कुलेखानी जलाधार क्षेत्र अब ‘संरक्षित’

 

नेपाल समाचारपत्र
हेटौंडा
देशकै विद्युत् ब्याकअपका रूपमा रहेको कुलेखानी जलाशयको जलाधार क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढेको छ। भू–संरक्षण विभागले माग गरेबमोजिम करिब १ सय ५० दशमलब शून्य १ वर्ग किलोमिटर क्षेत्रको जंगल र माटो जोगाउने प्रतिवेदन निर्माणको काम अन्तिम चरणमा पुगेको हो।

मुहान क्षेत्रको व्यवस्थापन नगरेसम्म संरक्षण नहुने भएकाले अस्तित्व जोगाउन संरक्षित क्षेत्र घोषणा गर्न लागिएको हो। कुलेखानी जलाधार क्षेत्रलाई संरक्षित क्षेत्रका रूपमा व्यवस्थापन गर्ने गरी संरक्षित क्षेत्र घोषणा गर्न सरकारलाई अनुरोध गर्ने र जलाधार क्षेत्रलाई व्यवस्थापन गर्न ९ वटा उपजलाधार क्षेत्र विभाजन गरेर जलाधार व्यवस्थापन योजना निर्माणका लागि करिब डेढ वर्षअघि नै सम्पर्क व्यक्ति छनोट गरिएको थियो। पानीको स्रोतको संरक्षण गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न थालेको हो। बढ्दो शहरीकरण, पानीको अभाव, बाढी, पहिरो, भुस्खलन रोक्न संरक्षित जलाधार क्षेत्र घोषणा गरी विशेष कार्यक्रम शुरू गर्न थालिएको छ।
भू तथा जलाधार संरक्षण विभागले प्राकृतिक सम्पदाका हिसाबले महत्त्वपूर्व तर वर्षेनी बाढी, पहिरो र प्राकतिक प्रकोपको चपेटामा पर्ने गरेको क्षेत्रलाई संरक्षित जलाधार क्षेत्रका रूपमा घोषणा गर्ने तयारी गरेको हो। पहिलो चरणमा कुलेखानी क्षेत्रलाई संरक्षित जलाधार क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गरिने भएको हो।
जिल्ला भू–संरक्षण कार्यालयले आवश्यक प्रतिवेदन जलाधार संरक्षण विभागलाई पठाउने तयारी गरेको छ। जिल्लाबाट प्रतिवेदन पेश भएपछि मन्त्रिपरिषद् बैठकले ‘संरक्षित जलाधार क्षेत्र’घोषणाको विषयमा निर्णय गर्नेछ। प्रस्तावित संरक्षित जलाधार क्षेत्रको चार किल्ला खुल्ने विस्तृत विवरण र क्षेत्रफलसमेत एकिन गरी असार मसान्तसम्म प्रतिवेदन पेश गर्न विभागले गरेको निर्देशनबमोजिम भू–संरक्षण कार्यालयले प्रतिवेदन तयार पार्न लागेको हो।
कुलेखानी जलाशय (इन्द्रसरोवर) को जलाधार क्षेत्र संरक्षण नहँदा पानी सुक्दै जान थालेको भन्दै दुई वर्षअघि भू–संरक्षण कार्यालयले मन्त्रालयलाई जानकारी गराएकोमा यस वर्ष प्रतिवेदन माग भएको भू–संरक्षण कार्यालय मकवानपुरका सूचना अधिकारी पूर्णकाजी महर्जनले जानकारी दिनुभयो।

कुलेखानी आयोजनाको जलाधार क्षेत्र संरक्षण नहुँदा संकटमा परेको भन्दै सरोकारवालाले पटक–पटक आवाज उठाउँदै आएका थिए। जीपीएसको सहायताले सर्भे गरी सिमानासहित चार किल्ला स्पष्ट खुलेको प्रस्तावित संरक्षित जलाधार क्षेत्रले ओगटेको क्षेत्रफलको नक्सासमेत उल्लेख गरी प्रतिवेदन बनाउन हिमाल मञ्च नेपाललाई जिम्मा दिइएको छ।

हिमाल मञ्च नेपालले एक महिनादेखि प्रतिवेदन निर्माण काम गर्दै आएकोमा एक सातामा पूर्ण गरी भू–संरक्षण कार्यालयलाई बुझाउने बताइएको छ। ‘स्थानीयसँग छलफल गरी सहमति जुटाउने काम भयो,’प्रतिवेदन बनाउने जिम्मा पाएको हिमाल मञ्च नेपालका अध्यक्ष राजबाबु पहाडीले भन्नुभयो–‘स्थानीय जनप्रतिनिधिको समेत राय लिएर प्रतिवेदन पूरा गर्नेछौं। जनप्रतिनिधिले घोषणापछि गर्न पाइने र नपाइने कामका विषयमा चासो राखेका छन्। प्रतिवेदन बनाउन विभागले १ लाख रुपियाँ छुट्याएको थियो।

