सफल भएको बताए। उनले भने– ‘हामीले छोराका लागि पढने वातावरण दियौं, सानैदेखि कहिले पनि पढ भनेर गाली गर्नुपरेन, पढाइमा घोक्नेभन्दा पनि व्यवहारिकरूपमा छलफल गरेरै पढ्दा छोराले राम्रो नतिजा आयो।’

एईई परीक्षामा ४ जीपीए ल्याएका मनीष काठमाडौंको नयाँवानेश्वरस्थित लिभरपुल कलेजमा भर्ना भएका छन्। अघिल्लो वर्षको एसईई परीक्षामा टपर विद्यार्थीले पढेको कारण लिभरपुल कलेज छनोट गरेको बताउँदै उनले एमबीबीएसको तयारीका लागि सहज हुने भएकाले यस कलेज रोजेको बताउँछन्। ‘मेरो लक्ष्य डाक्टर बन्ने हो, लिभरपुल कलेजमा राम्रो वातावरण पाएँ, धेरै कलेजले फोन गरेर बोलाएका थिए’ –उनले भने। चौलागार्इंका अनुसार आफ्नो कलेजमा पढनका लागि १० वटाभन्दा बढी कलेजहरुले अनुरोध गरेका थिए। मनीषको रोजाइमा नै लिभरपुल कलेजमा भर्ना गरिएको (मनीष) को बुबा मकुन्द चौलागार्इंले बताए। मनीषलाई कलेजले निःशुल्क छात्रवृत्ति (फ्रि स्कलरसिप) प्रदान गरेको छ।

मनीषले भने– ‘रुटिङ बनाएर नै पढनुपर्छ, घोकेर पढनुभन्दा पनि जिज्ञासु र नोट गेरर पढनुपर्छ।’ आफ्नो कौतुहल्तामा थाहा पाएको विषयवस्तु सम्झिन सजिलो हुने बताउँदै उनले परीक्षाअघि घोकेर पढ्नुभन्दा पनि कक्षामा राम्रोसँग पढ्नुभन्दा अघि नै पढाउनुपर्ने बताए। चौलागाईंले भने– ‘मेरो घरको वातावरण विद्यालयमा शिक्षकहरुको सिकाइले राम्रो अंक ल्याउन सफल भएको हुँ।’ बुबा मुकुन्द चौलागाईंले आफूहरुले घरमा राम्रो वातावरण दिएकै कारण विद्यालयमा गएर राम्रोसँग पढने बानी बसेको बताए। उनले भने– ‘छोराको मेहिनतसँग विद्यालय र घरको वातावरणले पनि राम्रो काम गर्यो।’ आमा पार्वती आचार्य घरमा छोराछोरीहरुका लागि राम्रो वातावरण दिन सकेको खण्डमा परिणाम पनि राम्रो आउने बताउँछिन्। उनले भनिन्– ‘छोराले पढ्न बस्दा हामीले कहिले पनि टिभी खोलेर बसेनौं, छोरासँगै बस्ने र साथी जसरी सिकाउने काम गर्यौं।’

अभिभावकहरुले छोराछोरीलाई पैसा दिएर मात्र दायित्व पूरा नहुने बताउँदै खानपान, स्वास्थ्यमा पनि ख्याल गर्नुपर्ने उनले बताइन्।

छोराछोरीको दिमागमा सकारात्मक सोच मात्र भरिदिनु नै अभिभावको जिम्मेवारी भएको बताउँदै आचार्यले थपिन्º– ‘दिनभरि के–के भयो भनेर सोध्ने बानीले छोराछोरीले आफ्नो कुरा सहजरूपमा शेयर गर्छन्, यसो गर्दा मनोविज्ञान बुझन सजिलो हुन्छ।’

कक्षा ६ पास गरेपछि ७ कक्षा नपढाई कक्षा ८ मा भर्ना गरिएको बताउँदै बाबुको चाहनाअनुसार कक्षा ८ मा भर्ना गरिएको उनले बताइन्। ‘नभन्दै छोराले कक्षा ८ मा पनि प्रथम हुन सफल भएपछि सधैं प्रथम हुँदै एसईईको परीक्षामा पनि उत्कृष्ट बन्न सफल भयो’ –आचार्यले भनिन्।

उनले घरमा छोराछोरीको अगाडि जाँड–रक्सी, चुरोट, बिडी नखाने, छोराछोरीको अगाडि झगडा नगर्ने र असल संस्कार दिने हो भने राम्रोसँग पढ्ने वातावरण बन्छ, हरेक दिन छोराछोरीको होमवर्क चेक गनुपर्छ, तनाव दिएर होइन राम्रो वातावरण दिएर पढ्ने वातावरण बनाउनुपर्छ’ –आचार्यले भनिन्।

‘छोराछोरीलाई पढ–पढ भनेर मात्र हुँदैन, छोराछोरीको मनोविज्ञानअनुसार खेल्न, टिभी हेर्न दिनुपर्छ’, मनीषकी आमा आचार्यले थपिन्– ‘टाउको दुःखेको अवस्थामा पढ्न सक्दैनन्, त्यसका लागि केही समय टिभी हेरेर पनि फ्रेस हुन सक्छन्। छोराछोरी रिसाउने बानी छ भने सकारात्मक सोचको विकास हुने किताबहरु किनेर ल्याइदिनुपर्छ, विद्यालय बिदा भएको बेलामा छोराछोरीको चाहनाअनुसार घुमाउन लैजानुपर्छ।’

दबाब दिएर पढाउन खोज्ने गलत भएको बताउँदै साथीजस्तो भएर सिकाउने काममा लाग्नुपर्नेमा उनले जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्