काभ्रेमा विकासको गति सुस्त



 

नेपाल समाचारपत्र
काभ्रे
प्रदेश ३ को राजधानी बन्ने चर्चा पाएको र बनाउन लविङ शुरू गरिएको काभ्रेपलाञ्चोक जिल्ला सम्भावना भएर पनि बत्तीमुनिको अँध्यारो जस्तै भएको उद्योगी व्यवसायीहरूले बताएका छन्।

‘सम्भावना नै सम्भावना भएको जिल्लामा उद्योग व्यवसायहरू सञ्चालन हुनसकेका छैनन्’ –नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले बताए। काभ्रे उद्योग वाणिज्य सघंले जिल्लाका १३ वटा स्थानीय तहका प्रमुख⁄उपप्रमुख, अध्यक्ष उपाध्यक्ष, बनेपा नगरपालिकाका १४ वटाका वडा अध्यक्षहरू, नेपाल पत्रकार महासंघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य संघबाट निर्वाचित व्यक्तिहरूलाई बधाई तथा शुभकामनाका साथ सम्मान गरेको छ।
जिल्ला अध्यक्ष एवं भर्खरै केन्द्रीय सदस्यमा निर्वाचित सुरकृष्ण वैद्यले उद्योगी व्यवसायीहरूलाई राज्यले हेर्ने दृष्टिकोण फरक बनाउनुपर्ने बताएका थिए।

काभ्रेपलाञ्चोक जिल्ला अथाहा सम्भावना बोकेको जिल्ला भएकाले सरकारका हरेक कार्यक्रमहरूमा सहभागिता भए पनि चासो कम दिएको बताए। कार्यक्रममा केन्द्रीय अध्यक्ष भवानी राणाले सरकारसँग हातेमालो गर्दै उद्योगी व्यवसायी मुलुकको आर्थिक सम्वृद्धताका लागि अगाडि बढ्ने बताइन्। एक खम्बे अर्थनीति उद्योगी व्यवसायी भएकाले व्यवसायीको सहयोगमा राज्यले आर्थिक सम्वृद्धता हासिल गर्ने भएकाले व्यवसायीमुखी कार्यक्रम ल्याउन सरकार र जनप्रतिनिधिलाई उनले सुझाव दिइन्।

कार्यक्रममा केन्द्रीय कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले राजधानीबाट नजिक भएर पनि पछि परेको काभ्रेपलाञ्चोक जिल्लाका थुप्रै सम्भावना भए पनि सरकारसँग लविङ हुन नसकेको बताए। ६ लेनको सडक धुलिखेलसम्म निर्माण गर्न ढिलाई भइरहेको भन्दै त्यसको पहल गर्न, डोमेस्टिक एयरपोर्ट तत्काल निर्माणकार्य अगाडि बढाउन र उद्योगहरू सञ्चालनका लागि खाका र गुरूयोजना बनाउन सुझाव दिए। प्रदेश नम्बर–३ का अध्यक्ष दिनेश श्रेष्ठले सरकारले व्यवसायीलाई दोहोरो कर लिएर मारमा पारिरहेको बताउँदै फोहोरमैला व्यवस्थापन जस्ता कार्यक्रममा उद्योगी व्यवसायीलाई सहयोगी बनाउन सुझाव दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले जिल्लामा एकीकृत विकासका योजनाहरू र उद्योगधन्दा सञ्चालनमा विशेष ध्यान दिन सुझाव दिँदै प्रदेश नम्बर ३ को राजधानी काभ्रेपलाञ्चोकमै बनाउन पहल गर्न आग्रह गरे।

बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बनेपालाई ऐतिहासिक नगर बनाउन भ्रष्टाचारमुक्त नगर र विकासबाट सम्वृद्ध नगर बनाउन सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए। काभ्रे उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष दियेशरत्न शाक्य, उपाध्यक्ष प्रकाश मानन्धर, भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ, महासचिव प्रताप वैद्यलगायतले काभ्रेपलाञ्चोक जिल्लामा भएको सम्भावना र जनप्रतिनिधिहरूले खेल्नुपर्ने भूमिकाका बारेमा मन्तव्य राखेका थिए।

 

प्रतिक्रिया दिनुहोस्