कुरा राष्ट्रियता र धर्म–संस्कृतिको



 

भारतका हिन्दु राज्यहरुलाई अंग्रेजले तहसनहस गरेर भारतलाई मुसलमानकरण र त्यसपछि इसाईकरण गर्न सक्दो प्रयास गरे तापनि भारतवर्षका कतिपय जनताले हिन्दु संस्कार र मान्यता छोड्न सकेका थिएनन्। त्यसको फल अहिले हिन्दुवादी राष्ट्रवादी पार्टी भारतीय जनता पार्टी (भाजपा) ले प्राप्त गरेको छ। अब त्यसलाई उसले बचाउन सक्नुपर्छ। त्यसका लागि नरेन्द्र मोदीको सरकारले विश्वको एक मात्र हिन्दु अधिराज्य नेपाललाई नमुनाको रूपमा प्रस्तुत गर्न प्रस्ताव गर्न सक्नुपर्छ।

कांग्रेस (आई) की सोनिया गान्धी र भारतीय गुप्तचर संस्था ‘रअ’ ले नेपाल ध्वस्त पार्न अनेकौं चलखेल गरेको थियो। सोनियाँ गान्धी क्याथोलिक, र नेपालस्थित भारतीय दूतावासका भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख पी हर्मिज पनि क्याथोलिक भएको र माओवादी नेता बाबुराम भट्टराई पनि क्याथोलिक भएकाले नेपाललाई इसाईकरण गर्न जरुरी ठानेर नेपालका माओवादीलाई आफ्नो पकडमा लिइसकेको थियो। माओवादीभित्र प्रचण्ड, बाबुराम भट्टराईलगायत अधिकांश इसाई भएकाले उसले माओवादीलाई विश्वासमा लिन सजिलो पनि भयो। त्यस्तै राजेन्द्र महतो, महन्त ठाकुरजस्ता भारतीय पक्षधरहरु र केही तराईका विजय गच्छेदारजस्तालाई हातमा लिएर तराईबाट नेपाल टुक्रइएर कब्जा गर्ने षड्यन्त्र रचेको थियो।

त्यसको साथै नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, एमालेका नेता माधव नेपालसँग पहिलादेखिकै उठबस रहेका कारणले कांग्रेस र एमालेलाई खेलाउन पनि भारतको सत्तामा हावी भएको अतिक्रमणकारी तत्त्वलाई कुनै अप्ठ्यारो भएन। त्यसै हिसावले ‘रअ’ को सक्रियतामा नेपालका पार्टीका नेताहरुलाई फसाएर नेपालविरुद्ध धावा बोल्न २०६२ मंसिरमा १२ बुँदै सहमति गरेर प्रारम्भ गरिएको नेपालविरुद्धको जनआन्दोलन थियो।

अव नरेन्द्र मोदी र भारतीय जनता पार्टीले सोनिया गान्धीको नेपालविरोधी नीतिलाई निरन्तरता दिनुहुँदैन। यहींनिर सम्बन्ध सुधारको कडी अड्किएको छ। मोदी सरकारले यो यथार्थ बुझेर नेपाल टुक्रइउने पूर्वसरकारको चिन्तनलाई चिर्नुपर्छ, अन्यथा भारतले एसियामा आफैं युद्ध निम्त्याएर आत्मघाती बाटो लिएको ठहर्नेछ। हिन्दुवादी पार्टी (भाजपा) की नेतृ सुष्मा स्वराजले नेपालको हिन्दु अधिराज्य र हिन्दु राजाको बारेमा कुरा उठाएको सुनिएन। उनले नेपाल भ्रमणको बेला लिपुलेक बारेमा एक शब्द पनि नबोली लिपुलेक भारतकै भूमि हो जस्तो गरिन्। यसले भारतीय जनता पार्टीले पनि नेपालको सार्वभौमसत्ताको सम्मान गर्न नखोजेको पो हो कि भन्ने आशंका जाग्छ।

नेपालका अपरिपक्व नेताहरुको पक्षमा भाजपा लाग्नुभनेको भाजपाले हिन्दुत्वमाथि आक्रमण नीति लिएर आत्मघाती काम गरेको ठहरिनेछ। कांग्रेस (आई) को पालामा हिन्दु अधिराज्य नेपाललाई विस्थापित गर्न धर्मनिरपेक्ष र राष्ट्रिय एकताको प्रतीकको रूपमा स्थापित राजसंस्थाको सट्टामा गणतन्त्र घोषणा गराउन नेपालकै कांग्रेस, एमाले, माओवादी पार्टीका केही नेताहरुलाई हात लिएर अगाडि सारेको थियो। हिन्दुत्वको आडमा २०७१ सालदेखि भारतीय जनता पार्टी सत्तामा आएकाले भाजपाले आफ्नो प्रतिष्ठाका लागि पनि कांग्रेस (आई) को नेपाल नीतिविरुद्ध संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्यको पक्षमा बोल्नेछ भन्ने जुन विश्वास थियो त्यसमा भाजपा चुकेको छ।

