झापामा तयारी पूरा



 

उत्तम नेपाल, भद्रपुर
झापामा स्थानीय तह निर्वाचनको तयारी पूरा भएको छ। शान्ति सुरक्षासहित निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको र मतपेटिकासहित निर्वाचन सामग्री लिएर मतदान अधिकृतलगायत सबै कर्मचारी मतदान केन्द्र पुगिसकेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले बताउनुभयो। ११ असारदेखि सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरणकार्य शुरु गरिएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले बताउनुभयो। १३ गतेसम्म मतदाता परिचयपत्र वितरण हुनेछ। अहिले धमाधम मतदानका लागि घेरावारा भइरहेको छ। पाण्डेका अनुसार मतदाताले बिहान ७ देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नेछन्।

मतदाताले स्थानीय तह सरकार निर्माणका लागि नगरपालिकामा नगर प्रमुख र उपप्रमुख, वडाध्यक्ष प्रत्येक वडामा ४ जना सदस्य तथा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष प्रत्येक वडामा ४ जना सदस्य चुन्न सक्ने निर्वाचन कार्यालय झापाका प्रमुख आचार्यले बताउनुभयो। जिल्लामा कुल २ सय ८३ वटा मतदान स्थल, ६ सय ३७ मतदान केन्द्र रहेका छन्।

झापामा दोस्रो चरणको निर्वाचनमा ७ सय २३ पदका लागि ३ हजार ३ सय ४० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन कार्यालय झापामा कुल ३१ वटा पार्टी दर्ता भए पनि १७ वटा दलले मात्र आधिकारिक चुनाव चिह्न पाएका छन्। बाँकीले स्वतन्त्ररूपमा चुनाव लडेका छन्। पहिलो चरणको निर्वाचनमा १३ हजार ५ सय ५६ पदका लागि ४९ हजार ३ सय ३७ उम्मेदवार प्रतिस्पर्धामा थिए। पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका थिए। ८ नगरपालिका र ७ वटा गाउँपालिका गरी कुल १५ वटा स्थानीय तह रहेको झापामा ५ लाख १० हजार २ सय १६ जना मतदाता रहेका छन्। निर्वाचन कार्यालयले जिल्लाका प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको र खोजेको जनप्रतिनिधिलाई मतदान गर्न भनेको छ। कार्यालयले प्रत्येक राजनीतिक दल, तिनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन आचार संहिता पालना गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाले बुधबार हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ। निर्वाचनमा सुरक्षाको भरपर्दाे व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शैलेश थापा क्षत्रीले बताउनुभयो। सुरक्षाकर्मीसहित जिल्लामा ८ हजार ८ सय २७ जना जनशक्ति परिचालन गरिएको छ। प्रहरी उपरीक्षक क्षत्रीका अनुसार झापाका सबै मतदानस्थलमा १ हजार ९ सय नेपाल प्रहरी, २ हजार १ सय म्यादी प्रहरी परिचालन गरिएको छ। यसबाहेक सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान, तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ। झापामा स्थानीय तह निर्वाचनमा शान्ति सुरक्षाको व्यवस्था मजबुत भएको भन्दै प्रहरी उपरीक्षक क्षत्रीले प्रत्येक मतदातालाई आफ्नो अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी आफूले चाहेको जनप्रतिनिधिलाई गोप्यरूपमा मतदान गर्न आग्रह गर्नुभएको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा कार्यालय झापाले १ हजार बढी प्रहरी परिचालनको गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द नेम्वाङले बताउनुभयो।

पोकोमा मतपत्रः पहिलो चरणको निर्वाचनमा विवादमा आएको भरतपुर नगरपालिकाको च्यातिएको मतपत्र मंगलबार राजधानी पठाइँदै। सर्वोच्च अदालतले सो मतपत्र झिकाएको हो।

प्रतिक्रिया दिनुहोस्