इलाममा पूर्वसभामुख नेम्वाङद्वारा मतदान



इलाम, १४ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका नेता कुलबहादुर गुरुङले आज यहाँ स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ ।

इलाम नगरपालिका–७ को बालमन्दिरमा रहेको मतदान केन्द्रमा उहाँहरूले मतदान गर्नुभएको हो ।

एमाले नेता नेम्वाङले बालमन्दिरको ‘ख’ मतदान केन्द्रमा मतदान सुरु भएको केही समयपछि मतदान गर्नुभएको हो । नेम्वाङले करिब साढे सात बजेतिर मतदान गर्नुभयो । काँग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले बालमन्दिरकै ‘क’ केन्द्रमा मतदान गर्नुभएको हो ।

नेम्वाङ बाहिरिए लगत्तै गुरुङ मतदान गर्न जानुभएको थियो । पूर्वप्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सूर्योदय नगरपालिका–९ को राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गर्ने जनाइएको छ ।

इलामको सबै मतदान केन्द्रमा निर्वाचन सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताउनुभयो । मतदान सुरु भएलगत्तै इलाममा पानी पर्न थालेको छ । मतदाता छाता ओढेर मतदानका लागि लाइन बसेका छन् ।

संविधानको ठोस कार्यान्वयनमा नेम्वाङको जोड

पूर्वसभामुख नेम्वाङले संविधानको ठोस कार्यान्वयन सुरु भएको बताउनुभएको छ । मतदानपछि पत्रकारलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेम्वाङले भन्नुभयो, “संविधान कार्यान्वयनको सिलसिलामा ऐतिहासिक कार्य सम्पन्न भयो भन्ने मलाई महसुस भएको छ ।” स्थानीय तहको निर्वाचनले जनतालाई सबल बनाएको नेम्वाङको भनाइ छ ।

“तराई मधेसदेखि हिमाल पहाडसम्मका जनता इतिहासमा नै यति धेरै अधिकार सम्पन्न भएका छन्”, उहाँले भन्नुभयो, “गाउँघरको विकास गर्ने अधिकार हाम्रो आफ्नो हातमा आएको छ, यो साँच्चिकै ऐतिहासिक कार्य भएको छ ।”

नेम्वाङले लगत्तै तीनै तहको निर्वाचन गर्नका लागि सरकारले तयारी नगरेको आरोप लगाउनुभयो । प्रदेश र सङ्घको निर्वाचनका लागि आवश्यक कानुन निर्माण, निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउने कामहरू नगरेकाले माघ ७ गते भित्रमा तीन नै तहको निर्वाचन सम्पन्न हुनेमा प्रश्न उठेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्