नेपालका तीन महान विशेषता छन्– १. नेपाल संसारको पौराणिक देवभूमिको स्थलको रूपमा, २. विश्वको हिन्दु अधिराज्यको रूपमा, ३. संसारको पुरानो सार्वभौमसम्पन्न राष्ट्रको रूपमा। यस तथ्यलाई अंगीकार गरेर विश्वको एकमात्र हिन्दु अधिराज्य कायम राख्न हिन्दुवादी भारतीय जनता पार्टीले विश्वका हिन्दुको प्रतिष्ठा र अधिकारका लागि आफ्नो कटिबद्धता देखाउनसक्नुपर्छ। हिन्दु अधिराज्य र हिन्दु सम्राटको रूपमा नेपालको राजसंस्थाको वकालत गर्नु विश्वका हिन्दुको सरोकारको विषय भएकाले यसमा भारतले नेपालको आन्तरिक मामिलामा हात हालेको ठहर्दैन। हिजो कांग्रेस आईले नेपालको आन्तरिक मामिलामा हात हालेको जस्तो यसको अर्थ लाग्नेछैन। कांग्रेस आईले भत्काउने षड्यन्त्र गर्यो भने भाजपाले जोड्ने कर्म गर्नुपर्छ।

– दीर्घराज प्रसार्इं, अनामनगर, काठमाडौं

दुई नम्बरको चुनावमा खुट्टा नकमाइयोस्

पहिलो चरणको स्थानीय निर्वाचन र दोस्रो चरणको स्थानीय निर्वाचनबाट पाठ सिकेर सरकारले २ नम्बर प्रदेशको पनि निर्वाचन गर्न विलम्ब गर्नु हुँदैन। यो विषयमा सरकार गम्भीर हुनुपर्छ। स्थानीय तहको निर्वाचन एकै चरणमा गरेर प्रदेश र संघको पनि चाँडै सक्नुपर्ने बेलामा स्थानीय तहकै चुनावमा अल्झेर संविधान संकटमा पार्नुहुँदैन। दुई⁄चार जना दलालले पैसाका गुण्डा र भाडाका मान्छे लगाएर चुनाव विथोल्न खोज्छन भने त्यस्तालाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ। मधेसी जनताको चाहना र इच्छा अनि मतदानको अधिकार खोस्ने कसैलाई अधिकार छैन। यो विषयमा सरकार गम्भीर होस्।

निर्वाचन रोक्न खोज्नेहरु संविधानविरोधी हुन। यी देशद्रोही हुन्। जनतालाई गोली ठोक्दै तर्साउँदै हिँड्नेलाई राज्यले त्यसै छोड्नुहुँदैन। यहाँ लोकतन्त्र नै धरापमा पार्ने खेल भइरहेको छ। यो विषयमा पनि प्रधानमन्त्री देउवाको ध्यान जान जरुरी छ। मधेसलाई अलग बनाउन लाग्ने द्रोहीको जस्तो पारा विप्लवले पनि देखाउन हुँदैन। अब त्यस्तो अवस्था छैन। तपाईंहरु पनि जनमतको कदर गर्नूस्। जनता मार्ने खेल बन्द गर्नूस्। नयाँ शिराबाट राजनीतिक इतिहास शुरु गर्नूस्। मेरो सुझाव र शुभकामना रहनेछ। नत्र तपाईंहरु पनि देशद्रोहीको सूचीमा अर्को नम्बरमा पर्नुहुनेछ। यो विषयमा तपाईंहरु पनि सोच्नूस्। देशको गम्भीर परिस्थितिलाई बुझेर जनमतको कदर गर्न म आग्रह गर्दछु। त्यसै गरी अन्य सबै निर्वाचनविरोधीको भूमिकामा रहनुभएका दल तथा त्यस्ता संगठनले पनि एकपटक देशका बारेमा सोच्न जरुरी छ।

– रोविन श्रेष्ठ, ललितपुर

भिजिट भिसा अब खोल्ने कि ?

नेपाल सरकारले भिजिट भिसामा विदेश जान स्वीकृत नदिन गरेको निर्णय खोल्न जरुरी छ। लाखौं नेपालीलाई पीडा दिएको यो निर्णय सच्याउन जरुरी देखिएको छ। विदेशी कम्पनीले नेपालमा प्रायः निःशुल्क भिसा दिने गर्दछ, कतिपयको लागत एकदम न्यून छ। उल्टै कम्पनीहरुले म्यानपावरलाई कामदार उपलब्ध गराएबापत रकम दिने पनि व्यवस्था भएको हुन्छ।

भिजिट भिसाबाट सरकारलाई कुनै फाइदा छैन तर पनि माफिया र म्यानपावर दलालीको मिलेमतो अनि सरकारी कर्मचारीको अनैतिक गतिविधिका कारण पैसामा बिकेर यसो भएको हो। यो कुरा जो–कोही विदेशिन विवश नेपालीले बुझ्न सक्छन्। यस्तो निर्णय तुरुन्त फिर्ता गर्न हामीले आग्रह गरेका छौं। यो विषयमा सरकारी निकाय अलि जिम्मेवार हुनु जरुरी छ।
– सम्झना खनाल, दोहा, कतार

प्रतिक्रिया दिनुहोस्