रुकुम माओबादीको कब्जामा, जति फुटेपनि आधार क्षेत्र जोगाएरै छाड्यो



धनवीर दाहाल, रुकुम ।
रुकुम यस्तो जिल्ला हो । जुन जिल्लामा तत्कालिन बिद्रोही नेकपा माओबादीले पहिलो पटक समानान्तर सरकारको घोषणा गरेको थियो । रुकुमको आठबिसकोट प्रहरी चौकी आक्रमण गरी निकै चर्चा कमाएको तथा दुई दुई पटक खारामा आर्मीको व्यारेकमा आक्रमण भएको घटनाले अझै सम्म पनि चर्चा पाएको रुकुम जिल्लामा माओबादी फुटको कुनै असर परेन ।

माओबादी बिभाजन भएर अन्य जिल्लामा क्षति बेहोरेको भएपनि रुकुममा त्यसको असर पर्न सकेन । नयाँ संबिधान निमार्ण भइसकेपछि रुकुम जिल्ला दुई भागमा बिभाजन भएर पनि अर्काे चर्चा बटुलेको छ । त्यति मात्र होइन धेरै माओबादी मन्त्री पनि रुकुमबाटै भइरहेका छन् । यस पटक गृह मन्त्रीको जिल्ला पनि रुकुम हो । सबैको चासो रुकुममा थियो । सबैको चासो रुपमा लिइएको रुकुममा माओबादी केन्द्रले आफ्नो आधार क्षेत्र जोगाएरै छोडेको छ ।

दुई चरणमा सम्पन्न रुकुमको स्थानीय तहको निबार्चनमा माओबादी केन्द्रले नै बिजय हासिल गरेको छ । पहिलो चरणमा ३ नगरपालिका र ३ गाँउपालिका गरी ६ स्थानीय तह र दोस्रोचरणमा ३ गाँउपालिका गरी जम्मा ९ स्थानीय तहमा माओबादीले बिजय हासिल गरेको छ । यद्धपी पुर्वी रुकुममा कुनै बेला गाँउ पस्न धौ धौ हुने कांग्रेस एमालेले पनि मत राम्रै ल्याएका छन् । नेकपा एमालेले पुर्वी रुकुममा दोस्रो स्थान हासिल गर्न सफल भएको छ । पुर्वी रुकुमका ३ वटै गाँउपालिकामा माओबादी केन्द्रले बिजयी हासिल गरेको छ । सिस्ने गाँउपालिकामा नेकपा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार कुमारी बरालले ३२९६ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका नन्दलाल शर्माले २४७१ मत प्राप्त गर्नुभएको छ ।

 

यस्तै उपाध्यक्षमा पनि माओबादी केन्द्रकै गोर्वद्धन बुढाले ३२२६ मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका लक्षिराम घर्तीले २१६७ मत प्राप्त गर्नुभएको छ । ८ वटा वडा रहेको सिस्ने गाँउपालिकामा २ वटामा नेकपा एमालेले बिजय प्राप्त गरेको छ भने बाँकी ६ वटा वडामा माओबादी केन्द्र बिजय भएको छ । वडा नं ६ मा नेकपा एमालेका पुर्णजंग मल्ललाई १ मतले पछि पार्दै माओबादी केन्द्रका सुधन रेग्मी बिजयी भएका छन् ।

भुमे गाँउपालिकामा माओबादी केन्द्रका अध्यक्षका उम्मेदवार रामसुर बुढाले ३४८२ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गञ्जसिंह बुढाले १६३४ मत प्राप्त गर्नुभएको छ । यसै गरी उपाध्यक्षमा पनि माओबादी केन्द्रकै मनकुमारी बिष्टले ३४९२ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका कमला बुढाले १३४६ मत प्राप्त गर्नभएको छ । ९ वटा वडा रहेको भुमे गाँउपालिकामा वडा नं ४ मा नेपाली कांग्रेसको प्यानल बिजयी भएको छ भने अरु ८ वडामा माओबादी केन्द्रकै प्यानल बिजयी भएको छ ।

 

यसै गरी पुथाउत्तरगंगा गाँउपालिकामा पनि माओबादी केन्द्र बिजयी भएको छ । अध्यक्षका उम्मेदवार ओमप्रसाद घर्तीले २५५१ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भिउमान घर्तीले १२६३ मत ल्याउनुभएको छ । उपाध्यक्षमा पनि माओबादी केन्द्रकै ओमकुमारी शाही मल्लले २६३१ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका सिता घतानेले १४८१ मत प्राप्त गर्नुभएको छ ।

१४ वटा वडा रहेको सो गाँउपालिकामा वडा नं ७ र ९ मा नेपाली कांग्रेसको प्यानल र वडा नं १० र १४ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ भने अन्य वडामा माओबादी केन्द्र बिजयी भएको छ । पुर्वी रुकुमका ३१ वडा मध्य ४ वडामा एमाले,३ वडामा कांग्रेस २४ वडामा माओबादी केन्द्रले बिजयी हासिल गरेका छन् । पहिलो चरणमा निर्वाचन भएका ६ स्थानीय तहका ७३ वडामध्ये ५८ वडा माओवादी केन्द्रले जितेको छ भने १३ नेपाली कांग्रेसले र २ वडा नेकपा एमालेले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्