शुरू भयो बाढी–पहिरो, पोखराको दुई ठाउँमा जमिन भासियो



 

धन बस्नेत, पोखरा
लगातारको वर्षाले पोखराको विभिन्न ठाउँमा भौतिक क्षति भएको छ। सोमबार साँझदेखि शुरू भएको झरी मंगलबार बिहानसम्म परेको थियो।

झरीले सोमबार मध्यरातमा गएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका–२४ वनपालेका डिल्लीराम सुवेदीको घर पुरिएको छ। घरको पछिल्लो भागबाट पहिरो घरभित्र पस्दा घरधनी डिल्लीराम सुवेदी घाइते भएका छन्। उनको श्रीमती खरिका, छोरा दीपक, बुहारी लक्ष्मी र नातिनी युनिशा भागेर ज्यान जोगाए।

घरभित्र रहेको खाद्यान्न, लत्ताकपडा एवं भाडावर्तन पुरिएर नष्ट भएको छ। त्यसै गरी वर्षाका कारण पोखरा–बागलुङ सडकखण्डको पोखरा २५ सुइखेतमा गएको पहिरो गई बन्द भएको बाटो राति नै डोजरको सहयोगले खुलाई सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिकाको नयाँपुलमा पहिरोले सडक भत्काउँदा एकतर्फी मात्रै सडक सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।

लगातारको झरीले पोखरा लेखनाथ महानगरपालिका १६ बाटुलेचौ वडा कार्यालय नजिकै र पोखरा ३ नदीपुरमा जमिन भासिएको छ। यसले पोखराको भौगोलिक अवस्था निकै कमजोर भएको देखिएको छ। विगत २ वर्षअघि अर्मला आसपासका क्षेत्रमा पनि जमिन भासिँदै गएपछि बस्ती नै जोखिममा परेको थियो।

जमिन भासिएपछि बिजुलीको पोलसमेत ढल्किएको छ। ट्रास्फरमर राखिएका दुई पोलमध्ये एक ढल्ने अवस्थापमा छ भने अर्को ढल्किएको छ। पोल ढल्किँदा ट्रान्समिटरमा समेत क्षति पुगेको छ। क्षतिले बाटुलेचौरमा विद्युत् आपूर्ति बन्द भएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीवन आचार्यले भासिएको जमिन पुर्नुपर्ने अवस्था रहेको बताए। उनले त्यसका लागि महानगरपालिकामा पहल भएको र विद्युत् बनाउन पनि विद्युत् कार्यालयलाई जानकारी दिइसकेको बताए। उनले पोखराको खानेपानीको पाइप पनि भ्वाङ परेकै ठाउँमा भएका कारण पोल गाड्न अप्ठेरो भएको जिकिर गरे।

त्यसै गरी गए राति भलपानीको कारणले गर्दा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदीपुरमा नरबहादुर नेपालीको घरअगाडिको भागमा भ्वाङ परेको छ। गए राति आएको अविरल वर्षासँगै भलपानीले उनको अगाडिपट्टीको भागमा जमिनमा भ्वाङ परेसँगै पिँढीको केही भागसमेत चर्किएको छ। त्यसै गरी पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३३ मा बाढीले एउटा टइक्टर बगाएको छ। सेती नदीबाट बालुवा बोक्न प्रयोग गरिँदै आएको नारायण तिवारीको ग१त २०८८ नम्बरको टइक्टर बगाएको हो।

 

प्रतिक्रिया दिनुहोस्