भर्खर रोपाइँ शुरू



 

नेपाल समाचारपत्र
कुन्तावेंशी
यसवर्ष अलि ढिलो गरी मनसुन शुरू भयो। यसको प्रत्यक्ष असर किसानलाई परेको छ। अधिकांश सिँचाइ सुविधा नपुगेका जिल्लाहरूमा आकाशेपानीकै भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ। काभ्रे जिल्लामा पनि यस वर्ष भर्खरै मात्र रोपाईं शुरू भएको छ।

आधा असार सकिँदासम्म जिल्लामा २० प्रतिशत जति खेतमा मात्र रोपाइँ भएको छ। विगत वर्षहरूमा यस समयसम्ममा ४० प्रतिशत जमिनमा धान रोपाईं भइसक्थ्यो। ढिलो वर्षा भएकाले यसवर्ष विगतको जस्तो हुन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। सिँचाइ सुविधा पुगेका खेतहरूमा भने समयमै रोपाइँ सकिने कार्यालयको अनुमान छ।

गतवर्ष धान रोपाइँ सकेर धान दिवस मनाएको सम्झना गर्ने जिल्लाका अधिकांश कृषक अहिले धान दिवस आइसक्दा पनि खेतबारीमै व्यस्त छन्। यस वर्ष उनीहरूलाई रासायनिक मलको अभाव पनि उस्तै परेको छ। कतिपय खेतमा चैतमा रोपेको धान काट्ने सिजन हुन लागेकाले त्यो धान भित्त्याइसकेपछि मात्र रोपाइँ गरिन्छ। केही ठाउँमा मकै रोपिएको छ। त्यसैले पनि असारको रोपाइँ केही समय ढिला हुने भएकै बेला पानी नपरेपछि सम्भव भएका जमिनमा समेत यतिबेला रोपाइँ भएको छैन। विशेष गरी मण्डनक्षेत्रका कुन्तावेंशी, चाखोला, ज्वानेटार, जोगिटार, सिपाघाटलगायतका धान उत्पादनका पकड क्षेत्रमा भर्खरै मात्र रोपाईं शुरू भएको स्थानीय कृषक कृष्णप्रसाद नेपालले जानकारी गराउनुभयो। उहाँका अनुसार असारको दोस्रो साता सकिँदासम्म धेरैजसो ठाउँमा रोपाइँ नै शुरू भएको छैन।

समयमा रोपाइँ गर्न नपाएपछि यस वर्ष धान उत्पादन घट्ने हो कि भन्नेमा किसानहरू चिन्तित छन्। गएको वर्ष मौसम अनुकूल भएका कारण देशमै धान उत्पादनमा उल्लेख्य वृद्धि भएको थियो। तर यस वर्ष देशभरिकै मौसम गत वर्षको जस्तो छैन। त्यसैले धान उत्पादन केही घट्न सक्ने कृषि अनुसन्धान परिषद्का इञ्जिनियर गौरीलाल श्रेष्ठले बताउनुभयो। ‘तैपनि अहिले नै यसै भन्न सकिने अवस्था भने अलि छैन’, उहाँ भन्नुहुन्छ– ‘असारको अन्त्यसम्ममा रोपाइँ गर्न सकियो भने पनि उत्पादनमा खासै कमी आउँदैन।’ त्यसैले अहिले नै किसानहरूलाई नआत्तिन उहाँको अनुरोध छ।

प्रतिक्रिया दिनुहोस्