जलाधार क्षेत्र घोषणाका लागि आवश्यक प्रतिवेदन बनाउन फागुनमा विभागबाट पत्र प्राप्त भएको थियो। कुलेखानी जलाशयलाई लक्षित गर्दै भू तथा जलाधार संरक्षण ऐन र नियमावलीअनुसार जिल्ला भू तथा जलाधार संरक्षण समिति गठन गरिदिन सरकारसमक्ष माग भएबमोजिम विभागले काम अघि बढाएको थियो।
संरक्षित क्षेत्र घोषणा भएपछि स्थानीयसँगको सहकार्यमा सरकारले वन तथा पानीको मुहानको दिगो संरक्षणको लागि रणनीति तय गर्नेछ। थाहा नगर र इन्द्रसरोवर गाउँपालिकाको क्षेत्र जलाधार क्षेत्रमा पर्दछ।

वर्षायामको पानी संकलन गरेर बिजुली उत्पादन गरिँदै आएको कुलेखानी जलाशयको पिँधमा माटो थुप्रिन थालेपछि विद्युत् उत्पादनमा कमी आएको छ। तालको पिँधमा जम्मा भएको गेग्रानका कारण जलाशयको सतह कम हुन थालेको छ।

कुलेखानी जलाधार क्षेत्रमा खेतीपातीका लागि माटो खनजोत गरेर भू स्खलन बढेकाले वैकल्पिकरूपमा संरक्षणमुखी र जीवीकोपार्जन हुने खालका खेती प्रणाली गर्न अभिप्रेरित गरिनेछ।
जलाधार क्षेत्रमा माटो, चट्टान, वन, वनस्पति तथा समग्र जैविक विविधताको अध्ययन गरी खेती प्रणाली, वृक्षरोपण तथा संरक्षणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

देशकै विद्युत्को भरपर्दो स्रोत मानिने कुलेखानीको जलाशयमा माटो थुप्रिएका कारण २५.३१ लाख घनमीटर पानी अट्ने क्षमतामा ह्रास आएको आयोजनास्रोतले बताएको छ। सन् १९८३ मा समद्री सतहदेखि १ हजार ४ सय ७३ मिटर उचाईंमा हुँदा कुलेखानी जलाशयमा ८५ दशमलब ३० लाख घनमिटर पानी अट्ने क्षमता थियो।

सन् २०१० सम्म आइपुग्दा पिँधमा माटो थुप्रिएका कारण जलाशयको उचाईं समुद्री सतहबाट १ हजार ४ सय ८० मिटर पुगेको छ। उचाई बढेपछि पानी अट्ने क्षमतामा ह्रास आएर ५९ दशमलब ९९ लाख घनमिटर मात्र पानी अट्न थालेको छ। कुलेखानी जलाशय स्थापनादेखि हालसम्म तालमा २७ दशमलब ७२ प्रतिशत भाग गेग्रान र माटोले ओगटेको प्राविधिकहरूले बताएका छन्।

सात किलोमिटर लम्बाई र ३ सय मिटर चौडाईं रहेको जलाशयमा संकलन गरिएको ४६ मिटर क्षेत्रफलको पानी मात्र विद्युत् उत्पादनका लागि प्रयोग गर्न सकिन्छ। जलाशयको पानी १ हजार ४ सय ८४ मिटरसम्म मात्र प्रयोग गर्न सकिने अवस्था छ।

कुलेखानी जलविद्युत् आयोजनाको पहिलो र दोस्रोबाट क्रमशः ६० र ३२ मेगावाट विद्युत् उत्पादन गरिँदै आएको छ। कुलेखानी तेस्रो निर्माणाधीन छ। कुलेखानी तेस्रो सम्पन्न भएपश्चात् थप १४ मेगावाट बिजुली उत्पादन हुनेछ।

मकवानपुरलाई चार जलाधार क्षेत्र र १ सय २५ उपजलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ। चार जलाधार क्षेत्रमा बागमती, बकैया, राप्ती र त्रिशूली हुन्। जिल्लाको ३ दशमलब २७ प्रतिशत भूभाग नदी, खोला तथा तालले ढाकेको छ। जिल्लाको पूर्वी सीमा नदीका रूपमा रहेको वागमती नदी, पूर्व मध्यभागबाट शुरू भएर दक्षिणतर्फ बग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर जिल्लाका प्रमुख नदी हुन्।

जिल्लामा विद्युत् उत्पादन गर्नका लागि निर्माण गरिएको मानव निर्मित इन्द्रसरोवर प्रमुख रूपमा छ। यो कुलेखानी र तत्कालीन मार्खु गाउँ विकास समितिको ७ किलो मिटर क्षेत्रफलमा फैलिएर रहेको छ। पानीको स्थायी स्रोत अभाव रहेका यी नदीमा वर्षात्को समयमा बाढीका रूपमा प्रशस्त पानी बगे पनि हिउँदमा ज्यादै कम पानी बग्ने गर्दछ।

LEAVE A REPLY