सचिवलाई ठीक ठाउँमा राख्न निर्वाचन आयोगको आग्रह



 

काठमाडौं, (नेस)
निर्वाचन आयोगले आयोगका पूर्वसचिव गोपीनाथ मैनालीलाई व्यावसायिक तथा नैतिक अनुशासनभित्र राख्ने वातावरण सिर्जना गर्न सरकार समक्ष आग्रह गरेको छ।

सचिव मैनालीले निजामती प्रशासनको मर्यादाविपरीत, भ्रामक र आधारहीन प्रचारबाजी गरेको जनाउँदै आयोगले सरकार समक्ष उक्त आग्रह गरेको हो।

गरिमामय संवैधानिक आयोग र आयोगका पदाधिकारीको मानमर्दन हुने गरी हुँदै नभएको लाञ्छना लगाई जनसमुदायमा भ्रम फैलाएर निर्वाचन आयोगको निष्पक्षता, स्वतन्त्रता र गरिमामा सचिव मैनालीले आघात पुर्याएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सचिव सरुवाको विषयलाई लिएर आमसञ्चारका माध्यम तथा सामाजिक सञ्जालमा अनर्गल भ्रामक र तथ्यहीन समाचार प्रकाशन भएकामा आयोगको ध्यानाकर्षण भएको जनाएको छ। १ करोड ४० लाखभन्दा बढी मतदाता नामावली छपाई, मतदाता परिचयपत्रको व्यवस्थापन, मतदाता शिक्षालगायत कार्यक्रमलाई समयमै व्यवस्थापन गरी पहिलो चरणको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरिएको कुराको स्मरण पनि आयोगले गरेको छ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गर्न आयोगका सम्पूर्ण कर्मचारी अहोरात्र कठोर मेहनत, कुशलता र निष्ठापूर्वक खटिएको र असहज वातावरणमा पनि पहिलो चरणको निर्वाचनको जिम्मेवारी पूरा भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आयोगले बुधबार हुने निर्वाचनमा निर्धक्क भई मतदान गर्न मतदातालाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्